विश्व खाद्यको अखाद्य दाल भित्रिनुमा सरकारी अधिकारीको पनि कमजोरी

0 19

९ असार, नेपालगञ्ज । बाँकेमा भेटिएको विश्व खाद्य कार्यक्रमको अखाद्य दाल खाद्य तथा गुण नियन्त्रण कार्यालयले खानका लागि योग्य भएको रिपोर्ट दिएपछि नेपाल भित्रिएको पाइएको छ । तर, संसदीय विशेष समितिले अनुगमनका क्रममा अखाद्य भनेपछि अहिले विभागले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

 

क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख विमलकुमार दाहालले प्राविधिकहरुले राति ८/९ बजेसम्म भन्सार नाकामै बसेर दालको नमूना आँखाले भौतिकरुपमा हेरेकै आधारमा खानका लागि योग्य भएको रिपोर्ट दिएको आधारमा सो दाल नेपाल भित्रिएको बताए ।

ठूलो परिमाणमा ल्याइएको र भूकम्प प्रभावितहरुलाई छिटो पुर्‍याउनुपर्ने भएकाले आँखाले भौतिकरुपमा हेरेकै आधारमा योग्य भनिएको उनको तर्क छ ।

‘ल्याव टेष्ट गर्दा २४ देखि ३६ घण्टा लाग्न सक्थ्यो । जिल्ला दैवी प्रकोप उद्दार समितिको निर्णयअनुसार फिजिकल टेष्ट गरिएको हो’ दाहालले भने-‘हातमा स्याम्पल झिकियो, किरा लागेको थिएन, गोदाममा यस्तो भेटिएला भन्ने हामीले सोचेका थिएनौं ।’

WFP Dal Banke (2)

कुनै समस्या आए आफूलाई जानकारी गराउन भनिएको तर, विश्व खाद्यले नगराएको उनले बताए । ‘उहाँहरुलाई थर्ड पार्टीबाट पहिल्यै थाहा भएको रहेछ तर, संसदीय समितिको सभासद आउँदा मात्र बाहिर आयो’ दाहालले भने ।

भूकम्प प्रभावितलाई वितरण गर्न ल्याएको दाल राहात सामाग्रीको रुपमा फाष्ट ट्रयाक प्रणालीबाट नेपालगञ्ज नाका हुँदै जेठको १२ र १४ गते भित्राएको थियो ।

संसदीय विषेश समितिले खजुरास्थित कपास विकास समितिको गोदाममा अनुगमन गर्दा ५ सय ४१ मेटि्रक टन केराउको दाल अखाद्य भेटिएको छ ।

खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले संसदीय टोलीले शंकास्पद अवस्थामा फेला परेको दाललाई अर्काे आदेश नहुँदासम्मका लागि ओसार-पसार र बिक्री वितरण नगर्न विश्व खाद्य कार्यक्रमलाई लिखित निर्देशन दिएको छ ।

गोदामको तीन ब्लकमा राखिएको उक्त दालको नमूना संकलन गरी परीक्षणसमेत शुरु गरेको दाहालले जानकारी दिए । परीक्षणको रिपोट आउन करिब एकसाता लाग्ने खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले जनाएको छ ।

खानका लागि अयोग्य अवस्थामा रहेको सो दाल विश्व खाद्य कार्यक्रम नेपालका कर्मचारीहरुले नेपालले भूकम्पबाट ठूलो विपत्तीको सामना गरिरहेका बेला फाष्ट ट्रयाकबाट भित्राएर सरकारी निकायहरुलाई जानकारीसम्म नदिइराखेका थिए ।