एउटै विद्यालय १२ वर्षदेखि निल

0 12

नुवाकोट, असार ५– एसएलसी परिक्षामा सामान्य सामुदायिक विद्यालयहरुबीच पनि धेरै नतिजा हात पार्ने प्रतिष्पर्धा चलिरहँदा नुवाकोटमा एक विद्यालयको नतिजा भने १२ वर्षदेखि शुन्य नै छ । नुवाकोट, रसुवा र धादिङ जिल्लाकै एकमात्र संस्कृत विषयको पठनपाठन हुने देविघाटको शहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयले १२ वर्षसम्मको अवधिमा एकजना पनि विद्यार्थीलाई एसएलसीमा पास गराउन नसकेको हो । ‘अन्यत्र विद्यालयमा कक्षा उक्लनसमेत नसकेका विद्यार्थी मात्रै यहाँ आउँछन्, विद्यालयको वास्तविकता दर्शाउँदै विद्यालयका प्रधानाध्यापक हेमप्रसाद अधिकारीले भने, ‘निर्धक्कसँग घुम्न, खेल्न पाइन्छ । नपढे पनि पास भइन्छ भन्ने सोच भएकाहरु यो विद्यालयका विद्यार्थीहरु हुन् । यस्ता विद्यार्थीलाई पास गराउनै मुस्किल छ’–उनले भने । २०५५ सालमा स्थापना भएको यस संस्कृत विद्यालयले १२ वर्षअघि २०६० सालबाट एसएलसी परिक्षामा भाग लिएको थियो । विद्यालयले अघिल्लो वर्ष एक जना विद्यार्थीबाहेक अहिलेसम्म नियमिततर्फ उतिर्ण गराउन सकेको छैन । यस वर्षको एसएलसी परिक्षामा ६ जना विद्यार्थी सामेल भए, तर एकजना पनि उतिर्ण भएनन् । अहिले मात्रै होइन, एसएलसी परिक्षा सुरु गरेदेखि नै यो विद्यालय परिक्षामा असफल हुँदै आएको छ । यद्यपी, पुरक तथा आंशिक परिक्षामा भने केही विद्यार्थी कुनै–कुनै वर्ष फाट्टफुट्ट उतिर्ण भइरहेका छन् । १२ वर्षे एसएलसीको इतिहासमा पुरक र आंशिक गरी ८ जना विद्यार्थी मात्रै उतिर्ण भएको विद्यालयले जनाएको छ । ‘विद्यालय यसरी असफल भइरहनुुका पछाडी थुप्रै कारणहरु छन्, ‘ प्रधानाध्यापक अधिकारी भन्छन्, ‘विषयगत शिक्षकको अभाव पनि धेरै समयदेखि झेल्दै आइरहेका छौँ ।’ आवश्यकता अनुसारको शिक्षक दरबन्दी नभइरहेको अवस्थामा यहाँ अध्ययन गर्न आउने विद्यार्थीहरु पनि ज्यादै कमजोर मात्रै भर्ना हुँदा समस्या झन् थपिएको उनले बताए । नेपाली व्याकरण र संस्कृत भाषा अन्तर्गतका ज्योतिष र कर्मकाण्डजस्ता सय–सय पुर्णङ्का दुई विषय यहाँ पढाई हुने गरेको छ । १ सय २० जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा राहततर्फ ३ र निमावीका ३ जना मात्र शिक्षकले पठनपाठन धानिरहेका छन् । निरन्तर शतप्रतिशत विद्यालय पुराना र सुविधा सम्पन्न विद्यालयको एसएलसीनतिजा निराशाजनक भइरहँदा नुवाकोटको विदुरस्थित पृथ्वी माविले भने लगातार सतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएर सामुदायिक तर्फ जिल्लाकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । यस पटक उक्त विद्यालयबाट १६ जनाले परीक्षा दिएकोमा ११ ना प्रथम र पाँच जना द्वितीय श्रेणीमा उत्तिर्ण भएका थिए । गत वर्षबाट एसएलसी सुरु गरेको सो विद्यालयले पहिलो वर्षमै सतप्रतिशत नतिजा निकाल्नुका साथै जिल्लामै हालसम्म परीक्षा दिएका सबै विद्यार्थी पास गराउने पहिलो विद्यालय बन्न सफल भएको थियो । हाल अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको सो विद्यालयका अग्रेजी माध्यममा अध्ययनगर्ने विद्यार्थीहरु २०७३ सालमा एसएलसी दिने र परीक्षाको नतिजामा अझै सुधारआउने विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले बताए । यस वर्षको एसएलसी परीक्षामा नुवाकोटबाट ५३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले शुक्रवार प्रकाशीत गरेको एसएलसी परिक्षाको नतिजा अनुसार नुवाकोटमा गत वर्षको भन्दा यस वर्ष उत्तिर्ण हुनेहरुको संख्या बढेको छ । नियमित तर्फ चार हजार सात सय १९ जनाले एसएलसी परीक्षा दिएकोमा विशिष्ट श्रेणीमा एक सय १३, प्रथम श्रेणीमा एक हजार १५, द्वितीय श्रेणीमा एक हजार तीन सय चार, तेस्रो श्रेणीमा ६८ जना गरी दुई हजार पाँच सय जना अर्थात ५२ दशमलव ९७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । यो संख्या गत वर्ष उत्तिर्ण हुने विद्यार्थीको तुलनामा ८ प्रतिशत बढेको जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार गत वर्ष चार हजार ६ सय ३९ जनाले परीक्षा दिएकोमा ४५ दशमलव १३ प्रतिशत उत्तिर्ण भएका थिए । एक विदुर नगरपालिका र ६१ गाविस रहेको नुवाकोटमा एक सय २३ वटा माविबाट विद्यार्थीहरुले एसएलसी परीक्षा दिएका थिए ।