भूकम्पले उपत्यकामा संकलन भएको फोहोर ११ वर्षको भन्दा धेरै

0 5

८ असार, काठमाडौं । काठमाडौं उपत्यकामा ११ वर्षमा निस्कने फोहोर गत वैशाखमा गएको भूकम्पले दुई दिनमा (वैशाख १२ र २९ गते) मै थुपारिएको छ ।

वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनका कारण काठमाडौं उपत्यकामा मात्र करिब ४० लाख टन फोहोर निस्केको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले गरेको अध्ययनले देखाएको छ । ‘यो करिब ११ वर्षमा जम्मा हुने फोहोरमैला बराबर हो,’ केन्द्रकी निर्देशक डा. सुमित्रा अमात्यले भनिन् । त्यस्तै भूकम्पले बढी क्षति पुर्‍याएको उत्पत्यकाबाहिरको ११ जिल्लामा समेत गरे ९६ लाख टन फोहोर निस्केको गोरखापत्रमा खबर छ ।

त्यस्तै, भूकम्पका कारण एक अर्ब १२ करोड इँटा नष्ट भएका छन् । अब गरिने पुनःनिर्माणको लागि त्यति नै इँटा उत्पादन गर्न करिब १५ लाख सात सय टन कोइलाको खपत हुने र त्यसबाट १५ हजार टनभन्दा बढी कार्वनडाइअक्साइड निस्केर वातावरणलाई प्रभाव पार्ने अमात्यको भनाइ छ ।