ए हजुर ! घुम्न जाने हैन त चित्लाङ ? देवकोटाले चित्लाङमै लेखेका थिए यात्री कविता

0 20

६ असार, हेटौडा । मकवानपुरको चित्लाङ गाउँमा यतिबेला जहाँ हेर्‍यो, त्यहीँ हरियो देखिन्छ । तीनतिर सल्ला, कटुस र विविध बनस्पतीले भरिएका हरिया पहाड । मैदानी फाँटमा हरिया मकै, फर्सीका मुन्टा, धानका बिउ, घाँसे मैदान र नासपातीका बोट । बनै हरियो, मनै हरियो ।

मनसुन सुरु हुनैलाग्दा चन्द्रागिरी डाँडालाई कपासको थुप्रोजस्तो बादलले घेरीसकेको छ । हरिलो, भरीलो र झरीलो मौसममा मकवानपुरको रमणीय पर्यटकीय गाउँ चित्लाङ झन् आलोकित भएको छ, यतिबेला ।

7-chitlang-naspati-garden

नेपालमा महाभूकम्पका कारण पर्यटन क्षेत्रमा नकारात्मक असर परिरहेकै बेला चित्लाङमा भने आन्तरिक पर्यटकहरुको घुईंचो लाग्न थालेको छ । काठमाडौंबाट गाडीमा दुई घन्टामै पुग्न सकिने चित्लाङमा शुक्रवार र शनिवारको विदा मनाउन जानेहरुको चहल-पहल बढेको छ ।

शुक्रबार मात्र काठमाडौंबाट ५० जना स्वदेशी पर्यटकको लर्को आ-आफ्ना मोटरसाइकल हुइँकाउँदै साँझ पख चित्लाङ आइपुग्यो । उनीहरु चित्लाङ अग्र्यानिक भिलेज रिसोटमा न्यानो आतिथ्यता पाएर औधी रमाए । शनिबार अर्को समूह आउँदैछ । दिनहुँ काठमाडौंबाट पर्यटकहरु रमाइलोका लागि चित्लाङ आउन थालेका छन् ।

chitlang-
‘स्वदेशी पर्यटकको आकर्षण बढेको छ’, रिसोटका सञ्चालक देवेन्द्र नेपाल भन्छन् । ‘फादर अफ चित्लाङ टुरिज्म’का रुपमा प्रख्यात नेपालका अनुसार चित्लाङ भूकम्पीय दृष्टिले सुरक्षित छ । गत वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पनबाट चित्लाङमा मानवीय क्षती भएन । भौतिक क्षती पनि खासै भएन । पर्यटकीय दृष्टिले यो निकै सुन्दरर, शान्त, सुरक्षीत र सहृदयी गन्तब्य हो ।

धुलो, धुवाँ र भूकम्पको त्रासले गाँजेको काठमाडौंबाट उम्किएर केही दिन नजिकैको शान्त, सुरक्षित र रमणीय ठाउँमा जान चाहनुहुन्छ भने चित्ताकर्षक चित्लाङ नम्बर वान बिकल्प हो । काठमाडौबाट बसमा थानकोटसम्म पुगेपछि अग्लो चन्द्रागिरी डाँडो देखिन्छ ।

चन्द्रागिरी डाँडो छिचोल्न हाईकिङ गर्नेहरुलाई बढीमा तीन घण्टा लाग्छ । बस या जीपमा पनि जान सकिन्छ । हरियै जंगलको विचबाट नागबेली बाटो हुँदै त्यो डाँडो पार गर्नासाथ दक्षिणतिर देखिन्छ- समुद्र सतहबाट १७ सय मिटर उचाइमा रहेको रमणीय चित्लाङ गाउँ ।

