सरकारले हडपेको प्रेरणाको दाइजो सर्वोच्चले फिर्ता गरिदियो

0 13
ज्ञानेन्द्रकी छोरी प्रेरणाले मुद्दा जितिन्, दाइजोको सरकारले लिन नपाउने 
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी पूर्वअधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी सिंहलाई उनका पिता पूर्वराजा ज्ञानेन्द्र शाहले दाइजो बकस दिएको घर जग्गा सरकारी ट्रस्टबाट फिर्ता पाउने फैसला सर्वोच्च अदालतले गरेको छ।
सर्वोच्च अदालतले ज्ञानेन्द्रले बकस दिएको दाइजो ट्रष्ष्टमा राख्ने सरकारको निर्णयलाई आइतबार बदर गरिदिएको छ।छाउनीस्थित कित्ता नं २५ को घरसहितको १५ रोपनी एक आना जमिन अब प्रेरणाकै नाममा आउने भएको छ।
प्रधान न्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रशम्शेर जबराको संयुक्त इजलासले भनेको छ, “तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६२ जेठ १० मा सो सम्पत्ति आफ्नी छोरी सिंहलाई दाइजोस्वरुप बकस दिइ निजको अध्यावधिक भोगचलनमा रहेकामा सम्बन्धित व्यक्तिसँग बुझ्दै नबुझी र प्रतिवादको मौकासमेत नदिइ २०६४ पुस १ गते र त्यसपछिका निर्णय कारबाही त्रुटीपूर्ण हुँदा ती निर्णय उत्प्रेषणको आदेशबाट बदर हुन्छ ।”
दाइजोमाथि कसैले प्रश्न उठाउन नसक्ने दाबीसहित प्रेरणाले गत माघ २५ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। प्रेरणा पूर्व राजा ज्ञानेन्द्रकी एक मात्र छोरी हुन्। उनले एकलौटी हक भोग हुने गरी दाईजो दिएको व्यहोरा उल्लेख गर्दै तत्कालिन श्री ५ महाराजधिराजका प्रमुख राजदरबार पदाधिकारीले २०६२ साल जेठ १० गते राजकिय सम्पत्ति कोष विभाग, राजदरवार तथा ढुकुटी विभाग (राजदरबार) लाई लेखेको पत्रससहितका कागज प्रमाणसमेत रिटसँगै पेश गरेकी थिइन्।
आफुलाई बुझ्दै नबुझी प्राकृतिक न्यायको सिद्धान्त विपरित हुने गरी ट्रस्टमा ल्याउने निर्णय भएकाले बदर गर्न उनको माग थियो। सरकारले नेपाल ट्रस्ट अध्यादेश, २०६४ अनुरुप उक्त जग्गा ट्रस्टमा राखेको हो।
आफ्नो विवाह हुँदा र दाइजो लिंदा तत्काल जारी रहेको नेपाल अधिराज्यको संविधान २०४७ को धारा ३० र ३१ अनुसार दाईजो बक्स पत्र सम्वन्धमा कुनै प्रश्न उठाउन नपाइने उल्लेख रहेको जिकिरसमेत उनले गरेकी थिइन्। अन्तरिम संविधान र अध्यादेश लागु हुनु भन्दा अघि नै आफ्नो हक भोग स्थापित भइसकेको दाबी प्रेरणाको थियो।
प्रेरणाको विवाह २०६९ माघ १० गते राजबहादुर सिंहसँग भएको थियो। विवाह हुँदा आफ्ना बाबुले घरसहित काठमाडौं छाउनीको १५ रोपनी १ आना जग्गा दाइजो बक्स दिए पनि सरकारले जबर्जस्ती ट्रस्टमा राखेको दाबी उनको थियो। कित्ता नम्बर २५ को उक्त जग्गा काठमाडौं महानगरपालिकाको वडा नम्बर १३ (छाउनी) मा रहेको छ। अर्बौं रुपैयाँ पर्ने उक्त जग्गाको क्षेत्रफल ०७६६४.६० बर्गमीटर छ।
सरकारले निर्णय कार्यान्वयन गर्न भन्दै ट्रस्टको नाममा बनाउन २०६४ पुस १ गते मालपोत कार्यालय कलंकीलाई परिपत्र गरेको थियो। प्रेरणाका कानुनव्यवसायीले वहशकाक्रममा विधिवत प्राप्त गरेको दाइजोको सम्पत्ति अपहरित हुन नसक्ने जिकिर गरेका थिए।

वहसमा मुलुकी ऐन स्त्री अंश धनको ४ र ५ नम्वरको कानुनी व्यवस्था अनुसार स्वास्नी मानिसलाई माईती मावली पट्टीका नातेदार इष्ट मित्रले दिएको चल अचल र त्यसबाट बढेबढाएको सम्पत्ति दाईजो हुने र त्यस्तो दाईजोको सम्पत्ति पाउनेले आफु खुश गर्न पाउने हक सुरक्षित रहेको तर्क कानुनव्यवसायीले गरे।

उक्त घर जग्गा तत्कालिन राजा विरेन्द्र शाह, रानी ऐश्वर्य, छोराहरु दिपेन्द्र र निराजन कसैको नाममा नरहेको दाबी पनि प्रेरणाको थियो। उक्त जग्गा ‘श्री ५ महाराजधिराज’ नारायणहिटी राजदरवारको नाममा श्रेस्ता कायम रहेको छ।