विषाक्त मदिराले ८९ को ज्यान गयो

0 2
मुम्बई : भारतमा घरमै बनाइएको विषाक्त मदिरा सेवन गरी मर्ने व्यक्तिको संख्या शनिबार ८९ पुगेको मुम्बई प्रहरीले जानकारी दिएको छ।

भारतको पश्चिमी नगरका प्रहरी उपआयुक्त धनञ्जय कुलकर्णीले गैरकानुनी रूपमा बनेको मदिरा सेवन गरी मर्नेको संख्या सय नजिक पुगेको जानकारी दिए ।

उनले यसरी मर्ने व्यक्तिको संख्या ८९ पुगेको तथा २१ व्यक्तिको अस्पतालमा उपचार भइरहेको बताए। उनले मर्नेको संख्या अझै बढ्नसक्ने उल्लेख गरे।

गैरकानुनी रूपमा उत्पादन भएका मदिरा सेवन गरेर बुधबारदेखि मानिसहरू बिरामी पर्न थालेका हुन्। आइतबार पनि यस्ता बिरामी अस्पतालमा भर्ना भइरहेको प्रहरी उपआयुक्तले बताए।

नगरको उत्तरी भागमा अवस्थित मालाद वेस्टमा रहेको गरिब बस्तीमा यस्ता मदिरा बिक्री गरेको भनी पाँच व्यक्तिलाई पक्राउ गरिएको छ।

आफ्नो क्षेत्रमा यस प्रकारको मदिरा बिक्री गर्न दिएको र लापरवाही गरेको भनी आठ प्रहरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिइएको छ।

तैयर खानले आफ्ना श्रीमान्को मृत्यु भएको जानकारी दिइन्। उनले भनिन्, ‘सुरुमा उनलाई बान्ता आउन सुरु भयो र पेट दुख्न थाल्यो।’

त्यसको तीन घन्टापछि श्रीमान्को मृत्यु भएको उनले बताइन्। उनी बितेपछि आफ्नो बिजोग भएको उनले बिलौना गरिन्। उनले भनिन्, ‘उनी त बितिहाले तीनजना बालबच्चासँग मलाई आपत्ति आइलाग्यो।’

ती मदिरामा अधिक मात्रामा मेथानल रहेको छ कि छैन भनी अनुसन्धान भइरहेको छ। सन् २००४ मा पनि मुम्बईमा यस्तै प्रकारको घटना भएको थियो। त्यस समयमा एक सय व्यक्तिको मृत्यु भएको बताइएको छ।

जनवरी महिनामा उत्तर प्रदेशको लखनउमा यस्तै गैरकानुनी रूपमा उत्पादन भएको मदिरा सेवन गरी ३१ व्यक्तिको मृत्यु भएको थियो। सन् २०१३ को अक्टोबरमा उत्तर प्रदेशमा यस्तै मदिरा सेवन गरी तीन दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएपछि प्रहरीले १२ व्यक्तिलाई पक्राउ गरेको थियो।

सन् २०११ मा पश्चिम बंगालमा यस्तै मदिरा सेवन गरी एक सय ७० व्यक्तिको मृत्यु भएको थियो।