अफगान संसद् परिसरमा बम प्रहार, बालकसहित १२ को मृत्यु (भिडियोसहित)

0 8

काबुल, असार ८ – अफगानिस्तानको संसद्‍ भवनभित्र तालिवान लडाकुले सोमबार बम प्रहार गर्दा एक बालकसहित १२ जनाको मृत्यु भएको छ।

आक्रमणबाट केही सांसद घाइते भएको जानकारी दिइएको छ। संसद् चलिरहेका बेला भएको आक्रमणका कारण सांसदहरू सुरक्षाको खोजीमा यत्रतत्र भागेको अवस्था टेलिभिजनमा प्रत्यक्ष रूपमा देखिएको छ। भीडन्तका क्रममा सातजना आक्रमणकारी र एक बालकसहित पाँचजना सर्वसाधरण मारिएका छन्।

अफगानिस्तानका प्रतिरक्षामन्त्रीको रूपमा राष्ट्रपतिबाट मनोनीत व्यक्तिलाई संसद्मा परिचय गराउने समयमा उक्त आक्रमण भएको थियो।
आत्मघाती कार चालकका साथमा सबै आक्रमणकारीको मृत्यु भएपछि आक्रमण अन्त्य भएको थियो। दोहोरो भिडन्तका क्रममा एक बालकसहित पाँचजना सर्वसाधारण पनि मारिएका छन्।
पहिलो कारबम संसदीय भवननजिकै मुख्य सडकमा विस्फोट भएको थियो। त्यसपछि आक्रमणकारीको एक समूह संसद् अगाडिको एक भवनमा प्रवेश गरेको थियो। उक्त जानकारी काबुल प्रहरीका प्रवक्ता एबादुल्लाह करिमीले दिएका हुन्।
दुईजना पुरुष, एक महिला तथा एक बालकको उक्त आक्रमणमा मृत्यु भएको जानकारी प्रहरी तथा संयुक्त राष्ट्रसंघले दिएको छ।
गृह उपमन्त्री नजिब दानिसले सातजना आक्रमणकारीले आक्रमण गरेको बताएका छन् भने स्वास्थ्य मन्त्रालयले पाँच महिला एक बालकका साथमा ३१ व्यक्ति घाइते भएको जानकारी दिएको छ।
उक्त घटनाको टेलिभिजन प्रसारणमा पहिलो विस्फोटमा संसद्भित्र कोलाहल फैलिएको र सांसद अब्दुल राउफ इब्राहिमीले आफ्नो कुर्चीमा बस्दै यो विद्युत्को गडबडी भएको सांसदलाई बताइरहेका थिए।
उक्त समयमा संसद्मा रहेका सांसद मोहमद रेजा कोसाकले एक ठूलो विस्फोट सुनिएको र त्यसपछि साना विस्फोट सुनिएको जानकारी दिए। उनले केही सेकेन्डमा हलमा धुवाँ फैलिएको र सांसदहरू भाग्न थालेको बताए। संसद् भवनबाहिर सुरक्षा दिइरहेका सैनिकले आक्रमणकारीको योजना सफल हुन नदिएको बताए।
प्रत्यक्षदर्शीका अनुसार सुरुमा आक्रमणकारीले संसद्को मूल प्रवेशद्वारमा शक्तिशाली विस्फोट गराएका थिए। उक्त घटनामा ६ देखि ९ पटक बम विस्फोटको आवाज आएको बताइएको छ।

सशस्त्र व्यक्तिले संसद्भित्र छिर्न फायरिङ गरिरहेका थिए। उनीहरूको प्रयासलाई सुरक्षाबलले असफल बनाएको थियो। संसद् भवनमा रहेका सबै सभासद् सुरक्षित भएको गृहमन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार काबुलमा एक डच महिलालाई पनि अपहरण गरिएको छ। राष्ट्रपतिबाट रक्षामन्त्रीमा मनोनीत मसुम स्तानेकजईको परिचय परिचय संसद्मा गराइरहेका बेला भएको थियो। उनलाई रक्षामन्त्रीको रूपमा संसद्बाट अनुमोदन गराउनुपर्ने हुन्छ। त्यतिखेरै काबुलको दहमाजंग क्षेत्रमा पनि भयानक विस्फोट भएको थियो।
तालिवमानको आक्रमण लगत्तै संसद्लाई खाली गराइएको थियो भने वरिष्ठ नेताहरूको सुरक्षाका लागि विशेष अपरेसन सुरु गएिको थियो।
सेनाको विशेष टोलीले एम्बुलेन्सका साथ संसद् भवनमा कारबाही सुरु गरेको जानकारी दिइएको छ। काबुलमा कार्यरत पत्रकार महबुब अला खानले शक्तिशाली विस्फोट भएको र संसद् भवनका सिसा पूरै फुटेको बताए। उनका अनुसार संसद् भवनवरपरका घरमा पनि क्षति भएको छ।

संसद्मा तैनाथ सुरक्षाकर्मीले आक्रमणकारीलाई २० मिनेटसम्म रोकेका थिए। सुरक्षा अधिकारीले संसद्मा आक्रमणको सूचना पहिले नै पाएको बताए।
एक दशकसम्म अमेरिकी नेतृत्वको नेटो गठबन्धनले अफगानिस्तानमा सुरक्षा दिँदै आएको थियो। सन् २०१५ को जनवरी १ देखि देशको सुरक्षाको जिम्मा अफगान सेनामा आएको छ। यस घटनाले तालिवानविरुद्धको युद्धमा अफगान सुरक्षाबलको क्षमतामाथि आशंका उब्जिएको छ।
तालिवान विद्रोहीले अप्रिल महिनाको अन्त्यदेखि कडा आक्रमण सुरु गरेका छन्। उनीहरूले सरकार र विदेशी नियोगलाई आक्रमणको लक्ष्य बनाएका छन्। उनीहरूले अफगानिस्तानका प्रमुख धर्मगुरु मौलवीको आग्रहका बाबजुद पनि आक्रमण गरेका छन्। उनले रमदान महिनाभर हमला नगर्न आग्रह गरेका थिए।