नयाँ गन्तव्य निर्माणमा प्याराग्लाइडिङ हिरो

0 10
स्याङ्जा : विश्वकै साहसी व्यक्तिको एवार्ड पाउन सफल सानुवाबु सुनुवार यतीबेला स्याङ्जाको स्वरेक मैदानलाई प्याराग्लाइडिङको गन्तब्य बनाउन लागिपरेका छन्।
सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट प्याराग्लाइङिमा उडेर हाम फालेका उनलाई करिब ३ बर्ष पहिले नेसनल जियोग्राफीले वर्षकै साहसिक एवार्ड दिएको थियो।
३३ वर्षिय सुनुवार प्याराग्लाइडिङसँगै साइक्लिङ र क्वाइम्बिङमा पनि पोख्त छन्। विभिन्न देशमा पुगेर उनले साहसिक रेकर्ड कायम गरेका छन्।
सुनुवार यतिबेला स्याङजाको दक्षिणपपश्चिम भेग स्वरेकको ९ मैदान प्याराग्लाइडिङको गन्तब्य बनाउन जुटका छन्।
उनले स्वरेक मैदान १ महापुरमा करिब ७० रोपनी पाखो खरबारी किनेर लाखौं रुपैयाँ खर्चेर अत्याधुनिक गेष्ट हाउस सञ्चालनमा ल्याएका छन्।
उनको होटेलमा विदेशी पर्यटकका लागि आवश्यक पर्ने सबै किसिमको सुबिधा उपलब्ध छ।
यहाँबाट विभिन्न हिमश्रृंखला, नागबेली नदी र हरियाली वन डाँडाको दृश्यावलोकन गर्न सकिन्छ।
‘नेपालमा आउने अधिकांश विदेशी पर्यटकको चाहना प्याराग्लाइडिङ हुने र प्याराग्लाइडिङका लागि स्वरेक मैदान उपयुक्त छ’, सुनुवार भन्छन्,’ पोखरापछिको उपयुक्त गन्तब्य स्वरेक भएको हुँदा पोखरा र स्वरेकको उडाई तथा बसाई प्याकेजमा गरिएको छ।’
 पर्यटक आउने क्रम बढ्दै गएको उनले जानकारी दिए।
त्यसो त, चर्चित पर्यटकीय तथा ऐतिहासिक स्थलहरूको मनोरम दृश्यावलोकन गर्दै स्वरेकबाट उडने सबै पर्यटकले बेग्लै मज्जा लिने गरेको पाइलट सानोबाबु सुनुवारको दाबी छ।
जिल्लालाई बीचमा काटेर बनाइएको सिद्धार्थ राजमार्ग हुँदा पोखराको उडानदेखि स्वरेकको अवतरणसम्म उपयुक्त स्थल रहेकाले फ्लाइङ हिमालयन प्याराग्लाईडिङ कम्पनी खोलेर जिल्लामै पहिलो व्यवसायिक सेवा सञ्चालन गरेको उनी बताउँछन्।
नेपालमै पहिलो व्यवसायिक उडानको अनुमती पाएको पोखरामा सबैखाले उडानका लागि ठाउँ सानो भएकाले हरेक दिन दुर्घटना बढीरहेको उनले बताए। त्यसको विकल्प पोखराबाट नजिकै रहेको स्वरेक मैदान उपयुक्त भएको उनको दाबी छ।
प्याराग्लाइडिङ, दृश्यावलोकन, सुटिङलगायतका लागि समेत स्वरेक उपयुक्त स्थलको रूपमा रहेको छ।
स्वरेकलाई पर्यटकीय एवं प्याराग्लाइडिङको केन्द्रको रूपमा विकास गर्न सडक मार्ग र अन्य आधारभूत पूर्वाधारमा निर्माढा गरेर आन्तरिक तथा वाह्य पर्यटक ल्याउन सकिने बताउँछन् पर्यटनविद पदमबहादुर केसी।
संस्कृति, पर्यावरण तथा प्राकृतिक सौन्दर्यताको मिश्रणका कारण पर्यटनका लागि स्याङ्जा आकर्षणको केन्द्र मानिएको छ।
प्रशस्त साँस्कृतिक सम्पदा बाईसे चौबिसे राजाका दरबारहरू, मठमन्दिर, मध्यभूभागलाई चिरेर बगेको नागबेली आधीखोला, प्राकृतिक गुफा तथा भू-बनोट यहाँको आकर्षण हो।
ग्रमीण पर्यटकीय क्षेत्र पंचमुल गाविसस्थित सिरुवारी र स्वरेक गाविसको मैदानको प्याराग्लाइडिङ पोखरापछिको महत्वपूर्ण गन्तव्यको रूपमा चिचिन थालेको छ।