ज्ञानचक्षुका सबै दृष्टिविहीन प्रथम श्रेणीमा

0 16
धरान : ज्ञानचक्षु विद्यालयबाट प्रवेशिका परीक्षा दिएका नौजना दृष्टिविहीन प्रथम श्रेणीमा उत्तीर्ण भएका छन्।
परीक्षा दिएका सबै विद्यार्थी प्रथम श्रेणीमा पास भएपछि विद्यालयमा खुसी छाएको छ। नौजना दृष्टिविहीनले परीक्षा दिएकोमा सबै प्रथम श्रेणीमा उत्तीर्ण भएपछि ज्ञानचक्षु सामुदायिक विद्यालयतर्फ उदाहरणीय बनेको छ।

ब्रेल लिपिमा पढेका दृष्टिविहीनहरूले परीक्षा भने सहयोगी राखेर दिएका थिए।

७७ प्रतिशत अंक प्राप्त गरेका सिरहा घर भएका दृष्टिविहीन रमेश साहले भने, ‘ब्रेल लिपिमा पढे पनि परीक्षा आफैंले दिन पाइएन, नत्र योभन्दा धेरै राम्रो अंक ल्याउने थिएँ।’
पूर्वाञ्चल ज्ञानचक्षुबाट परीक्षा दिएका दृष्टिविहीनहरू रमेशले ७७ प्रतिशत, सुजता लिम्बूले ७१.३७ प्रतिशत, सुवास लिम्बू, मुना भट्टराई र कविता श्रेष्ठले ६८.६२ प्रतिशत, शोभाकुमारी मेहता र कञ्चनकुमारी चौधरीले ६७ प्रतिशत, जयनारायण ठाकुरले ६६.६२ प्रतिशत, रीता लिम्बूले ६५.३८ प्रतिशत अंक ल्याएका छन्।
रमेशले एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण त गरे तर उनको घरको आर्थिक अवस्था भने कमजोर छ।
यसले गर्दा उच्च शिक्षा हासिल गर्न आर्थिक संकट हुने रमेश बताउँछन्। उनका पिता पनि दृष्टिविहीन हुन्। ‘बा पनि आँखा देख्नुहुन्न।
एउटी दिदी पनि दृष्टिविहीन हुनुहन्छ’, उनले भने, ‘कोही दाताले मलाई उच्चशिक्षा पढ्न आर्थिक सहयोग गरिदिए राम्ररी पढेर देशका लागि केही गर्ने सोच छ।’
रमेशले आफूलाई आर्थिक सहयोग कतैबाट भए अंग्रेजी विषयमा स्नातकोत्तरसम्मको अध्ययन गर्ने र निजामती कर्मचारी भएर देशको सोवा गर्ने लक्ष्य लिएको बताए। उनले दृष्टिविहीनहरूका लागि अध्ययन गर्ने छुट्टै कलेजको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।

धरानस्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका नौजना दृष्टिविहीन विद्यार्थीका साथ प्रधानाध्यापक केशरी थापा।तस्बिर : अन्नपूर्ण
अर्का दृष्टिविहीन सुवास लिम्बूले पनि आर्थिक अभावका कारण उच्चशिक्षा पढ्ने सपना अधुरै हुने हो कि भन्ने चिन्ताले सताएको बताए।
‘आमा सानैमा मर्नुभो, कान्छी आमा ल्याएपछि बाबुले मलाई जंगलमा छाड्नुभएको थियो’, ताप्लेजुङ घर भएका उनले विगत सम्झँदै भने, ‘छिमेकी काकाको सहयोगमा धरान आएर पढ्न पाएँ।
मेरो घर भनेकै पूर्वाञ्चल ज्ञानचक्षु भयो। अब भने म कहाँ गएर पढ्ने होला?’ पिताको व्यवहार सम्झदा जन्मघर सम्झनसमेत मन नलाग्ने सुवासले बताए।
झापा घर भएकी दृष्टिविहीन मुनाले भनिन्, ‘अत्यन्तै खुसी लागेको छ।’ मुनाले शिक्षा संकायतर्फ अंग्रेजी विषयमा स्नातकोत्तरसम्म अध्ययन गरी शिक्षक बनेर आफूजस्तै दृष्टिविहीनहरूलाई शिक्षा दिने योजना बनाएको बताइन्।
प्रथम श्रेणीमा उत्तीर्ण दृष्टिविहीन सुजता र मुनाको आर्थिक अवस्था भने राम्रो छ। बाँकी सातजनाको आर्थिक अवस्था कमजोर भएको विद्यालयकी प्रअ केशरी थापाले बताइन्।
थापाले विद्यालयबाट शतप्रतिशत विद्यार्थी उत्तीर्ण भए पनि सोचेजस्तो अकं ल्याउन भने नसकेको बताइन्।
‘हामीले धेरै मिहिनेत गरेर शिक्षा दिएका थियौं’, उनले भनिन्, ‘कतिपय निजी विद्यालयले राम्रो नतिजा निकाल्न नसकको अवस्थामा हाम्रा दृष्टिविहीन विद्यार्थीले प्रथम श्रेणीमा उत्तीर्ण गरेकोमा विद्यालय परिवार हर्षित छ।
उनले एसएलसी पास दृष्टिविहीन विद्यार्थीलाई भारतको चित्रकुटस्थित रामानन्दाचार्य युनिभर्सिटीमा छात्रवृत्तिमा अध्ययन गराउन पहल गर्ने पनि बताइन्।

– See more at: http://www.annapurnapost.com/News.aspx/story/13708#sthash.QC9rrHoP.dpuf