बदामको विवादले जहाजको आकस्मिक अवतरण, साढे ५ करोड नोक्सानी

0 5

२ सय ८२ जना यात्रु बोकोको विमान मध्य आकाशमा उडिरहेको बेला बदामको विषयमा विवाद मच्चियो । विवाद यति उग्र भयो की पाइलटले गन्तव्यमा नपूराइ विमानलाई डाइभर्सन गरेर आकस्मिक अवतरण गराउनुपर्यो ।

इटालीको रोमबाट अमेरिकाको शिकागोका लागि उडेको यात्रुबाहक विमानका एक अमेरिकी यात्रुले जहाजभित्र बदामको विषयलाई लिएर विवाद निकालेका थिए । विवाद बढेपछि पाइलटेले जहाजलाई डाइभर्ट गरेर आयरल्याण्डको बेलफास्ट एयरपोर्टमा आकस्मिक अवतरण गराएका थिए । यसरी विमान डाइभर्ट गर्दा विमानसेवालाई साढे ५ करोड रुपैयाँजतिको नोक्सानी पुगेको बताइएको छ ।

अमेरिकाको क्यालिफोर्नियाका ४२ वर्षीय जेरेमिया म्याथिस थेड नामक ती हुल्याहाले जहाजमा परिचारिका तथा यात्रुलाई खानपिन गराउने कर्मचारीहरुसँग आफुलाई बदाम कम भएको र अझै धेरै बदाम दिनुपर्ने भन्दै झगडा गरेका थिए ।

सबै यात्रुहरुलाई स्न्याक्स वितरण गर्ने क्रममा ती हुल्याहा जहाजभित्र दौडिएर अपशव्द समेत बोल्दै खानेकुराहरु समेत खोस्न थालेका थिए । उनले पाइलट र जहाजका अन्य कर्मचारीहरुलाई समेत धम्की दिन थालेपछि सो कुराको जानकारी क्याप्टेनलाई गराइयो अनि क्याप्टेनले जहाजलाई डाइभर्ट गरेर आयरल्याण्डमा आकस्मिक अवतरण गराए ।

सो क्रममा ५० हजार लिटर इन्धन बढि खर्च भएको र डाइभर्सनको कुल खर्च करीब साढे ३ लाख पाउण्ड रहेको बताइएको छ ।

विमानभित्र बदामको विषयलाई लिएर हुलदंगा गर्ने ती अमेरिकीलाई पक्राउ गरी मुद्दा चलाइएको छ । उनी विरुद्ध विमानको सुरक्षालाई खतरामा पारेको, विमान कर्मचारीमाथि अभद्र व्यवहार गरेको तथा विमानकी चालक दलकी महिला सदस्यमाथि आक्रमण गरेको लगायतका अभियोग लगाइएको छ ।