भारत र चीनका विदेशमन्त्री आउने नेपाल पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन

0 5

काठमाडौ, असार ८ – ‘नेपाल पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’का सहभागीहरु धमाधम काठमाडौ आइपुग्न थालेका छन् । काठमाडौमा बिहीबार सुरु हुने सम्मेलनका लागि राष्ट्रसंघले उपमहासचिव र सहायक महासचिवलाई पठाएको छ । छिमेकी भारत र चीनले विदेश मन्त्रीहरु पठाउने भएका छन । नर्वे, जापान, भुटान, बंगलादेश र श्रीलंकाबाट पनि मन्त्रीस्तरको सहभागिता रहनेछ । युरोपेली युनियनले उच्चायुक्त पठाउने छ । एसियाली विकास बैंकका अध्यक्ष, विश्व बैंकका उपाध्यक्षले सहभागिता जनाउने निश्चित भइसकेको छ ।

अल्पविकसित मुलुक हेर्ने उपमहासचिव ज्ञानचन्द्र आचार्य र एसिया प्रशान्त क्षेत्रका लागि राष्ट्रसंघका सहायक महासचिव हालोलिङ सु सोमबार नै काठमाडौं आइपुगेका हुन् ।

भारतबाट विदेशमन्त्री सुश्मा स्वराज र चीनबाट विदेशमन्त्री वाङ यीले दुई दिने नेपाल भ्रमण गर्ने टुंगो लागेको परराष्ट्र अधिकारीले बताए । भूकम्पपछिको पुनःनिर्माण्ा, पुनःस्थापना तथा नवनिर्माण्ाका निम्ति बाह्य सहायता जुटाउन  हुने सम्मेलनमा उनीहरुसहित सात मुलुकको मन्त्रिस्तरीय सहभागिता रहनेछ । बङगलादेशका अर्थमन्त्री अबुलमाल अब्दुल महिथ, भुटानका अर्थमन्त्री नाम्गे दोर्जी, नर्वेका अन्तर्राष्ट्रिय विकास मन्त्री हेक्की होलाम्स र श्रीलंकाका ए एच एम फोवइसे सहभागी हुने छन् ।

यसैबीच, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले सोमबार काठमाडौंस्थित सबै राजदूतलाई छुट्टाछुट्टै समुहमा भेटेका छन् । भेटमा नेपाललाई गर्ने सहयोग र सहकार्यका साथै सम्मेलन तयारीबारे छलफल भएको थियो । मन्त्री पाण्डेले दक्षिण एसिया, दक्षिण पूर्वि एसिया, खाडी मुलुक र अमेरिकी तथा यूरोपेली मुलुकका राजदूतलाई भेटेका हुन् । भेटमा भारतीय राजदूत भने उपस्थित भएनन् ।

महाविपत्तिबाट भौतिक संरचनामा पुगेको क्षतिलाई पूर्ववत अवस्थामा फर्काउन आफ्नै साधन स्रोतले सम्भव नहुने भएपछि अन्तर्राष्ट्रिय सम्मेलन गर्नु परेको सरकारको भनाइ छ । यो दाता सम्मेलन नभएको पनि सरकारले स्पष्ट पारेको छ ।

सरकारले अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा सम्मेलन तयारी समिति बनाएको थियो । द्विपक्षीय दाता अस्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, ब्राजिल, डेनमार्क, संयुक्त अधिराज्य, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इजरायल, जापान, विकासका लागि साउदी कोष, स्विडेन, स्विट्जरल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड, अमेरिका, पोल्यान्ड, भारत, न्युजिल्यान्डले सहभागिताको निश्चित गरिसकेका छन् ।

मलेसिया, कतार, अफगानिस्तान, क्यानाडा, चेक रिपब्लिक, इन्डोनेसिया, अरब आर्थिक विकासका लागि कुवेती कोष, लग्जेम्बर्ग, माल्दिभ्स, पाकिस्तान, रुस, स्पेन, टर्की, युनाइटेड अरब इमिरेट्स लगायतका द्विपक्षीय मुलुकको सहभागिता भने मंगलबारसम्म निश्चित हुने परराष्ट्रले जानकारी दिएको छ ।

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर, टाइटेनिक फिल्मका नायक लियो नार्दाे डिक्यापि्रयो, चचिर्त बेलायती नायिका जोहना लुम्लेलाई पनि निमन्त्रणा गरिएको थियो । तर, उनीहरु आउने या नआउने टुंगो सोमबार अवेरसम्म लागेको छैन । परराष्ट्र अधिकारीहरुका अनुसार उनीकहरुको सहभागिता हुदैन होला । तर लियोनार्दोको सम्भावना भने अझै रहेको छ ।

यस्तो छ कार्यक्रम

नेपाल आइपुगेका सहभागीलाई बुधबार काठमाडौं र आसपासका भुकम्प प्रभावित क्षेत्रका स्थलगत अवलोकन गराइने छ । अर्थको निर्देशनमा परराष्ट्रले त्यसको ब्यवस्थापन गर्नेछ ।  विहिबार सोल्टी होटलमा हुने सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले वर्तमान अवस्था चित्रण गर्दै उद्घाटन गर्नेछन । उदघाटन, थिमेटिक र रणनीतिक गरी तीन फरक फरक सेसनमा बाडिएको कार्यक्रममा सहभागीलाई भूकम्प अघि र पछिको नेपालका प्रमुख गन्तव्यस्थलको दृश्य समेटिएको वृत्तचित्र देखाइनेछ ।

सम्मेलनमा सहभागी हुन सरकारले तीन दर्जन बढि राष्ट्र र दुई दर्जन बहुपक्षीय दातृ निकाय तथा प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेका आधाभन्दा केही बढीको मात्र  सहभागिता रहनेछ  । पुरानासंगै नया दाता समेत उपस्थित हुन लागेकाले सकारात्मक सन्देश जाने विश्वास सरकारले लिएको छ ।

दातासमक्ष प्रस्तुत गरिने विपद्पछिको आवश्यकता मूल्याङकन (पिडिएनए) प्रतिवेदन तयार भइसकेको छ । पुनःनिर्माण्ाका लागि करिब ६ खर्ब ६६ अर्ब आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । दाता निकायलाई विश्वास दिलाउन सरकारले आइतबार भूकम्पबाट भएको क्षतिको पुननिर्माण्ासम्बन्धी अध्यादेश २०७२ पारित गरेर काम गर्न लागेको सन्देश दिन खोजेको हो ।

 

You might also like More from author