एआईपीएसबाट राहत कोषमा सहयोग

0 18
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा भएको रकमको पूर्ण सदुपयोग गर्ने बताएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्चको टोलीले खेलकुद पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था एआईपीएसबाट प्राप्त पाँच हजार अमेरिकी डलर मंगलबार बुझ्ने क्रममा प्रधानमन्त्री कोइरालाले यस्तो प्रतिबद्धता दोहोर्‍याएका हुन्।
‘राहत कोषमा जम्मा भएको रकम कसरी सदुपयोग हुन्छ । पूर्ण सदुपयोग हुन्छ कि हुन्न भने चासो राखिरहेका छन्’, मञ्चको टोलीलाई धन्यवाद दिँदै उनले भने।
‘तर, तपाईंहरू सबैलाई म आश्वस्त पार्न चाहन्छु, यो कोषको रकम पूर्ण सदुपयोग हुनेछ। म त्यसको ग्यारेन्टी लिन्छु’, उनले अगाडि थपे।
चामल, तेल, दाल कुहिएको आउन थालेको भन्ने सञ्चारमाध्यममा आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्री कोइरालाले त्यस्तलाई कारबाही गरिने बताए।
उनले सञ्चारकर्मीलाई त्यस्तो राहतको निगरानी गर्न पनि आग्रह गरे। प्रधानमन्त्री कोइरालाले एआईपीएसबाट प्राप्त पाँच हजार अमेरिकी डलरको चेक मञ्चका अध्यक्ष अजय फुयालबाट ग्रहण गरेका थिए।
मञ्च अध्यक्ष फुयालले एएआईपीएसबाट भूकम्पका कारण ज्यान गुमाएका खेलकुद पत्रकार सुमन भोम्जनको परिवार र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषलाई पाँच/पाँच हजार अमेरिकी डलर प्राप्त भएको जानकारी दिए।
मञ्चले शनिबार उक्त पाँच हजार डलरसहित संकलन भएको गरेर १२ लाख ५९ हजार तीन सय ९४ रुपैयाँ हेटौंडा गई भोम्जनको परिवारलाई हस्तान्तरण गरेको थियो।
प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गर्न अध्यक्ष फुयालको नेतृत्वमा, एआईपीएस एसियाका केन्द्रीय सदस्य एवम् मञ्चका निवर्तमान अध्यक्ष नीरञ्जन राजवंशी, नेपाल पत्रकार महासंघका सदस्यसमेत रहेका मञ्चका सचिव प्रकाश तिमल्सिना, उपाध्यक्ष देवेन्द्र सुवेदी, महासचिव महेश आचार्य, कोषाध्यक्ष प्रमोद पोखरेल, सदस्य प्रज्ज्वल ओली र अञ्जन खड्का प्रधानमन्त्री निवास बालुवाटार गएका थिए।