अतिथी ग्रुपले खोल्यो महेन्द्रपुलमा अत्याधुनिक ‘ली-क्याफे

0 11

९ असार, पोखरा । विनाशकारी भूकम्पले समग्र पर्यटन व्यवसाय ओरालो लागिरहेका बेलामा पर्यटकीय नगरी पोखरामा भने नयाँ अत्याधुनिक क्याफे सञ्चालनमा आएको छ ।

आन्तरिक पर्यटकलाई लक्षित गरेर पोखराको व्यस्त बजार महेन्द्रपुलमा दुई करोड लगानीमा ली-क्याफे सञ्चालनमा आएको हो । करिव तीन वर्ष अगाडि लेकसाइडमा २० करोड लगानीमा अतिथी रिसोर्ट खोलेको अतिथी ग्रुपले महेन्द्रपुलमा क्याफे सञ्चालनमा ल्याएको हेा ।

क्याफेमा ५ दाजुभाई रामजी, भरतराज, लक्ष्मण, शत्रुधन र ज्ञानेन्द्र पौडेलको संयुक्त लगानी रहेको छ । यसअघी अतिथी ग्रुपमा रामजी, भरतराज, लक्ष्मण र शत्रुधनमात्र थिए । ज्ञानेन्द्रले क्याफेमा नवआगन्तुकको रुपमा लगानी गरेको सञ्चालक भरतराज पौडेल (शर्मा)ले जानकारी दिए । ज्ञानेन्द्र पृथ्वीनारायण क्याम्पसका प्राध्यापक हुन् ।

भूकम्पपछि लेकसाइडमा पर्यटक आगमन कम भएको हूँदा गु्रपको खर्च सन्तुलनमा राख्न आन्तरिक पर्यटकलाई लक्षित गरेर क्याफे सञ्चालनमा ल्याएको भरतराजले जानकारी दिए ।

‘हामीले गुणस्तरीय सेवा दिने उद्देश्यले स्थानीयलाई लक्षित गरी क्याफे सञ्चालनमा ल्याएका हौं, क्याफेमा ठूलो पार्किङ र गार्डेन लगायतका सुविधा छन्, तैपनि हामी यस क्षेत्रमा सञ्चालित अन्य रेष्टुरेन्टकै मूल्यमा सेवा दिनेछौं’ उनले भने ।

क्याफेमा युरोपेली, भारतीय र नेपाली चलन चल्तीमा रहेका स्पेसल खानाका परिकारहरु उपलब्ध गराइने बताइएको छ । जग्गा भाडामा लिएर खोलिएको क्याफेमा तत्काल २८ जनाले रोजगारी पाएका छन् ।

क्याफेमा २ सयजना, ५० जना र २० जना अटाउने वातानुकुलित हलहरु रहेका छन् । भूकम्पको प्रभाव तत्कालका लागि पर्यटन क्षेत्रमा देखिए पनि यो चाँडै समाधान हुने विश्वास उनको छ ।

‘भुकम्पले पर्यटकीय क्षेत्रमा प्रत्यक्ष प्रभाव नपारे पनि प्रचार बाजीले पर्यटक आगमनमा असर पर्‍यो’ शर्माले भने- ‘पर्यटक आउन चाहेपनि सम्बन्धित देशले रोकेकाले पर्यटक आगमनमा कमी आएको हो, अब सरकारले कुटनीतिक रुपमा पहल गरेर प्रतिबन्ध फुकुवा गर्नेतर्फ ध्यान दिनुपर्छ ।’

नेपाल भ्रमणमा आउनेहरु जोखिम मोलेर आउने साहसिक पर्यटक हुने गरेको बताउँदै उनले भूकम्पका कारण उनीहरु नेपाल आउन नरोकिने दाबी गरे ।