नेपाली सेनाका २ नयाँ हेलिकोप्टरबाट सेवा सुरु विशिष्ट व्यक्तिहरुलाई लिएर धादिङ भ्रमणमा

0 7

७ असार, काठमाडौं । नेपाली सेनाले रुसबाट खरिद गरी ल्याएका दुई नयाँ हेलिकोप्टर आजबाट प्रयोगमा आएका छन् । दुवै हेलिकोप्टरहरु सोमबार भूकम्पबाट प्रभावित धादिङको झारलाङमा राहत सामाग्री वितरणमा परिचालन गरिएको छ ।

 

यसअघि प्रधानमन्त्री सुशील कोइरालाले प्रधानसेनापति गौरव शम्शेर जबराको उपस्थितिमा सोमबार विहान विधिवत रुपमा सेवा शुभारम्भ गरेका थिए । ति हेलिकोप्टरहरुको कल साईन एनए ०५६ र एनए ०५७ राखिएको छ ।

सोमबार सेवा शुभारम्भ कार्यक्रममा उपप्रधानमन्त्री बामदेव गौतम, उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायत अर्थमन्त्री, संचारमन्त्री, परराष्ट्रमन्त्री, पर्यटन मन्त्री, नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी तथा नेपालका लागि रुसी राजदूत लगायतको सहभागिता थियो ।

यस्ता छन् विशेषता

०६९ फागुन १४ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार नेपाली सेनाले २ थान ‘एमआई-१७ भी-५’ हेलिकप्टर रुसबाट खरिद गरी नेपाल ल्याएको थियो ।

army1

सेवा सुभारम्भ कार्यक्रममा सहभागीहरुलाई सैनिक हवाइ महानिर्देशनालयका प्रमुख उपरथी शतिस विक्रम शाहले हेलिकोप्टरको क्षमता र विशेषताबारे जानकारी गराएका थिए ।
नयाँ हेलिकोप्टरहरु हाल नेपाली सेनाले प्रयोगमा ल्याइरहेको सोही प्रकृतिको हेलिकप्टरहरुभन्दा तुलनात्मकरुपमा केही भिन्न र आधुनिकरुपमा परिमार्जित गरिएको नेपाली सेनाले जनाएको छ ।

६ हजार मिटरसम्मको उचाईमा सहजरुपमा उडान गर्न मिल्ने यो हेलिकोप्टर ४ हजार किलो वा २६ जना यात्रु बोक्नसक्ने क्षमताको छ । २ हजार उडान घण्टा भएको, नाइटभिजन विशेषता र ककपीटको लेआउटलाई मोडिफाइ गरी पाइलट फ्रेण्डली बनाइएको छ ।

साईडमा एउटा ढोका थप गरिएको र पछाडिको र्‍याम्प डोर विगतमा म्यानुअल भएकोमा ककपिटबाटै खोल्न र बन्द गर्न मिल्ने खालको छ ।

source:onlinekhabar