यार्साले फेर्‍यो विपन्‍नका दिन

0 9
चैनपुर : केही वर्षअगाडि छाक टार्न आलुको भारी बोकेर गाँउगाँउ डुलाउँथे बझाङ दौलीचौर गाविस-१ लोकन्डीघरका भिखारी बोहरा।

आलुसँग धान साटी दसैंतिहार, औंशीपूर्णिमा चलाउँथे। अघिपछि जौ, फापर, आलु खाएर गुजारा टार्ने उनलाई भात खान चाडपर्व पर्खनु पर्थ्‍यो ।

लेकतिर उत्पादन हुने आलु बेसीमा डुलाउँदै धान, गहुँ, मकै, कोदोसँग साटेर जम्मा गरेको खाद्यान्नले गुजरा गरेको विगत ६५ वर्षीय भिखारीले बिर्सेका छैनन्।
अहिले यार्सा बेचेर भएको आम्दानीले दिन फेरिएपछि उनी जिउँदै स्वर्ग पुगेको अनुभूति गर्दै छन्।
‘बझाङको चौगाउँ खोलामा बस्ने हामी त सबैभन्दा गरिब थियौ,’ अहिले सदरमुकाम चैनपुरको आफ्नै घरमा भेटिएका भिखारीले भने, ‘यति छिटो हाम्रो जीवनमा आर्थिक सुधार गराएको यार्सागुम्बाले नै हो।’
यार्सागुम्बा संकलन र यसकै खरिद बिक्री गरेर भिखारीले अहिले सदरमुकाम चैनपुरमा घरघरेडी जोडेका छन्। तराईमा महेन्द्रनगर र धनगढीमा पनि जग्गाजमिन जोडे। विपन्न भिखारी परिवारको जीवनशैली नै अहिले फरिएको छ।
‘पेटभरी खान थिएन। बस्नलाई घर थिएन। भारी बोकर कमाएको पैसाले क हिले खाई, कहिले भोकै बस्नुपर्थो,’ उनले भने, ‘तर आज सदरमुकाममा दश-बाह्र कोठाको पक्कीघरको मालिक भएर डेरावालाबाट पैसा उठाएर सुखले बसेको सम्झँदा हर्षका आँसु बग्छन्।’
आफ्ना भाइ भतिजा सबैको चैनपुरमा पक्की घर हुँदा सभ्यतामा समेत सुधार आएको उनले बताए। चार छोरा बुहारी नातिनातिना गरी नौजनाको उनको परिवार यार्साको मौसममा सधैं यार्सा टिप्न जान्छन्। यसपाली पनि उनको घरबाट सातजना यार्सा टिप्न गएका छन्।
‘यार्साले भिखारीको मात्रै दिन फेरिएको छैन’, त्यस क्षेत्रका समाजसेवी खडक बोहराले भने, ‘अहिले सुर्मा दौलीचौर गाविसका डेढ सयभन्दा बढी विपन्न परिवार लखपति भएका छन्। यसको एउटै कारण हो यार्सा।’
सिजनमा एक परिवारले एक लाखदेखि २० लाखसम्म आम्दानी गर्ने गरेको उनले जानकारी दिए।
जिल्लाको सबै भन्दाबढी यार्सा संकलन र खरिद बिक्रीमा संलग्न देखिएका सुर्मा र दौलीचौर गाविसका बासिन्दा कोही हिमालबाट यार्सा संकलन गरी बिक्री गर्छन्।
कोही अलि बढी पैसा लगानी गरी गाँउलेले संकलन गरेको यार्सा जिल्लाका ठेकदारलाई बिक्री गर्छन् भने कोही जिल्लाभरिका साना ठेकदारबाट खरिद गरी काठामाडौंका व्यापारीलाई बिक्री गर्न लैजान्छन्।
यार्साको आम्दानी सदुपयोग गरेर सदरमुकाम चैनपुरमा चौगाउँ टोलनाम राखेर बस्तीनै बनाएका छन्। गुणस्तरीय शिक्षाका लागि छोराछोरीलाई धनगढी, काठमाडौं, नेपालगन्जलगायतका सहरमा पढ्न पठाएका छन्।
यार्साबाट कमाएको रकमले कतिपयले गाडी किनेर जिल्लाकै हुनेखानेको दर्जामा आउन थालेका छन्। चौगाउँका साथै विकट काँडा गाविसका भोटेहरूले पनि यार्साको व्यापारबाट सदरमुकाम चैनपुरमा अग्ला महल बनाएरका छन्।
१०/१२ वर्षयता बहुमूल्य बुटी यार्सागुम्बाको खोजी र खरिद बिक्री हुँदा बझाङ जिल्लाका उत्तरीभेगका बासिन्दाका लागि आम्दानीको मुख्य स्रोत नै बनेको हो।

-Source: Annapurna Post