8-chitlang-village

चित्लाङ पुगेपछि तपाईले देवेन्द्र नेपाललाई भेट्नैपर्छ । किनकि उनलाई भेटेपछि त्यहाँ जानुको मजा बेग्लै हुन्छ । चित्लाङको पर्यटकीय सम्भावनालाई पहिलो पटक उजागर गरेका हुन्, ३४ वर्षीय देबेन्द्र नेपालले । चित्लाङकै रैथाने देवेन्द्र एक दशकदेखि चित्लाङको पर्यटन प्रवर्धनमा लागेका छन् । उनले तिन वर्षअघि १८० रोपनी जमीन लिजमा लिएर अग्र्यानीक भिलेज रिसोर्ट सञ्चालनमा ल्याएपछि चित्लाङको पर्यटन सम्भावना बढेको हो ।

chitlang-organic-village-re

थानकोटदेखि चन्द्रागिरिको टुप्पोसम्म केवलकार सञ्चालन हुने भएपछि चित्लाङको पर्यटकीय सम्भावनाको त कुरै नगरौं, चुलिएको चुलियै छ । केवल कारको पूर्वाधार निर्माण धमाधम भइरहेको छ ।

गाउँमा पहिला स्वदेशमै नोकरी गर्ने वा वैदेशिक रोजगारीमा जाने भन्ने विकल्प मात्र थियो । देवेन्द्रले जोखीम मोलेर रिसोर्ट चलाएर देखाए । अब भने पर्यटनमा पनि प्रचुर सम्भावना छ भन्ने मान्यता गाउँलेमाझ स्थापित हुँदै गएकोमा देबेन्द्र दंग छन् । ‘कुनै पनि काममा लगनशीलता, दृढता र मेहनतका साथ लागेमा सफल भइन्छ भन्ने कुरा स्थापित भएको छ’, उनी भन्छन् ।

गाउँकै फलेको मकैको पीठोको हलुवा, तारेको आलु र अमलेट । रिसोर्टमा पुग्नासाथ पर्यटकलाई खाजा स्वरुप देवेन्द्रका सहयोगी सुरेन्द्र यही परिकार पस्कन्छन् । गाउँमै उत्पादीत ट्राउट माछा खाने की दूधालु बाख्राको चिज ? हाजिर छ । नासपातीको वाइनको त कुरै नगरौं । कुनै रसायन नहाली नासपातीको जुसलाई मात्र फर्मेसन गरी बनाइएको वाइनको चुस्की आफैंमा आनन्दको पर्याय बन्नपुग्छ ।

6.Bridge-over-lake

हरियै घाँसे चउर र नासपातीको घना बगैचाकै विचमा काठ, ढुंगा, माटो र टिनबाट बनाइएका स-साना कटेज देखिन्छन् । कटेज शानदार छ । फ्रि वाईफाई त हुने नै भयो । दुई रात बस्नेलाई लन्च फ्रि रातमा क्याम्प फायरको मजा ।

यो असारे गर्मीमा पनि चित्लाङमा साँझ परेपछि जाडो हुन्छ, पातलो ज्याकेट त लगाउनैपर्छ । देवेन्द्रको रिसोर्ट परिसरमा करीब तेह्र सय वटा नासपातीका बोट छन् । बोटमा नासपातीका चिचिला लागीसकेका छन् । नासपाती बगैचा आफैमा एउटा नमूना बनेको छ, चित्लाङमा ।

देवेन्द्रको सपना

पर्यटकीय विकासमार्फत चित्लाङलाई एउटा समृद्ध, साक्षर, आत्म निर्भर र नमुना गाउँ बनाउने देवेन्द्रको सपना छ । हेर्दा भुटानको पारो भ्याली झैं देखिने चित्लाङमा पनि भुटानकै पर्यटकीय शैली भित्रयाउन चाहन्छन्, उनी ।

