बाबुआमा फर्कने आशमा बाटो हेर्दै अञ्जली

0 4
भूकम्पको ५३ दिन बित्यो अभिभावकको पत्तो छैन
सल्यानटार (धादिङ) : भर्खर १३ वर्षकी भइन् उनी। तर उनका इच्छा र आवश्यकता हेर्न बाबुआमा छैनन्। सँगै खेल्ने सानो भाइ पनि छैन। परिवारमा बाँकी छन् त ७१ वर्षीय वृद्ध हजुरबुबा डिलबहादुर। एक्ली नातिनीको हेरचाह गर्ने जिम्मा अब उनकै काँधमा आएको छ।

सल्यानटार-४ की अञ्जली दराईको साथबाट वैशाख १२ गते विनाशकारी भूकम्पले एकैपटक खोसेर लग्यो बुबा चेतबहादुर दराई, आमा मसिनी र भाइ अनिललाई। दाउरा लिन घरनजिकैको वनमा गएका उनीहरूलाई भूकम्पसँगै झरेको पहिरोले पु:यो।

भूकम्प गएको ५३ दिन भइसक्दा पनि अञ्जलीले बाबुआमा र भाइको न सास फेला पार्न सकेकी छन्, न लास नै। उनलाई अझै पनि लाग्छ- कतै जंगल गएका बाबुआमा भाइलाई अघि लगाउँदै दाउराको भारी बोकेर फर्केलान् कि?

गाउँलेहरू उनलाई अब तिम्रा बाबुआमा फर्केर आउँदैनन् भन्छन्। गाउँलेका कुरा सुनुन्जेलसम्म अञ्जलीलाई पनि लाग्छ- अब बाबुआमा फर्किंदैनन्। बाबुआमाको ममता र भाइको स्नेह गुमाएकी अञ्जली भन्छिन्, ‘जब एक्लै हुन्छु फेरि बुवाआमा आउँछन् कि जस्तो लाग्छ।’ त्यसैले होला अञ्जली घरीघरी बाबुआमा जंगल गएको बाटो हेरेर टोलाइरहन्छिन्।

ठूलो मान्छे बन्ने सपना छ अञ्जलीको। अब कसरी पढ्ने भन्नेमा अनिश्चित छिन्। भाइ अघि लाउँदै स्कुल जाने अञ्जलीको साथमा अब न भाइ छ, न स्कुल पठाउने आमा।

अञ्जली भन्छिन्, ‘घरमा आमा हुँदा पो ट्याममा खाना दिनुहुन्थ्यो, बुबाले नपढे गाली गर्नुहुन्थ्यो। अब ट्याममा खाना दिने पनि कोही छैन, नपढ्दा गाली गर्ने पनि कोही छैन।’ डाँडामाथिको घाम भइसकेका हजुरबुबा र नातिनी एकअर्काका सहारा बनेका छन्।

गाउँकै जनज्योति निमाविमा कक्षा ७ मा पढ्छिन् अञ्जली। तर पढाइमा उनको मन लाग्दैन अचेल। उनी भन्छिन्, ‘स्कुल त जान्छु तर पहिलेजस्तो मन लगाएर पढ्न सकेकी छैन।’

अञ्जलीका चारजना काका छन् तर कसैले पनि अहिलेसम्म ‘लगेर पाल्छु’ भनेका छैनन्। सबैभन्दा मनपर्ने र माया गर्ने साहिँलो छोरासँग बस्दै आएका डिलबहादुर पनि अरू छोराको घरमा जान मान्दैनन्। आफैंलाई कसले स्याहारसुसार गर्ला भन्ने निश्चित नभएका डिलबहादुर अञ्जलीका बुबासँगै बस्दै आएका थिए।

अञ्जलीबाहेक साहिँलो छोराका सन्तान नै मासिएपछि अब कोसँग बस्ने भन्ने उनकै टुंगो छैन। मामाघरका हजुरबुबाले वृद्ध भए पनि बरु अञ्जलीलाई पाल्छु भनेका छन्। वृद्ध डिलबहादुर भन्छन्, ‘अञ्जलीलाई धेरै पढाउन पाए हुन्थ्यो, कसरी पढाउने हो आफैंलाई केही थाहा छैन।’ आफू मरेपछि अञ्जलीको के हाल होला भनेर उनी अझ चिन्तित छन्।

भूकम्प गएको दुई महिना हुनै लाग्दा स्थानीय समाजसेवी फणिकान्त छत्कुलीको पहलमा बेपत्ता भएका व्यक्तिको मृत्यु भइसकेको सर्जिमिन मुचुल्का बनाइदिएपछि अञ्जलीलाई जिल्ला प्रशासन कार्यालयले राहत दिएको छ। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राहत र किरियाखर्चबापत दुई लाख २० हजार रुपैयाँको चेक अञ्जलीलाई दिएका छन् जुन उनले १६ वर्ष नभई झिकेर खर्च गर्न पाउँदिनन्।

उनका हजुरबुबा भने उक्त रकम तत्काल झिकेर खर्च गर्न पाउने व्यवस्था मिलाइदिन अनुनय गर्छन्। छोराले लिएको एक लाख २४ हजार रूपैयाँ ऋण तिर्नुपर्ने आफ्नो दायित्व भएको उनी बताउँछन्।

भूकम्पले अञ्जलीका घरका तीनजना बेपत्ता मात्र पारेन, घर पनि पूर्ण क्षतिग्रस्त बनायो। भूकम्पबाट क्षतिग्रस्त घरको छेवैमा जसोतसो पानी ओत्ने टहरा बनाएर बसेका छन् हजुरबुबा र नातिनी।