एसएलसी परीक्षाफल नआउँदा विद्यालयमा तालाबन्दी

0 9

कालीकोट, असार ८–जिल्लाको एक विद्यालयका तीन विद्यार्थीको सिम्बोल नम्बर उल्लेख नगर्दा एसएलसीको परीक्षाफल प्रकाशित नभएपछि विद्यालयमा तालाबन्दी गरेका छन् । सदरमुकामसँग जोडिएको सरस्वतीमा मावि सिकुका तीन छात्राको प्रवेशपत्रमा सिम्बोल नम्बर कायम भएको तर परीक्षा पुस्तिकामा छुट भएका कारण विद्यार्थीको परीक्षाफल प्रकाशित नभएपछि विद्यालयमा तालाबन्दी गरेका हुन् । सो विद्यालयमा अध्ययनरत छात्रा जीवन खड्का, मदन खड्का र पूर्ण तिरुवाको परीक्षाफल आउन नसकेको बताइएको छ । सरस्वती माविका प्रधानध्यापक वीरेन्द्र कठायतका अनुसार तत्कालीन समयमा छुट सच्याउनका लागि जिल्ला शिक्षा कार्यालयले पत्र पठाएको तर विद्यालयमा नपुगेका कारण सच्याउन नसक्दा समस्या आएको हो । यस वर्ष सो विद्यालयमा २८ जना विद्यार्थी उत्तीर्ण भएको बताइएको छ । यस वर्ष कालीकोट जिल्लाबाट प्रवेशिका परीक्षामा ४६.२७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएर कालीकोट जिल्ला मध्यपश्चिमको तेस्रो आउन सफल भएको छ भने जुम्ला प्रथम र हुम्ला दोस्रो आएको क्षेत्रीय निर्देशनालय सुर्खेतले जनाएको छ ।