‘भुटानमा पर्यटनको गुणस्तर उच्च छ । त्यहाँ सरकारले विदेशी पर्यटकलाई दिनमा एकसय असी डलर खर्च गर्नै पर्ने नियम बनाएको छ । पर्यटकलाई कम्तीमा थ्रीस्टार होटलमा राखिन्छ र कामदारले पनि डलरमा तलब पाउँछन् । चित्लाङ पनि त्यस्तै पर्यटकीय गन्तब्य होस् भन्ने मेरो सपना छ’, नेपाल भन्छन् ।

devendra-nepal-

गाउँमा सुविधा सम्पन्न अस्पताल र गुणस्तरीय स्कुल होस् भन्ने उनको सपना छ । कृषिमा आधारीत लघु उद्योग विकास गरेर गाउँको जागिरे समाजलाई उद्यमी समाजमा रुपान्तरण गर्ने उनको सपना छ । ‘गाउँको कृषि उत्पादनबाट गाउँमै उद्योग खुलोस् । गाउँमा फलेको आलुबाट गाउँमै आलु चिप्स उत्पादन होस् र गाउँमा उत्पादीत दुधबाट गाउँमै डेरी प्रडक्ट तयार होस् । अनि प्रविधि पनि स्थानीय होस् । किसान नै उद्यमी बनून् । यसो हुन सकेमा कृषकलाई नै फाइदा हुन्छ’, नेपाल भन्छन् ।

यसो हुन सकेमा गाउँ आत्मनिर्भर हुने र यसबाट पढेका मानिस विदेश वा शहर नगई गाउँमै बस्ने प्रवृत्तिको विकास हुने उनको विश्वास छ । ‘हामी उज्यालो सपना खोज्दै विदेशको गर्मीमा पसिना बगाउन जान्छौं, स्वदेशमै उज्यालोका मुहान पहिल्याउन सक्दैनौं’, नेपाल भन्छन्, ‘म पनि करिअर खोज्दै विदेश गएको भए चित्लाङको पर्यटकीय संभावना जाग्ने थिएन होला । गाउँमा परिवर्तनका लागि कुनै न कुनै पुस्ताले जोखीम त मोल्नैपर्थ्यो, मैले मोलें । अब मेरो छोरालाई विदेशिन पर्दैन । गाउँका अन्य तन्नेरी छोरालाई पनि गाउँमै संभावना छ है भन्ने तथ्य स्थापित भएको छ ।’

१० हजार जनसंख्या भएको चित्लाङको उत्तरतर्फ चन्द्रागिरी डाँडा र दक्षिणतिर महाभारत रेञ्ज छ । यो प्राचीन गाउँमा नेवार, बाहुन क्षेत्री र तामाङ जातीका मानिस बस्छन् । लिच्छवीकालदेखि नै काठमाडौंबाट तराईतर्फ लाग्ने यात्रुहरु चन्द्रागिरी डाँडो उक्लीएर चित्लाङ हुँदै जाने गर्थे । चित्लाङका बारेमा रोचक र ऐतिहासिक सन्दर्भ छन् । चित्लाङ राजा अंशु बर्माले गोठालाहरुलाई उपहारमा दिएको गाउँ हो ।

त्यति मात्र हैन, द्वापर युगमा सप्तऋषिहरुले नुहाउने सप्तश्री धारा पनि चित्लाङको सम्पदा हो । वि.सं ३ सय १६ मा सम्राट अशोकद्वारा निर्मित अशोक चैत्य पर्यटकको अर्को आकर्षण हो । त्यहाँको भालेबास डाँडोलाई भगवान शिव मानेर पुज्ने गरिन्छ । त्यो डाँडोमा हरेक फागु पूर्णिमामा मेला लाग्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले चित्लाङमै बसेर आफ्नो चर्चित ‘यात्री’ कविता लेखेका रहेछन् । लामो यात्राबाट थाकेर चित्लाङमा सुस्ताउँदा महाकविले पशुपतिनाथ दर्शनका लागि आएका भारतीय तिर्थ यात्रीलाई देखेछन् । अनि उनले चित्लाङमै बसेर ‘कुन मन्दिरमा जान्छौ यात्री’ भनेर लेखेका रहेछन् । चित्लाङका बासिन्दा यस्ता कथाहरु बडा रोचक पाराले सुनाउने गर्छन् ।

sourcce:onlinekhabar