बैंकिङ क्षेत्रमा भूकम्पको असर ३ प्रतिशत मात्रै ! पुनर्कर्जाको ठूलो आवश्यकता देखिएन ; राष्ट्र बैंकका प्रवक्ता

0 6

७ असार, काठमाडौं । भूकम्पले बैंकिङ क्षेत्रमा निकै ठूलो असर पुर्‍याएको अनुमान गरिए पनि सोअनुसारको असर नभएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।
सरकारले बैंकिङ क्षेत्रमा १० प्रतिशत क्षतिको हाराहारीमा असर गरेको अनुमान गरेको थियो । तर, बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकलाई बुझाएको क्षति र असरको प्रारम्भिक प्रतिवेदनमा कूल कर्जाको झण्डै ३ प्रतिशत अर्थात् ३८ अर्ब रुपैयाँमात्रै असर परेको राष्ट्र बैंकका प्रवक्ता डा. मीनबहादुर श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

हाल बैंक तथा वित्तीय संस्थाहरुको कूल कर्जा प्रवाह १३ खर्ब रुपैयाँ छ । ‘सबै बैंक तथा वित्तीय संस्थाहरुले भूकम्पले पुर्‍याएको क्षति र असरको विवरण बुझाइसकेका छन्’ राष्ट्र प्रवक्ता श्रेष्ठले भने- ‘हामीले सुरुमा जति असर भयो होला भनेर अनुमान गरेको थियौं, त्योभन्दा निकै कम मात्रै असर परेको रिपोर्ट आएको छ ।’

३८ अर्ब रुपैयाँको कर्जामा असर गरे पनि क्षति भने त्यो भन्दा न्यून भएको उनले बताए । ‘१३ खर्बको कर्जामा ३८ अर्बलाई मात्रै असर पार्नु भनेको सामान्य अवस्था हो’ श्रेष्ठले भने ।

बैंक तथा वित्तीय संस्था स्वयंलाई खासै क्षति नभएको उनले जानकारी दिए । ‘संस्था स्वयंलाई भने नगन्य क्षति छ’ श्रेष्ठले भने- ‘हामीले उल्लेख गरेको असर भनेको संस्थाहरुले गरेको ऋणमा हो ।’

बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएका ग्राहकहरुको भौतिक क्षति भएको र व्यापार व्यावसाय नचलेर आम्दानीमा क्षति भएको श्रेष्ठले बताए ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र वित्त कम्पनी संघले राष्ट्र बैंकलाई यो क्षेत्रमा परेको असर समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत आवश्यक सम्बोधन गर्नुपर्ने सुझाब दिइसकेका छन् ।

तीनवटै संघहरुको सुझाव राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा सम्बोधन गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनए ।

‘कसैलाई कर्जाको किस्ता सार्नुपर्ने, कसैलाई पुननिर्माणका लागि कर्जा थप्नुपर्ने र कसैलाई बीमाबाट रकम नआउञ्जेल कर्जामा सरल गर्नुपर्ने आवश्यकता देखिएको छ’ उनले भने ।

सुरुमा मोटो रकम पुनर्कर्जा दिनुपर्ने अवस्था रहेको अनुमान गरिए पनि अहिले पुनर्कर्जा दिइहाल्नुपर्ने ठूलो आवश्यकता नदेखिएको उनको भनाइ थियो ।

भूकम्पपछि बैंकहरुको निक्षेप संकलन ५२ अर्ब रुपैयाँले बढे पनि कर्जा भने २ अर्ब रुपैयाँले मात्रै बढेको छ । व्यापार व्यवसाय विस्तार गर्ने अवस्था नभएका कारण ऋण बढ्न नसकेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए ।

देशभर हाल ३० वाणिज्य बैंक, ८१ विकास बैंक, ५१ फाइनान्स कम्पनी र ३६ लघुवित्त विकास बैंक सञ्चालनमा छन ।

भूकम्पका कारण देशको अर्थतन्त्रमा भने ठूलो क्षति पुगेको छ । भूकम्प आउनुअघि चालू आर्थिक वर्षको देशको कूल ग्रार्हस्थ उत्पादनको वृद्धिदर ४.५८ प्रतिशत हुने अनुमान गरिएकोमा भूकम्पपछि ३.०४ प्रतिशत मात्रै हुने अनुमान गरेको छ ।

सरकारले भूकम्पले ५ खर्ब १३ अर्ब रुपैयाँको क्षति पुर्‍याएको निश्कर्ष निकालेको छ । त्यसको पुननिर्माण गर्न ६ खर्ब ६६ अर्ब रुपैयाँ लाग्ने राष्ट्रिय योजना आयोगको पीडीएनए प्रतिवेदनमा उल्लेख छ ।

source:onlinekhabar