कोपा अमेरिकामा चिलीसँग उरुग्वे पराजित

0 4
काठमाडौं : कोपा अमेरिका फुटबल प्रतियोगिताको पहिलो क्वाटर फाइनल भिडन्तमा आयोजक चिलीले बाजी मार्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार बिहान भएको खेलमा आयोजक चिलीले दोस्रो हाफमा ९ जनामा सीमित डिफेन्डिङ च्याम्पियन उरुग्वेलार्इ १-० ले पराजित गर्दै घरको बाटो देखाएको हो ।
उरुग्वेका दुर्इ खेलाडीले रातो कार्ड पाएको खेलमा चिलीलार्इ जिताउन माउरिसियो इस्लाले निर्णायक गोल गर्दै घरेलु टिमलार्इ कोपा अमेरिकाको सेमिफाइनलमा पुर्याए ।
प्रमुख स्टार्इकर लुइस स्वारेजले ब्राजिल विश्वकपमा इटालीका खेलाडीलार्इ टोकेर झेलिरहेको प्रतिबन्धको पींडा उरुग्वेले चिलीविरुद्धको खेलमा भोग्नुपर्यो ।
उरुग्वेले चिलीलार्इ नतिजामात्र सुम्पेन उसका अर्का स्ट्रार्इकर एडिन्सन काभानी र जोर्जे फ्युसिलेले रेडकार्ड पाउँदै मैदान छाड्नुपर्यो ।
पहिलो हाफ गोरहित रहेको खेलको दोस्रो हाफ तनावमय भएको थियो । रातो कार्ड पाउँदै खेलको ६३ औं मिनेटमा काभानीले मैदान छाडेपछि दबाबमा परेको उरुग्वेविरुद्ध ८१ औं मिनेटमा चिलीका इस्लाले भाल्डिभियाको पासमा निर्णायक गोल गरे ।
चिलीले अग्रता लिएको सात मिनेटपछि उरुग्वेका जोर्जे फ्युसिले चिलीका एलेक्सिस सान्जेचलार्इ खराब ट्याकल गरेपछि रेडकार्ड पाउँदै मैदान छाड्नुपर्यो ।
शुक्रबार बिहान हुने दोस्रो क्वाटर फाइनल भिडन्तमा बोलिभिया र पेरु भिड्नेछन् । शनिबार बिहान अर्जेन्टिना र कोलम्बिया सेमिफाइनलका लागि भिड्ने तालिका छ ।