चीनले ७६ अर्ब दिने

0 9
काठमाडौं : छिमेकी चीनले नेपालको पुर्नस्थापना तथा पुनर्निर्माणका लागि आगामी दुई वर्षभित्र ७६ अर्ब ३६ करोड २० लाख रुपैयाँ (सात सय ५० मिलियन अमेरिकी डलर/४.७ बिलियन युआन) सहायता उपलब्ध गराउने भएको छ।
राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग अलगअलग भेटी बुधबारै चिनियाँ विदेशमन्त्रीले यसबारे जानकारी गराएका हुन्।
जापानले नेपालको पुनर्निर्माणका लागि २५ अर्ब ४५ करोड रुपैयाँ (दुई सय ५० मिलियन अमेरिकी डलर) सहयोग उपलब्ध गराउने प्रतिबद्धता सम्मेलनका क्रममा गर्ने भएको छ। छिमेकी भारतका तर्फबाट पनि चीनकै हाराहारीको सहयोग रकम घोषणा हुने सरकारी स्रोतले जानकारी दियो।
चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार हुने अन्तर्राष्ट्रिय पुनर्निर्माण सम्मेलनमा नेपालका लागि उक्त सहायता घोषणा गर्ने भएका हुन्।
चीनका तर्फबाट नेपाललाई दिइने यो नै हालसम्मको उच्च सहयोग हुनेछ। यसअघि राष्ट्रपति डा. यादवको चैतमा सम्पन्न चीन भ्रमणका क्रममा १४ अर्ब रुपैयाँको सहायता चीनले नेपाललाई दिने घोषणा गरेको थियो।
‘यसखालको सहयोग हामीले विदेशी मुलुकहरूलाई दिएको अत्यन्तै दुर्लभ छ। तर नेपाल विपत्मा रहेको अवस्थामा पुनर्निर्माणका लागि सहयोग उपलब्ध गराउन लागेका हौं’, चिनियाँ विदेशमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले अन्नपूर्णसँग भन्यो।
उक्त सहायता ऋण र अनुदान गरी मिश्रित खालको हुने चिनियाँ पक्षले जानकारी गराएको स्रोतले जनायो।
स्रोतका अनुसार चीनले उक्त सहयोग चिनियाँ मुख्य लगानी रहने एसियन इन्फ्रास्ट्रक्चर इन्भिस्टमेन्ट बैंकमार्फत गर्ने भएको छ।
उक्त बैंकमा नेपाल-भारतलगायत विश्वका ५७ देश संस्थापक सदस्य बनिसकेका छन्।
‘हामी नेपालसँगको सम्पर्क अझै बढाउन चाहन्छौं। विदेशमन्त्री वाङले भेटहरूमा भने ‘सिल्क रोड परियोजनाअन्तर्गत उक्त सहयोग रकम खर्च गर्ने हाम्रो चाहना छ।’
छिमेकी मुलुकहरू नेपाललगायत दक्षिण एसिया, युरोपलगायत मुलुकहरूसँग सम्पर्क बढाएर आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले चिनियाँ राष्ट्रपति सी जिनपिङले ४० अर्ब अमेरिकी डलरको सिल्क रोड परियोजना दुई वर्षअघि अघि सारेका थिए।
नेपालले गत मंसिरमा सिल्क रोड इकानोमिक बेल्टमा सहभागी हुने निर्णय गरिसकेको छ।
राष्ट्रपति डा.यादवले गत चैतमा सम्पन्न आफ्नो चीन भ्रमणमा समेत नेपाल सिल्क रोड इकोनोमिक बेल्डमा सक्रियतापूर्वक सहभागी हुने वचनबद्धता गरेका थिए।
गत कात्तिकमा अर्थमन्त्री डा. रामशरण महतको चीन भ्रमणमा नेपाल चिनियाँ मुख्य लगानी रहने एसियन इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सदस्य हुनेगरी सम्झौता भइसकेको छ।
परराष्ट्रमन्त्री पाण्डेसँगको भेटमा विदेशमन्त्री वाङ्ले नेपालको अहिलेको विपद्को घडीमा सक्दो सहयोग गर्न चीन तयार रहेको बताएको परराष्ट्र प्रवक्ता ताराप्रसाद पोख्रेलले बताए।