चरिमायाको गाउँमा अचेल चियाउँदैनन् ‘ठूलो गाउँका’ दलाल (भिडियोसहित)

0 7

१० असार, हैबुङ (सिन्धुपाल्चोक) । एसएलसी परीक्षा दिएर बसेकी सुनिता थोकरलाई शहर जाने ठूलो रहर थियो । एकजनाले फोनबाट राम्रो जागिरको अफर पनि गरेका हुन् । तर अहँ उनलाई आमाले ढिम्किनै दिइनन् ।

 

हैबुङ ६ की सुनिताले आफैं पनि हच्किइन् । किनकी त्यहिँ गाउँकी चरिमाया तामाङको कथा सुनेकी उनले चरिमयााकै मुखबाट कसरी बेचिइन्छन् चेली भन्ने सुनेकी पनि थिइन् ।

‘घर भत्केर गोठमा बस्या छौं,खोलो फाँडो खान्छौं तर हुर्केकी छोरी शहर पठाइन्न’ अनलाइनखबरकर्मीसँग एकै स्वरमा सुनिताका आमाले भनिन् ।

केही वर्षअघिसम्म पनि सिन्धुपाल्चोकको हैबुङ भन्ने बित्तिकै चेलिबेटी बेचबिखनमा कुख्याती कमाएको गाउँका रुपमा चर्चित थियो । त्यहाँ छोरी चेली हुर्किए भने ‘ठूलो गाउँ’ को टिकट काट्ने परम्परा नै थियो । सुनिताको उमेरका केटी त गाउँमा टिक्नै सम्भव थिएन ।

हैबुङ सानो गाउँ थियो, हैबुङको ठूलो गाउँ चाहिँ तत्कालीन बम्बई र हालको मुम्बई । हैबुङबाटमात्रै चालीसदेखि पचासको दशकका बीचमा डेढ सय भन्दा बढी संख्यामा चेलीहरु ठूलो गाउँका कोठीमा बेचिएका थिए ।

भिडियो हेर्नुहोस्

तिनै मध्येकी एक चरिमाया तामाङले चेली बेच्ने भनेर कुख्याती कमाएको हैबुङमा फर्किएर दलाल विरुद्ध अभियान चलाएपछि अचेल सितिमिति दलालहरुले पाइला टेक्न पनि सक्दैनन् यो गाउँमा । चरिमायाले बेचबिखन विरुद्ध आक्रामक अभियान चलाएको परिणाम हो यो ।

चरिमाया भन्दा अघि र पछि बेचिएका धेरै चेली गुमनाम पीडा सहेर बसे वा मृत्युवरण गरे तर चरिमायाको हिम्मतले गर्दा नयाँ पुस्ताका चेलीहरुलाई दलाले गिद्दे नजर लाउने हिम्मत गर्दैनन् अहिले ।

‘चरिमायाले खुलेआम गतिबिधि गरिन्, उनको डरले पनि अचेल हाम्रा छोरी चेलीलाई दलालले नजर लाउन डराउँछन्’ हैबुङ महिला समूहकी अध्यक्ष कुमारी गुरुङले भनिन् ‘चरिमाया भन्दा पहिले कति बेचिए तर उनीहरु गाउँमा फर्किनै सकेनन्’ ।

भूकम्पले घर भत्काएका र गोठको बास भएका धेरै गाउँमा दलालहरु बिभिन्न आवरणमा पुगेर किशोरीहरुलाई जागिर र पढाइएको प्रलोभनमा शहर ल्याएका घटना बाहिर आइरहेका छन् ।

Sunits-mother

भूकम्पपछि सिन्धुपाल्चोकका मात्रै १५ भन्दा बढि किशोरी बेचबिखनमा परिसकेका छन् ।

दलालहरु अरु गाउँमा सक्रिय भए पनि हैबुङमा पाइला राख्न अचेल हच्किन्छन् । ‘हाम्रो गाउँमा कोही नयाँ मान्छे आयो भने उसको सबै नालीबेली नलिई छिर्न पनि दिदैनौं’ कुमारी भन्छिन् । हुर्केकी छोरी चेलीलाई विश्वासिलो मान्छे नभई बाहिर पठाउन समेत छाडिएको छ ।

हैबुङमा पहिले अभिभावकले नै छोरीचेलीलाई पैसा कमाउने लोभमा ठूलो गाउँ पठाउथे । तर चरिमायाहरुको अभियानले उनीहरुमा यति ठूलो परिवर्तन ल्याएको छ कि-अहिले अभिभावक नै ठूलो गाउँ जान खोज्ने चेलीहरुलाई सम्झाउँछन् ।

हैबुङ अब बिस्तारै आफ्नो निधारमा लागेको चेली बेच्ने गाउँको दाग मेटाउन अग्रसर हुँदैछ । गाउँमा बेचबिखन विरुद्धका अभियान र चेतनामूलक कार्यक्रमहरु हुने गरेका छन् । घर घरमा छोरी चेलीलाई दलालबाट जोगिने उपाय सिकाउँदैछ ।

यी सबै कुरा चरिमायाका कारण सम्भव भएको वडा नम्बर ४ की सन्ध्या तामाङले बताइन् । ‘चरिमाया दिदीले बेचिएर नरकको दुःख पाउनुभयो, तर हामी जस्ता नयाँ पुस्तालाई जोगाउन पनि उहाँको गाउँ फिर्तिले धेरै सघायो’ सन्ध्याले भनिन् ।

के भन्छिन् चरिमाया ?

charimaya-with-Madhu-gurungहैबुङमा चरिमायाको चर्चा हुँदा उनी चाहिँ बेचबिखनको जोखिमबारे शिक्षा दिँदै नुवाकोटतिर थिइन् । अनलाइखबरसँगको सम्पर्कमा उनले भनिन्-मैले त आफूले भोगेको दुःख अरु चेलीले भोग्नु नपरोस भनेर हिम्मत गरेकी मात्र हुँ, हैबुङका बुबा आमा अहिले आफैं सचेत हुनुभएकाले दलालहरु हच्किएका हुन् ।

चरिमायालाई सम्झना छ, उनी सानै हुँदा गाउँकी फूपूलाई भतिजाको बात लगाइयो अनि दलाल बोलाएर ठूलो गाउँ पठाइयो । एकै घरका नन्द बुहारी हराएपछि चरिमायाका दाइले कुरो उठाउँदा उनले कुटाइ खानु परेको थियो ।

२०५० साल चैतमा चरिमाया आफैं बेचबिखनमा परिन् । २०५३ सालमा उनी ठूलो गाउँको नारकीय जीवनबाट भागेर नेपाल आएपछि गाउँका केही कथित अगुवाको अस्वीकारका बाबजुद उनले शक्ति समूह मार्फत निरन्तर हैबुङमा बेचबिखन विरुद्धको अभियान चलाइरहेकी छन् ।

हैबुङ यस्तो गाउँ थियो, जहाँ चेली बेच्ने दलालहरु घरलौरी जस्तै थिए । अचेल हैबुङमा बेचबिखनको जोखिम निकै कम भएको महशुस प्रहरीले पनि गरेको छ ।

ठूलो गाउँमा कोठी चलाउने कोठीवाल्नी पनि हैबुङकै थिए, कतिपयले अहिले पनि कोठी चलाइरहेका छन् । अनि बेचिने पनि हैबुङकै थिए । यो कलंकलाई पखाल्न हैबुङबासी बिस्तारै आफैं अघि बढ्दैछन् ।

– Source:Onlinekhabar