संविधानसभाभन्दा उच्च निकाय अन्य कुनै छैन : नेता नेपाल

0 16

जनकपुरधाम : पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाभन्दा उच्च निकाय अन्य कुनै नभएको र संविधानका बारेमा चार शक्तिद्वारा गरिएको सहमतिका पक्षमा सबैलाई समेट्नु जरुरी रहेको बताएका छन् ।

 

प्रेस चौतारी नेपाल, धनुषाद्वारा मंगलबार  यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले १६ बुँदे सहमतिका सन्दर्भमा अदालतद्वारा गरिएको आदेश संविधानसभाको गरिमा, स्थान र नियमावलीभन्दा पृथक् भएको बताए ।

उनले संविधान निर्माणका लागि भएको नयाँ सहमतिको वातावरणमा एकअर्कालाई दोषारोपण नगरी सबैको बीचमा विश्वास, मन र चित्त बुझाउने प्रयास गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

राष्ट्रिय राजनीति सकारात्मक दिशातर्फ गइरहेकाले अनिश्चितताको भुमरीलाई तोड्दै नयाँ ढङ्गले अगाडि बढ्नु जरुरी छ भन्दै उनले सङ्घीयता ओझेलमा नपरोस् भन्ने कुरालाई गम्भीरतापूर्वक लिई संविधान छिटो जारी गर्नेतर्फ प्रयास हुनुपर्ने खाँचो रहेको बताए ।

पूर्व प्रधानमन्त्री नेपालले संविधानसभालाई सफल बनाउँदै मुलुकलाई स्थायित्वको सन्देश दिन संविधान निर्माण र स्थानीय निकायको निर्वाचन आवश्यक भएको धारणा पनि राखे ।