बालुवाटार जानुपर्ने ओली अन्तै बरालिएपछि…

0 11

९ असार, काठमाडौं । एमाले अध्यक्ष केपी ओली भावी प्रधानमन्त्री हुन् । तर, उनको काम गराइ यस्तो छ कि आउँछु भनेका ठाउँमा समयमा पुग्दैनन् । गर्नुपर्ने काम एउटा हुन्छ, अर्कैतिर बरालिन्छन् ।

शीर्षनेता ओली बुधबार दिउँसो जतिबेला काठमाडौंको एउटा विद्यालयमा छत्रेटोपी लगाएर वालवालिकासँगै बेञ्चमा बसेर डटपेन समातिराखेका थिए, उनको सेड्युलचाँहि अर्कै थियो । बालुवाटारमा बुधबार नेताहरुवीच संविधानको मस्यौदाबारे छलफल भएको थियो, जहाँ केपी ओलीले जानुपर्ने थियो ।

बालुवाटारको छलफलमा एमालेका तर्फबाट ओली र उपाध्यक्ष भीम रावल सहभागी हुने कार्यक्रम थियो, तर ओली गएनन् । उनले संविधान निर्माणको कामलाई भन्दा सभासद रामेश्वर फुँयालको चुनाव क्षेत्रमा विद्यालय उदघाटन कार्यक्रमलाई प्राथमिकतामा दिए ।

बालुवाटार बैठकमा अध्यक्ष आउने कार्यक्रम भए पनि नआउनुभएको उपाध्यक्ष रावलले सहभागीलाई बताए । छलफलमा एमालेका तर्फबाट रावल एक्लै थिए ।

छलफलमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलासमेत सहभागी थिए भने एमाओवादीबाट नारायणकाजी श्रेष्ठलगायत थिए ।

बैंककबाट फर्केकै दिन मंगलबार भने केपी ओली बालुवाटार गएका थिए । विगतमा पनि संविधान निर्माणलगायतका विषयमा हुने छलफलमा ओली विरलै सहभागी हुने गरेका थिए । कतिपय बैठकमा त उनले अन्य नेतालाई ४/५ घण्टासम्म कुराउने गरेका थिए ।

ओलीको अनुपस्थितिमा बुधबार संविधानको मस्यौदामाथि सामान्य छलफल भएको र धेरै कुराको टुंगो लाग्न बाँकी रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

संविधान बनाएरै छाड्ने दाबी

संविधान बनाउने काम छाडेर स्कुलमा पुगेका ओलीले त्यहाँ आयोजित कार्यक्रममा अहिले देशमा संविधान चाहने र नचाहने पक्षबीच द्वन्द्व चलेको भन्दै संविधान बनाएरै छाड्ने प्रतिवद्धता जनाउन भ्याए ।

एमाले काठमाडौं क्षेत्र नम्बर-३ का स्वयंसेवकले बनाएको गोकर्णेश्वर नगरपालिका-७ स्थित सुन्ताखान माध्यमिक विद्यालयको अस्थायी टहरा हस्तान्तरण गर्दै ओलीले संविधान बनाउने बताएका हुन् ।

अरुलाई गाली गर्ने बानी परेका ओलीले केही राजनीतिक दलहरु सीमित दलगत स्वार्थका कारण संविधान निर्माणको विपक्षमा उभिएको आरोप लगाए । देश महाभूकम्पको विपत्तिमा परेका बेला विभिन्न जातजाति, भाषाभाषी र क्षेत्रका जनताबीच विद्वेष मच्चाएर कतिपयले जातीय विखण्डन निम्त्याउन खोजेको ओलीले आरोप लगाए । तर, कुन दले यस्तो गरिरहेका छन् भन्ने उनले खुलाएनन् ।

– See more at: http://www.onlinekhabar.com/2015/06/292230/#sthash.gL5nen9X.dpuf