सर्वोच्चको फैसला सीमाभन्दा बाहिर : माधव नेपाल

0 7

काठमाडौँ : पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले दलहरुबीच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्नु भन्ने सर्वोच्च अदालतको फैसला अदालतको सीमाभन्दा बाहिरबाट आएको बताएका छन् ।

 

नेपाल बुद्धिजीवी परिषद्द्वारा काठमाडौंमा आयोजित कार्यक्रममा नेता नेपालले पछिल्लो समय अन्य निकायको अधिकारमा अतिक्रमण गर्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गरे । उनले भने, ‘राजनीतिक, सामाजिक जीवन सङ्घर्षमय भएजस्तै संविधानसभाको जीवन पनि सङ्घर्षमय बन्दै गएको छ, अगाडि बढ्न खोज्दा अहिले अवरोध आएको छ ।’

उनले संविधान निर्माण प्रक्रिया कानुनसम्मत ढङ्गले अगाडि बढिरहेको बताउँदै सर्वोच्चले त्यसमा हस्तक्षेप गर्न नपाउने स्पष्ट पारे । भने, ‘अन्तरिम संविधान र संविधानसभा नियमावलीमा नै कसको अधिकार के हो भन्ने प्रष्ट छ, सोही अधिकारअन्तर्गत नै १६ बुँदे सहमतिमार्फत संविधान निर्माणको कार्य अगाडि बढ्छ ।’

अर्को प्रसङ्गमा नेता नेपालले स्थानीय निकायको निर्वाचन हुन नसक्दा भूकम्पपछि राहत तथा पुनःस्थापनामा अप्ठ्यारो परेको बताए । आफूले भूकम्पअघि पटकपटक प्रधानमन्त्रीलाई स्थानीय निकायको निर्वाचन घोषणा गर्नुहोस् भनेर आग्रह गरेको जानकारी दिँदै निर्वाचन हुँदा सङ्घीयतामा कुनै समस्या नपर्ने जिकिर गरे ।

भूकम्पसम्बन्धी नयाँ पुस्तक

कार्यक्रममा नेता नेपालले परिषद्द्वारा प्रकाशित ‘नेपालमा भूकम्पीय जोखिम तथा दिगो विकास अवधारणा’ नामक पुस्तक लोकार्पण गरे ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटा, पूर्व गभर्नर डा युवराज खतिवडा, सहप्रध्यापक डा तारानिधि भट्टराई र डा विनोद श्रेष्ठले संयुक्त रुपमा सो पुस्तक लेखेका हुन् ।

विभिन्न क्षेत्रमा विज्ञ रहनुभएका चार जना लेखकले लेख्नुभएको पुस्तकमा विपद् व्यवस्थापन, भूकम्पपछिको पुनःनिर्माण, भूकम्प विज्ञान र भूकम्प प्रतिरोधी घर निर्माणको तरिकालगायतका विषयमा केन्द्रित रहेको छ ।

कार्यक्रममा एमालेका सचिव प्रदीप ज्ञवालीले पुस्तकले पुनःनिर्माण र नवनिर्माणको योजना कस्तो बनाउने भन्ने मार्गनिर्देशन दिनसक्ने धारणा राखे।