सिन्धुपाल्चोकमै किन मरे यति धेरै मान्छे ? (भिडियोसहित) चिनियाँ सेनाले शव खोलामा फाल्दा मृतकको यकिन विवरण आएन

0 11

७ असार, पाटीभन्ज्याङ (सिन्धुपाल्चोक) । वैशाख १२ र २९ को भूकम्प र पराकम्पनका कारण सिन्धुपाल्चोकमा ज्यान गुमाउनेहरुको संख्या आधिकारिक रुपमा ३ हजार पाँच सय ३० पुगेको छ । हालसम्म ९० जना बेपत्ता छन् ।

यो तथ्याङ्क जिल्ला प्रहरी कार्यालयको हो । तर, गाविसहरुले संकलन गरेको तथ्यांक हेर्ने हो भने मृतकको संख्या ४ हजार नाघेको छ । बेपत्ता पनि दुई सय बढी नै छन् ।

काठमाडौं उपत्यका बाहेक यति ठूलो संख्यामा भूकम्पमा मानवीय क्षति भोग्ने जिल्ला सिन्धुपाल्चोक नै हो । भूकम्पका अधिकांश पराकम्पनहरुले पनि सिन्धुपाल्चोकलाई नै केन्द्रविन्दू बनाए ।

सिन्धुपाल्चोकमा जुन कहालीलाग्दो मानवीय क्षति भयो, यसको कारण के हो त ? यो प्रश्न पनि अहिले सँगसँगै उब्जिएको छ । भौतिक क्षतिका हिसाबले सिन्धुपाल्चोक आसपासका दोलखा, रामेछाप, काभ्रे, नुवाकोट लगायतका जिल्लाहरु पनि लगभग उस्तै छन् ।

सिन्धुपाल्चोकमा जसरी ढुंगामाटाका घरहरु ध्वस्त भए, अन्य छिमेकी जिल्लामा पनि उस्तै अवस्था छ । तर, मानवीय क्षति सिन्धुपाल्चोकको पनि क्षेत्र नम्बर ३ का बेंसीका बस्तीमा बढी भएको प्रहरीले जनाएको छ ।

सबैभन्दा धेरै क्षति भोगेको सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ का केही बस्तीमा पुग्दा त्यहाँ लेक क्षेत्रमा भन्दा बेंसीमा बढी मानवीय क्षति भएको पाइयो । त्यसको प्रमुख कारण प्रकृति र परम्परा रहेछ ।

भिडियो हेर्नुहोस्

परम्पराको प्रभाव

सिन्धुपाल्चोक क्षेत्र नम्बर-३ का सभासद शेरबहादुर तामाङका अनुसार सो क्षेत्रका अधिकांश बेंसीका बासिन्दा बिहानभरि खेतबारीमा मेला गरेर दिउँसो ११ बजेपछि खाना खान र आराम गर्न घर फर्किने गर्छन् ।

गर्मीका कारण दिउँसो मेलापात गर्न गाह्रो हुने भएकाले बिहानै मेला जाने र खेताला पनि बिहानै बोलाउने त्यस क्षेत्रको पुरानो परम्परा रहेको तामाङले बताए । ‘मेला सकेर घरमा खाना खाँदै गरेको र खाना खाएर आराम गरेको बेलामा भूकम्प जाँदा यो अकल्पनीय मानवीय क्षति भयो’ सभासद तामाङले भने ।

सिन्धुपाल्चोक ३ को मेलम्ची र हैबुङको दूरी एक डेढ घण्टामात्रै छ । तर मेलम्चीमा करीव ३ सय मान्छे हताहत हुँदा हैबुङमा ४ जनाको मात्रै मृत्यु भयो । मेलम्ची क्षेत्र बेंसीमा भएकाले सबै मान्छे बिहानको काम सकेर घरैमा थिए भने हैबुङका मान्छे खेतबारीमा थिए ।

sindhupalchok1

हैबुङकी स्थानीय महिला समूहकी संयोजक कुमारी गुरुङ र स्थानीय राम गुरुङसँग हामीले कुराकानी गर्‍यौं । उनीहरुले भने-धेरै मान्छे घरभित्र सुतेको, खाना खाँदै गरेको र छ्याङ खाएर बसेको बेलामा मरे । त्यसमा पनि तामाङ समुदायका मान्छे धेरै परे ।

सिन्धुपाल्चोकमै सबैभन्दा धेरै मान्छे ३ नम्बर क्षेत्रको बरुवा गाविसमा २ सय २० जनाको मृत्यु भएको गणना गरिएको छ । ती मान्छे अधिकांश घरभित्र सुतेका, खाना खाँदै गरेका र आराम गरेका बेला परेका हुन् ।

अधिकांश पहाडी र हिमाली क्षेत्रमा स्थानीय बासिन्दा बिहान बस्तुभाउ र घाँसपात गरेर दिउँसो मेला जान्छन् । खेताला जानेहरु पनि बिहान ९ बेजेदेखि बेलुका ४ वा पाँच बजेसम्म खेतबारीमा काम गर्छन् । मेलापात दिउँसो जाने ठाउँमा कम मानवीय क्षति भएको छ ।

सिन्धुपाल्चोकमा ३ नम्बर क्षेत्रमा घरभित्र रहेका मान्छे धेरै मरे भने १ नम्बर क्षेत्रमा घर बाहिर धेरै मान्छे मरे । ठूलो पहिरो र ढुंगाले किचेर मान्छेको मृत्यु भयो, जुन संख्या तातापोनी र लिपिङ क्षेत्रमा अत्यधिक छ ।

मृतकको संख्या प्रहरीको रेकर्डमा कम हुनु पनि सोही क्षेत्रको क्षतिको विवरण प्रष्ट नआउनु रहेको पत्रकार दिनेश थापा बताउँछन् ।

तातोपानी र लिपिङ क्षेत्रमा ढुंगा र पहिरोले किचेर मरेका धेरै लासहरु चिनियाँ सेनाले सडक खुलाउने क्रममा खोलामा फालेकाले पनि यकिन संख्या आउन नसकेको स्थानीय बताउँछन् ।

गलत शिक्षा

सिन्धुपाल्चोकको भोटसीपाका शिक्षक राजन नेपाल वैशाख १२ अघिसम्म आफैं भूकम्पको शिक्षा दिन्थे । तर, उनले दिएको शिक्षा उनकै लागि काल बन्यो ।

sindhupalchok

भूकम्प आउँदा खाटमुनि लुक्ने वा थाम समातेर बस्ने तालिम दिइएको थियो । त्यही तालिमका कारण सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा बढी क्षति भएको पाइएको छ ।

घर बाहिर आँगन वा पिढीमा रहेका मान्छेसमेत घरभित्र पसेर खाटमुनि लुक्दा मृत्यु भएका धेरै घटना भेटिएको पत्रकार थापाले बताए । शिक्षक राजन नेपाल पनि पिँढीबाट बाहिर भाग्नुको साटो थाम समातेर बस्दा थामैसहित घर ढलेपछि उनको मृत्यु भएको थापाले बताए ।

भोटेचौरमा भेटिएका बेगप्रसाद चौलागाई दम्पत्ति आफू बाँचेको खुसी भन्दा थाम र खाटको साहारा लिँदा मृत्युवरण गरेका आफन्त सम्झेर अहिले पनि थक्थकाउँदै छन् । ‘खाटमुनि लुक्नुपर्छ भन्ने शिक्षा नै हाम्रा धेरै मान्छेको काल बन्यो’ त्यहाँका बाँचेका स्थानीयको मुखमा यही शब्द झुण्डिएको छ अहिले ।

source:onlinekhabar