पश्चिममा भीषण वर्षाको संकेत सतर्कता अपनाउन विशेषज्ञको सल्लाह

0 10

काठमाडौं, असार १० – जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार अपराह्नदेखि सूदूरपश्चिम हुँदै मध्यपश्चिमसम्म भीषण वर्षा हुने अनुमान गरेको छ ।

अरब सागरमा केही दिनअघि विकास भएको ‘न्युन चापीय क्षेत्र’ सँगै केन्द्रिकृत बनेको पानी पार्ने बादल उत्तरपूर्वी भाग हुँदै भारतको गुजरातसहित अन्य विभिन्न स्थान प्रवेश गरेपछि त्यसको असर नेपालको पश्चिमी भागमा पर्ने संकेत देखिएको हो ।

‘पानी पार्ने बादलको केन्द्रिकृत प्रणाली बिहीवार नेपालको दक्षिण पश्चिम भाग प्रवेश गर्ने संकेत छ’, महाशाखाका मौसमविद् सुवास रिमालले बुधवार कान्तिपुरसित भने, ‘त्यसैले बिहीबारदेखि केही दिन सूदूरपश्चिका जिल्लामा भीषण वर्षाको अनुमान छ ।’

उक्त प्रणालीले मध्य भागसम्मै असर गर्न सक्ने महाशाखाको अनुमान छ । महाशाखाले सूदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, दार्चुला, बैतडी, बझाङ, डोटी हुँदै सुर्खेत, बर्दिया र बाँकेसम्मै भारी वर्षा हुने सक्ने अनुमान गरेको छ ।

मौसमविद् रिमालका अनुसार उक्त बादलको प्रणाली अहिले भारतको गुजरातमा केन्द्रिकृत भएको छ र त्यहाँ भीषण वर्षा भएको छ । ‘राजस्थान, उत्तरप्रदेश हुँदै प्रणाली सूदूरपश्चिम भित्रिएपछि भीषण वर्षा हुन सक्छ’ उनले भने, ‘मनसुनी वर्षा भन्दा भिन्न तरिकाको वर्षा हुन सक्छ ।’ भीषण वर्षाको संकेत देखिएकाले सतर्कता अपनाउन महाशाखाले गृह मन्त्रालयलगायत सम्वद्ध निकायको ध्यानाकर्षण गराइसकेको छ ।

पश्चिमी भागमा भीषण वर्षाको संकेतसंगै जल तथा मौसम विज्ञान विभागले बाढी आउन सक्ने भन्दै उक्त क्षेत्रको नदीको बहाब र पानीको मात्रा अनुगमन गर्न प्राविधिक परिचालन गरेको छ ।

विभागअन्तर्गतको बाढी पूर्वअनुमान महाशाखामा २४ सै घण्टा मुलुकभरका नदीको जलसतह मापन गर्न प्राविधिक खटाइएको छ । ‘महाकाली र कर्णालीलगायतका नदीमा पानीको सतह बढ्न गई क्षती निम्त्याउन सक्ने भएकाले हामी स्ट्याण्डबाई बसेका छौं’ महाशाखाका बाढी पूर्वानुमान विज्ञ विनोद पराजुलीले भने । ती नदीमा पानीको सतह मापन गर्न विभागले उपकरण जडान गरेको छ ।

ती उपकरणले नदीमा पानीको सतह बढ्ने बित्तिकै बाढी महाशाखाको वेबसाइटमा साइरनसहितको संकेत दिन्छ । विज्ञ पराजुलीका अनुसार विभिन्न नदीहरुमा चेतावनी तह र खतरा तह गरी दुई संकेत दिने गरी पूर्व सूचना प्रणाली जडान गरिएको छ । ‘चेतावनी तहले सतर्क रहन सूचना दिन्छ भने खतरा तह नाघेमा सुरक्षित स्थान जान संकेत दिन्छ’ पराजुलीले भने । त्यस्तो सूचना सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, गाविस सचिव, रेडक्रस, समुदायका केही व्यक्ति र प्रहरीकहाँ पुग्ने गरी पूर्व सूचना प्रणाली जडान गरिएको छ ।

यता, जेठ ३० मा पूर्वबाट प्रवेश भएको मनसुन अझै कमजोर नै रहेको महाशाखाका अर्का मौसमविद् वरुण पौडेलले बताए । ‘अहिले पनि मनसुन कमजोर नै छ’, पौडेलले भने, ‘सक्रिय हुन नसकेकाले मनसुनी वर्षा हुन सकेको छैन ।’ पूर्वी भाग हुँदै मध्य भागसम्म आइपुगेको मनसुन सक्रिय हुन अझै केही समय लाग्ने महाशाखाको अनुमान छ । असार तेस्रो सातापछिमात्रै मनसुनी झरी पर्ने पौडेलले बताए ।