पर्साबाट ठूलो मात्रामा गिट्टी र बालुवा भारत तस्करी

0 8
सशस्त्र र नेपाल प्रहरी दुवै संलग्‍न
वीरगन्ज : पर्साको ग्रामिण भेगका नाकाहरु प्रयोग गरेर भारत तर्फ व्यापक मात्रामा गिट्टी र बालुवाको तस्करी भइरहेको छ। शंकरसरैया गाबिसमा पर्ने भलुवाही खोलाबाट मात्रै दैनिक एक सय भन्दा बढि ट्याक्टर बालुवा र गिट्टी भारत तर्फ तस्करी भइरहेको छ।
पर्साको ग्रामीण क्षेत्रमा रहेका खोलाहरुबाट कारोबारीहरु ले गिटटी र बालुवा उत्खनन् गरि पिडारीगुठी, जानकीटोला, सम्भौता, भिस्वा, जयमंगलापुर लगायतका नाका हुदै भारतको ईनरवा, सिकटा, मैनाटाड,भंगाहा,प्रसुतीपुर, बल्थर , बेतिया , नरकटियागन्ज लगायतका बजारमा लगेर बिक्री गर्दै आएका छन्।
यस्तै मकवानपुर र बारामा रहेका क्रसर उद्योगहरु बाट उत्पादित गिट्टी पनि कारोबारीहरुले पर्साकै नाका प्रयोग गरेर भारत तर्फ तस्करी गरिरहेका छन्।
मकवानपुरको हेटौडा ,बाराको अमलेखगन्ज र छातापिपरामा रहेका क्रसर उद्योगहरुबाट ट्रिपर मार्फत गिटटी ल्याएर कारोबारीहरुले पर्साको ग्रामीण क्षेत्रका पोखरीया र लंगडीमा भण्डारण गर्ने गर्छन्।
त्यसपछि त्यही गिट्टी टयाक्टरमा लोड गरेर कारोबारीहरुले नेपाल भारत बिचको दशगजा क्षेत्र नजिकका गाँउमा झारेपछि त्यहाबाट भारतीय कारोबारीहरुले आफनो टयाक्टरमा लोड गरेर भारतको ईनरवा, सिकटा, मैनाटाड,भंगाहा,प्रसुतीपुर, बल्थर , बेतिया र नरकटियागन्ज लगेर बिक्री गर्दै आएका छन्।
नेपालबाट गिटटी ,बालुवा र ढुंगा भारतमा निकासी गर्न सरकारले प्रतिबन्ध लगाएको छ।
तर तस्करीमा संलग्न कारोबारीहरुले पर्साको नाका प्रयोग गरेर दिनहु सयौं टयाक्टर गिटटी , बालुवा र ढुंगा भारत तर्फ तस्करी गरिरहेका छन्।
तस्करहरु ले दिनदहाडै गिट्टी र बालुवाको तस्करी गरिरहेको भएपनि प्रहरीले नियन्त्रणमा चासो नदेखाएको गाँउलेहरुले बताउछन्।
कारोबारीहरुले सिमा क्षेत्रमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतोमा गिटटी र बालुवाको तस्करी गरिरहेको उनिहरुको भनाइ छ।
कारोबारीहरुले प्रहरी चौकीका इन्चार्जलाइ तस्करी बापत प्रति टयाक्टर तीन देखि पाँच सय र सशस्त्र प्रहरीको बोर्ड आउट पोष्टका इन्चार्जलाइ पाँच सय देखि एक हजार रुपैया घुस दिने गरेको गिट्टी बालुवाकै तस्करीमा संलग्न एक कारोबारीले बताए।
क्रसरबाट उत्पादित गिट्टी भारतीय कारोबारीहरुले नेपाली कारोबारीसंग प्रति ट्याक्टर ११ हजार दुइ रुपैयामा खरिद गर्छन। त्यही गिट्टी भारतमा लगेर उनिहरुले २५ हजार ६ सय रुपैया (भारु १६ हजार) मा बिक्री गर्दै आएका छन्।
पुलिस प्रशासन र टयाक्टर भाडा सबै खर्च कटाएर एक टयाक्टरमा चार देखि पाँच हजार रुपैया नाफा हुन्छ , गिट्टी बालुवाको तस्करीमा संलग्न एक कारोबारीले भने , पहिले जस्तो अहिले सजिलो छैन , ठाँउ ठाँउमा पुलिसलाइ घुस दिनु पर्छ।
पर्साका स्थानीय विकास अधिकारी गुरु प्रसाद सुबेदीले भने पर्साबाट गिटटी र बालुवा भारत तर्फ तस्करी नभएको बताए।
जिल्ला विकास समितिले सिफारिस गरेका बाहेक अरु कसैले पनि खोलाहरुबाट बालुवा र गिटटीको उत्खनन् नगरेको उनको दाबी थियो।
 ग्रामीण क्षेत्रमा सडक मर्मतका काम भइरहेकाले खोलाबाट उत्खनन् गरिएका गिटटी र ग्राभेल त्यसैमा प्रयोग भइरहेको बताए।
सीमा क्षेत्रमा ठाँउ ठाँउमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकपोष्टहरु रहेकाले उनिहरुले पनि निगरानी गरिरहेको उनले बताए।
तस्करहरु संग प्रहरीले प्रहरीले घुसै खाएको छैन भनेर ठोकुवा त म गर्न सक्दिन , उनले भने , तर व्यापक तस्करी भने भएको छैन।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भने ग्रामीण क्षेत्रका नाकाबाट गिटटी र बालुवा भारत तर्फ तस्करी भएको खबर आफु कहाँ पनि आएको बताए।
उनले भने , तस्करी नियन्त्रण गर्न मातहतका निकायलाइ निर्देशन दिइसकेको छु , म आफैले पनि अब छडके चेकजाँच गर्छु।

– Source: annapurna Post