दाता सम्मेलनमा चीन र भारतका विदेशमन्त्री आउने

0 9
काठमाडौं : अगामी बिहीबार काठमाडौंमा हुने दाता सम्मेलनमा दुई छिमेकी मुलुक चीन र भारतबाट परराष्ट्रमन्त्री स्तरको सहभागिता हुने भएको छ।
सरकारले सम्मेलनमा चीन र भारतबाट प्रधानमन्त्रीको सहभागिताको अपेक्षा गरेको थियो।
चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुष्मा स्वराज दाता सम्मेलनमा सहभागी हुने जानकारी प्राप्त भएको अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख मधु मरासिनीले बताए। ‘छिमेकी देशबाट विदेशमन्त्री आउने जानकारी पाएका छौं’, उनले भने।
चिनियाँ विदेशमन्त्री नेपाल आउने शुक्रबार अपराह्न निश्चित भएको हो।
प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई सम्मेलनमा आउन निमन्त्रणा पठाएका थिए।
मोदीको निमन्त्रणा बोकेर अर्थमन्त्री डा. रामशरण महत भारत गएका थिए।
चिनियाँ पक्षले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण नेपाल भ्रमण सम्भव नरहेको जानकारी गराएपछि परराष्ट्रमन्त्री पाण्डे चीन गएनन्। चीन नगएको भन्दै प्रधानमन्त्री कोइराला मन्त्री पाण्डेसँग रुष्ट छन्।
१५ विशिष्ट प्रतिनिधि निश्चित
भूकम्पपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले सरकारले आयोजना गर्न लागेको सम्मेलनमा नर्वेका विदेशमन्त्री बर्ग ब्रेन्डे, श्रीलंकाका विपद् व्यवस्थापनमन्त्री एएचएम फोजी, भुटानका अर्थमन्त्री ल्योन्पो नाम्गे दोर्जी र जापानका विदेश राज्यमन्त्री मिनोरु किओची आउने निश्चित भएको छ।
भारतका विदेशमन्त्री स्वराज सम्मेलनको अघिल्लो दिन ९ गते विशेष विमानबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी सम्मेलन सकेर बिहीबारै स्वदेश फर्किनेछिन्।
चिनियाँ विदेशमन्त्री वाङ पनि सोही दिन काठमाडौं आइपुग्नेछन्। त्यस्तै नर्वेका विदेशमन्त्री, जापानका विदेश राज्यमन्त्री पनि सोही दिन काठमाडौं आइपुग्नेछन्। श्रीलंकाली विपद्मन्त्री ८ गते काठमाडौं उत्रनेछन्।
परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा इजरायलका अन्तर्राष्ट्रिय विकास सहायता संस्थाका प्रमुख जिल हास्केल, युरोपेली विकास सहायता हेर्ने कमिसनर नेभेन मिमिका, अन्तर्राष्ट्रिय आप्रवासी संगठनका एन्ड्र्यु रोबर्ट ब्रुस, विश्व स्वास्थ्य संगठनका दक्षिण पूर्वएसिया क्षेत्रीय निर्देशक पुनम क्षेत्रपाल सिंह, एसियाली विकास बैंकका अध्यक्ष ताकेहिको नाकाओ, बेलायती अन्तर्राष्ट्रिय विकास संस्थाका एसिया निर्देशक बेर्भेली वार्मिङटन र अन्तर्राष्ट्रिय रेडक्रसका ताडातेरु कानोई सहभागी हुने निश्चित भएको छ।
त्यसैगरी जापान अन्तर्राष्ट्रिय विकास संस्था जाइकाका अध्यक्ष अकिमको तानाका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका सहायक प्रशासक हाओलियाङ सु, राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्य र विश्व खाद्य कार्यक्रमका उपनिर्देशक डेनियेल डोनाटी आउने निश्चित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
हालसम्म विभिन्न मुलुकबाट गरी एक सयजनाको सहभागिता निश्चित भएको छ।
‘विभिन्न देशबाट सहभागिता हुने प्रतिनिधिमण्डलको जानकारी आइरहेको छ’, सहसचिव मरासिनीले भने।
सम्मेलनमा सहभागी हुन आउने विदेशी प्रतिनिधिलाई सम्मेलनको अघिल्लो दिन साँखुलगायत क्षेत्र ‘फिल्ड भिजिट’ गराइने अर्थ मन्त्रालयले जनाएको छ।
उनीहरूलाई गोकर्ण रिसोर्टमा लन्च गराइनेछ। १० गते होटेल सोल्टीमा हुने सम्मेलनमा सहभागी सबै देशका एकएकजना प्रतिनिधिलाई बोल्न दिइनेछ।
एकदिने सम्मेलन उद्घाटन प्रधानमन्त्री कोइरालाले गर्नेछन्। वैशाख १२ को महाभूकम्पका कारण ७ खर्बको क्षति भएको राष्ट्रिय योजना आयोगले जनाएको छ।
सरकारले सम्मेलनका क्रममा दाताबाट नेपालको पुनर्निर्माणका लागि सघाउने प्रतिबद्धता आउने अपेक्षा लिएको छ।
सरकारले दातृ मुलुक, राष्ट्रसंघीय एजेन्सी, बहुपक्षीय दातृ निकाय तथा द्विपक्षीय सम्बन्ध भएका मुलुक गरी ६५ जना प्रतिनिधिलाई आमन्त्रण गरेको छ।