छिमेकका अग्‍ला घरले डेरामा बास

0 5
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठको राजधानीको सानेपास्थित घर सामान्य चर्केकोसम्म छैन।
तर पनि उनी कोठा भाडामा लिएर बस्दै आएका छन्। आफ्नो घर मजबुत भएर पनि उनी डेरामा बस्नुको कारण हो,नजिकैको अग्लो घर।
उनको घरसँगै साततल्ले अग्लो घर छ। ‘छिमेकीले तीन तल्ला घरको नक्सा पास गरेर सात तल्लाका बनाएका छन्।
त्यही घरको डरले आफ्नो घर हुँदाहुँदै म डेरामा बस्न बाध्य भएको हुँ’, सभापति श्रेष्ठले डेरामा बस्नुको कारणबारे भने,’म जस्ता भूकम्पपीडितको समस्या सरकारले बुझ्नुपर्छ।’
राजधानीको कालिकास्थानमा बनाइएको १९ तल्ले सिल्भरसिटी लक्जरियस अपार्टमेन्टसँगै घर भएकी राधिका श्रेष्ठको पीडा पनि उस्तै छ।
आफ्नो तीनतल्ले घर केही नभए पनि जोडिएर बसेको १९ तल्लाको अपार्टमेन्ट चर्केको देख्दैमा उनलाई डर लाग्छ।
उनले भनिन् ‘अरु ठाउँमा पनि घर भएकाहरू त सबै सरे तर हामीजस्ता विक ल्प नभएका भने डर मानीमानी घरमै बस्न बाध्य छौं।’
अपार्टमेन्टका यसको आसपासका उपत्यकाको विभिन्न स्थानका एक सयभन्दा बढी घरपरिवार चिन्तामा छन्।
सरकारसँग तीन तल्लाभन्दा बढीका आरसीसी ढलानका घर भत्काउन स्काभेटर पर्याप्त नहुँदा भूकम्पले क्षति पु:याएर बस्न नमिल्ने घरसमेत भत्काउन सकिएको छैन।
यस्तो पीडा विशेष गरेर नगरपालिका क्षेत्रभित्र बनेका अग्लाअग्ला गगनचुम्वी संयुक्त आवास भवन (अपार्टमेन्ट) आसपास घर भएकाको छ।
काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिकालगायत घनाबस्तीभित्र ५० वटाको हाराहारीमा यस्ता अपार्टमेन्ट बनेका छन्।
अधिकांश अपार्टमेन्ट अहिलेसम्म घनाबस्तीमै बढी छन्।
 यिनको न्यूनतम उचाई नै १० तल्लाको छ। काठमाडौंमा हालसम्म सबैभन्दा बढी २३ तल्लासम्म उचाइका अपार्टमेन्ट निर्माण भइरहेको छन्।
त्यसो त अग्ला घरका कारण आफूहरूको उठीबास भएको भन्दै उजुरी नपरेको होइन।
पीडितले काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी समक्ष अग्ला घर भत्काउन माग गर्दै निवेदनसमेत दिएका छन्।
संगठित भएर पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्।
ललितपुरका प्रमुख जिल्ला अधिकारी यादव कोइराला नक्सा पास गरेर बनाइएका अग्ला घर वा अपार्टमेन्टमाथि कारबाही चलाउन नसकिने बताउँछन्।
बरू चर्के वा भत्केर खतरा छ भने त्यस्तो घर वा अपार्टमेन्टलाई रिट्रोफिटिङ (सवलीकरण) गराउन सकिने उनको भनाइ छ।
‘नक्सा पास नगरी र मापदण्ड पूरा नगरी बनाइएकालाई मात्रै कारबाही गर्न सक्छौं’, प्रजिअ कोइरालाले भने, ‘तर अग्ला घरका कारण आफूहरू पीडामा परेको गुनासो लिएर जिल्ला प्रशासनमा आउनेहरू थुप्रै छन्।’
भूकम्पका कारण भत्काउनुपर्ने गरी क्षति भएका घर अझैसम्म भत्काउन नसकिँदा यो समस्या जताततै तड्कारो बनेको छ।
विशेष गरेर अति व्यस्त सडक आसपासका घरसमेत अहिलेसम्म भत्काउन नसकिँदा आसपासका बासिन्दा मात्रै होइन, सडकमा हिड्ने बटुवासमेत प्रभावित हुँदै आएका छन्।
सरकारसँग तीन तल्लाभन्दा बढीका आरसीसी ढलानका घर भत्काउने स्काभेटर पर्याप्त नहुँदा भूकम्पले क्षति पुर्‍याएर बस्न नमिल्ने घरसमेत भत्काउन सकिएको छैन।
सर्वसाधारणलाई भाडामा बस्ने र किन्ने घर खोजिदिने काम गर्दै आएकाको संगठन घरजग्गा एजेन्ट संघका अध्यक्ष ईश्वरप्रसाद खरेल भूकम्पपछि ठूला घरका वरपर मानिस बस्न नमान्ने बताउँछन्।

– See more at: http://annapurnapost.com/News.aspx/story/13699#sthash.zKLb1BlT.dpuf