डब्लूएफपीले हेपेर कुहिएको चामल पठाएको खुलासा

0 6

गोरखा : यहाँका प्रमुख दलका स्थानीय नेताले विश्व खाद्य कार्यक्रम( डब्लूएफपी)ले ‘माथिका मान्छेलाई यत्तिको चामल ठिक छ’ भनेर हेपेर कुहिएको चामल पठाएको आरोप लगाएका छन्।

विश्व खाद्य कार्यक्रमले सडेको चामल बाँडेको बारे अध्ययन गर्न शुक्रबार साँझ गोरखा आएको तीन सदस्यीय संसदीय टोलीले शनिबार जिल्ला दैवी प्रकोप उद्धार समितिसँगको बैठकमा काँग्रेस, एमाले, एमाओवादी, नेकपा-माओवादीका जिल्ला नेताहरूले यस्तो आरोप लगाएका हुन्।

बैठकमा राजनीतिक दलले विश्व खाद्य कार्यक्रमले दुर्गमका भूकम्प पीडितको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरी अखाद्य चामल बाँडेको बारे खेद व्यक्त गरेका थिए। (भूकम्पपीडितलाई विश्व खाद्य कार्यक्रमको सडेको चामल)

‘यसअघि गाउँ गाउँका चामल गुणस्तरहिन छ भन्ने उजुरी आयो’ नेकपा-एमालेका उपसचिव यादव बस्नेतले भने, ‘गत वैशाख २९ गते हामी मझुवाको डिपो निरीक्षण गर्न गयौं। मुठीमा मिच्दा पीठो हुने रहेछ। हामीले यस्तो चामल पठाउनु हुदैन भन्यौं। तर उनीहरूले गाउँका मान्छेलाई यत्तिको चामल ठिकै हुन्छ भने। त्यति बेलै हामीलाई गाउँको मान्छेलाई हेपेको भन्ने लागेको थियो।’

आफूहरू विदेश जाँदा धनी देशकाले खाने र गरिब देशकाले खाने भनेर विभेद नपाएको स्मरण गर्दै उनले खानेकुरा हेलचेक्र्याइँ गर्न नहुने सुझाए। यादवसँगै निरीक्षण गर्न कांग्रेस उपसभापति मोहन पोखरेल, एमाओवादीका दीपक तिमिल्सिना र नेकपा-माओवादीका परशुराम रम्तेल गएका थिए।

उपभोक्ताले गुनासो गरेपछि निरीक्षण र सुझाव दिन जाँदा उल्टै उनीहरूको हेपाइ सुनेर फर्केको भन्दै संसदीय विशेष समितिसँगको बैठकमा एमाओवादीका दिपक तिमिल्सिनाले खेद ब्यक्त गरे। ‘त्यतिबेला हाम्रो सुझाव उनीहरूले वास्ता गरेनन्’ तिमिल्सिनाले भने, ‘अहिले सडेको चामल भेटिँदा त्यो बेलादेखि नै गुणस्तरहीन चामल दिइरहेका रहेछन् भन्ने पुष्टि भयो।’

जनताको स्वास्थ्यसँग खेलवाड गर्न नपाइने काँग्रेसका मोहन पोखरेलको भनाइ छ। ‘डब्लुएफपीका विदेशी र नेपाली दुवै प्रतिनिधिसँग हामीले गाउँगाउँबाट चामलको गुणस्तरबारे उजुरी आएको सुनाउँदा उनीहरूले विपद्मा परेका बेला किन चाहियो राम्रो चामल भनेर उल्टै कराएका थिए’ पोखरेलले आक्रोश पोखे, ‘विपत्मा परेको भन्दैमा जस्तो पायो, त्यस्तै खुवाउन हुन्छ? उनीहरूको स्वास्थ्यमा खेलवाड गर्न पाइँदैन।’

संसदीय विशेष समितिका सदस्य उषा गुरुङले लाप्राक पुगेर विस्तृत अध्ययन गर्ने जनाइन्। विपद्मा परेकालाई सडेको चामल दिनु दुखद भएको उनको टिप्पणी छ। ‘सहयोग रोकिएला भन्ने डरले दाताले जे दिए पनि हात थाप्नु पर्छ भन्ने छैन’ उनले भनिन्, ‘हामी जस्तो देख्छौं, उस्तै संविधान सभामा पेश गर्नेछौं।’