हँसाउनु भाषाको खेल

0 10
प्यारोडी गायनमा चिनिएको नाम हो, राजा राजेन्द्र। पाँचथरमा जन्मिएर झापामा हुर्किएका उनी १४ वर्ष अघिदेखि काठमाडौंमा संघर्षरत छन्।
एसएलसी सकेर कलेज पढ्न काठमाडौं आएका उनले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन्।
विद्यार्थी जीवनमा जनआन्दोलनका बेला पूर्वराजा ज्ञानेन्द्रको हुबहु नक्कल गरेपछि राजेन्द्र पोखरेललाई साथीहरूले राजा राजेन्द्र उपनाम दिए।
 उनै हास्यकलाकार राजा राजेन्द्रसँग विनीता मरहट्टाले गरेको कुराकानी :
हिजोआज के गर्दै?
भूकम्पपीडितलाई हास्यथेरापी गर्दैछु।
कसरी हास्यकलाकार बन्नुभयो?
एसएलसीपछि विज्ञान पढ्ने रहर थियो। ७६ प्रतिशत त आयो तर ऐच्छिक गणितमा ५१ अंकमात्र आएपछि जोडघटाउ गर्नुपर्ने विषय पढ्दिनँ भनेर रत्नराज्य क्याम्पसमा अंग्रेजी, पत्रकारिता र राजनीतिशास्त्र लिएर पढ्न थालेँ।
विद्यालयदेखि नै प्यारोडी गाउने, मञ्चमा कार्यक्रम सञ्चालन र अतिरिक्त क्रियाकलापमा अगाडि थिएँ। क्याम्पसमा पनि कार्यक्रम गर्दागर्दै हास्यकलाकार पो बनेँ।
सानो छँदा के बन्ने लक्ष्य थियो?
पढाइमा राम्रो थिएँ। जे देख्यो त्यही बन्न मन लाग्थ्यो। डाक्टर, पाइलट, नेता सबै बन्न मन लाग्थ्यो।
परिवारको सहयोग?
मैले छाडा व्यंग्य कहिल्यै गरिनँ। परिवारले नाक खुम्च्याउनु परेन। त्यसैले असहयोग छैन।
निकै चंखो स्वभावको देखिनुहुन्छ नि?
पाँचथर, झापा र काठमाडौंको पानी मिसिएर हो कि।
हाँसोलाग्दो टुक्का कसरी आउँछ?
अध्ययन गर्नुपर्छ। हँसाउनु भाषाको खेल हो।
मन पर्ने आफ्नो बानी?
हेर्दा घमन्डीजस्तो देखिन्छु तर त्यस्तो छैन। जिद्दी गर्दिनँ। अहिलेसम्म कसैलाई ठगेको छैन।
नराम्रो बानी?
अलि अस्थिर छु। मौकाको फाइदा उठाउन सक्दिनँ। नाइँ भन्न सक्दिनँ। सबैको मन राख्न खोज्दा कहिलेकाहीँ कसैको पनि मन नरहँदो रैछ।
घरमा श्रीमती रिसाउँदा कसरी फकाउनुहुन्छ?
त्यस्तो बेला व्यंग्य गर्न मिल्दैन। तर्क दिएर सम्झाउँछु। प्रतिभाको हिसाबले आफूलाई भाग्यमानी मान्छु। मेरो कन्भिन्सिङ पावर राम्रो छ।
भाग्यमा विश्वास लाग्छ?
भाग्य भनेकै संयोग हो। भाग्यमानी भएरै अहिलेसम्म राम्रो भइरहेको होला।

फ्यान फलोइङ कस्तो छ?
सामाजिक सञ्जालमा त्यति सक्रिय छैन। भेट्दा सबैले राम्रो भन्छन्। फोन आएर दिक्क हुने अवस्था पनि छैन।
कति बेला हाँसो लाग्छ?
एकपटक भक्तपुरमा कार्यक्रम गर्न जाँदा अगाडि दर्शकदीर्घामा बसेका एकजना भाइ साह्रै हँसिला रहेछन्।
मैले बोल्नुअगाडि नै उनी हाँस्न थाले। त्यस बेला मलाई बेस्सरी हाँस उठेकाले बोल्नै सकिनँ। पछि एकछिन उनलाई बाहिर पठाएर कार्यक्रम सुरु गरेँ।
चलचित्रका लागि प्रस्ताव आयो भने?
नृत्य र द्वन्द्व गर्नु नपर्ने चरित्रका लागि प्रस्ताव आयो भने त अभिनय गर्छु नि।
कस्तो कार्यक्रम गर्न मन लागेको छ?
रियालिटी बेसमा कमेडी सो गर्न मन छ।
कहिलेकाहीँ रुनुभएको छ?
आँसु झर्छ कहिलेकाहीँ। रुँदा एक्लै बसेर रुन्छु।
मन पर्ने हास्य कलाकार?
मनोज गजुरेल।
हास्यव्यंग्य क्षेत्रको भविष्य?
विश्वभर हास्यव्यंग्य चलिरहेको छ। भविष्य राम्रो छ।
हास्यव्यंग्यबाहेक अन्य रुचि?
गीत गाउँछु। गायक बन्ने रहर थियो। ललितकला क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह पास पनि गरेको हुँ।
गायक बन्न धेरै पैसा डुबाइसकेँ। अहिले पनि एउटा एल्बमको तयारीमा छु।

source:annapurnapost