प्रहरीकै मिलेमतोमा एयरपोर्टबाट मानव तस्करी

0 5

६ असार, काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीकै मिलेमतोमा मानव तस्करी हुने गरेको खुलासा भएको छ । भारत हुँदै अवैध रुपमा विभिन्न मुलुक जान लागेका आठ युवायुवतीलाई शुक्रबार विमानस्थलभित्रैबाट पक्राउ गरिएको छ । तस्करहरुसँग मिलेको आरोपमा केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले एक प्रहरी जवानलाई पनि नियन्त्रणमा लिएको नयाँ पत्रिकामा खबर छ ।

भारत घुम्ने भन्दै जेट एयरबाट नयाँदिल्ली जान लागेका चार युवक र चार युवतीलाई प्रहरीले विमानस्थलभित्रबाट नियन्त्रणमा लिएको हो । उनीहरु सुरुमा नागरिकता देखाएर विमानस्थल गएका थिए, पछि एक प्रहरी जवानले उनीहरुको सामान छुटेको भन्दै उड्ने तयारीमा रहेको विमानमा एक झोला लगेर कर्मचारीलाई दिएका थिए ।

झोलामा पासपोर्ट देखेपछि एयरलाइन्सका कर्मचारीले सिनियर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले आठजनालाई विमानबाट झारेर नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा सेटिङका आधारमा प्रहरी जवान ठाकुरप्रसाद घिमिरेले पासपोर्ट रहेको झोला विमानमा लगेर जेट एयरका कर्मचारीलाई दिएको खुलेको छ । भारत जान नेपालीलाई पासपोर्ट चाहिँदैन । भारत जान लागेका व्यक्तिसँग अन्य देशको भिसा लागेको पासपोर्ट फेला पर्दा प्रहरीले रोक्नसक्ने भएकाले उनीहरु पासपोर्ट नलिई विमानमा गएका थिए ।