अब्बल छन् सामुदायिक विद्यालय पनि, भावना र मनोजको ९३ प्रतिशतभन्दा बढी अंक

0 6

७ असार, बुटवल । मणिग्रामको शान्ति नमुना मावि कुनै बेला साँच्चिकै नमुना थियो। विद्यार्थीको चाप र पठनपाठनले कहलिएको यो विद्यालयमा समय बित्दै जाँदा विद्यार्थी घट्दै गए र रौनक पनि हराउँदै गयो। २०६६ मा आइपुग्दा विद्यार्थी चानचुन ४ सय मात्रै भए। नमुना विद्यालयको चमक नै हराएपछि जागरुक शिक्षक–शिक्षिकाले अब गर्ने भनेर छलफल थाले। पटक–पटकको छलफलले निष्कर्ष निस्क्यो– विद्यार्थी आकर्षित गर्न अंग्रेजी माध्यम चलाउने, शिक्षकले छोराछोरी यहीँ पढाउने र समग्र व्यवस्थापन सुधार गर्दै अघि बढ्ने।

विद्यालयले शैक्षिक सुधार थालेको पाँच वर्ष पुग्दा विद्यालय फेरि नमुना बन्न सफल भएको छ। विद्यार्थीको चाप थेग्न नसकेर विद्यालयले निर्धारित मितिअघि नै भर्ना बन्दको सूचना निकाल्नुपर्छ।

यो विद्यालयमा अहिले १ हजार ६ सय विद्यार्थी छन्। एसएलसीमा यो सामुदायिक विद्यालयले यहाँका नाम चलेका बोर्डिङ स्कुलसँग टक्कर दिँदै राम्रो नतिजा ल्याउन सफल भएको छ। यहीँ स्कुलकी भावना अर्यालले ९३ दशमलव ८७ प्रतिशत अंक ल्याएर यस वर्षको एसएलसीमा सामुदायिकतर्फ प्रथम भएको नागरिकमा खबर छ ।

भावनासँगै एसएलसी दिएका यहाका १ सय ९१ विद्यार्थीमध्ये ४९ विशिष्ट र ९१ प्रथमसहित १ सय ५८ जना पास भए। विशिष्ट श्रेणीमा पास भएकामध्ये ११ विद्यार्थीको अंक ९० प्रतिशतभन्दा बढी छ।

‘शैक्षिक सुधार अभियानमा हामीले अभिभावकलाई साथ लिएर अघि बढ्यौं, सिंगो समाजलाई विश्वास दिन सक्यौं,’ विद्यालयका सहप्राचार्य कुलप्रसाद लामिछानेले भने, ‘समाजमा विश्वास दिन सकेकैले बोर्डिङ स्कुल छाडेर विद्यार्थी धमाधम यहाँ आइरहेका छन् ।’ सबै शिक्षकले आफ्ना छोराछोरी अनिवार्य यहीँ विद्यालय भर्ना गरेका छन्।

कुनै बेलाको प्रतिष्ठित बुटवलको कान्ति उच्च माविले पनि बोर्डिङ स्कुलमा छोराछोरी पढाउने लहर चलेपछि साख बचाउन सकेन। यहाँ पनि २०६७ सालदेखि शैक्षिक सुधार कार्यक्रम सुरु भयो। अंग्रेजी माध्यममा पठनपाठन, शैक्षिक क्यालेन्डरअनुसार पठनपाठन र विद्यालयका अन्य गतिविधि सञ्चालन भएपछि विद्यालयको गुमेको साख फर्केको प्राचार्य गोविन्द ज्ञवालीले बताए। यो वर्षको एसएलसीमा मनोज भण्डारीले ९३ दशमलव ५० प्रतिशत अंक ल्याए। विद्यालयबाट एसएलसी दिएका १ सय २९ जनामध्ये ४७ जना विशिष्ट, ५७ प्रथम र १६ जना दोसो श्रेणीमा गरी १ सय २० जना पास भए।

केही वर्षदेखि शैक्षिक सुधार गरेर यहाँका बोर्डिङ स्कुललाई टक्कर दिइरहेको कालिका उच्च माविको नतिजा पनि लोभलाग्दो छ। १ सय २७ विद्यार्थीले परीक्षा दिएकोमा १२ विशिष्ट, ८४ प्रथम, २२ जना दोसो श्रेणीमा सहित १ सय १८ जना विद्यार्थी पास भए। छात्रा गायत्री घर्तीले ९० दशमलव ६३ प्रतिशत ल्याइन्।