अति गर्मीले पाकिस्तानमा ८०० को मृत्यु

0 4

काठमाडौं : पाकिस्तानको दक्षिणी प्रान्त सिन्धमा अत्यधिक गर्मीका कारण ज्यान गुमाउनेहरुको संख्या ८ सय नाघेको अस्पतालका अधिकारीहरुले बताएका छन्। बीबीसी उर्दू सेवाका अनुसार कराचीमा मात्रै कम्ती ७ सय ८० जना मानिस मरेका छन्।

प्रान्तको अन्य क्षेत्रमा थप ३० जनाको ज्यान गएको सरकारी स्वामित्वको टेलिभिजन च्यानल पीटीभीले जनाएको छ। एधी परोपकारी संगठनले एएफपी समाचार सेवासंग कुरा गर्दै आफ्नो संस्थाले संचालन गरेको शवगृहमा सयौं शवहरु ल्याइएको र अब थप शव राख्‍ने ठाउं नभएको बताएको छ।

यो संकटसंग जुध्न पर्याप्त काम नगरेको भनी अधिकारीहरुको आलोचना भैरहेको छ। सिन्ध प्रान्तका अधिकारीहरुले मानिसहरु चर्को घामबाट जोगिएर घर भित्रै बस्न सकुन भनेर बुधबार सार्वजनिक विदा दिएका छन्।

मंगलबार तापक्रम ४५ डिग्री सेल्सीयस पुग्दा पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले आपतकालीन उपायहरु अपनाउन आह्वान गरेका थिए। अत्यधिक गर्मीका कारण बेहोस भएकाहरुको हेरविचार गर्न सेना परिचालन गरिएको थियो।

हाल समुद्रबाट आएको चीसो हावाले गर्दा तापक्रम ३४ डिग्रीमा झरेको छ। तर विजुलीको आपूर्ति कटौती गरिएका कारण आफूहरुले एअर कण्डीशनर र पंखाको प्रयोग गर्न नपाएको भन्दै स्थानीय बासिन्दा अधिकारीहरुप्रति आक्रोशित छन्।

कराचीका बासिन्दा मुजफ्फर खानले भने, “आज विहान सात बजे देखि नै विजुली आएको छैन र राती पनि तारन्तर बत्ती निभेको थियो। मुसलमानहरुको धार्मिक महिना रमजानको अवधिमा घाम छउञ्जेल कडा ब्रत बस्ने चलनले पनि ब्रतालुहरुले पानी नपिउंदा अवस्था झन कठीन बन्न पुगेको बताइएको छ।

null

केहि धर्मगुरुहरुले बक्तव्य निकालेर र टेलिभिजन मार्फत आह्वान गर्दै जो जो शारिरिक रुपमा कमजोर छन्, पाको उमेरका छन् वा ब्रत बस्न सक्ने अवस्थामा छैनन् तिनीहरुले कडा ब्रत बस्नु नपर्ने प्रावधान रहेको भनी बारम्बार स्मरण गराएका हाम्रा सम्बाददाताले बताएका छन्। अत्यधिक गर्मीका कारण ज्यान गुमाउनेहरुमा धेरै जसो बृद्धबृद्धा र न्यून आय भएको परिवारका मानिसहरु रहेका छन्।