पुनर्निर्माण प्राधिकरणबारे बालुवाटारमा छलफल

0 9
काठमाडौं : विनाशकारी भूकम्पपछिको पुनर्निर्माण लागि अधिकारसम्पन्न प्राधिकरण गठन गर्ने विषयलाई टुंगो लगाउन मुख्य दलहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ।
शनिबार दिउँसो एक चरण छलफल गरेर बालुवाटारमा बेलुका फेरि यसैबारेमा छलफल हुँदैछ । बैठकमा प्रधानमन्त्री सुशील कोइरालासहित कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी मोर्चाका नेताहरुको सहभागिता छ।

बिहानको बैठकमा अध्यादेशबाट पुनर्निर्माण प्राधिकरण बनाउने कांग्रेसको प्रस्तावमा एमाले नेताहरुले अहमति जनाएपछि बैठक निर्णयबिना नै टुंगिएको थियो। एमालेको स्थायी समितिको बैठक अपरान्ह पुन: बसेर बिहानको छलफललाई सच्चाएपछि सहमतिको स‌ंभावना बढेको छ। कार्यवहाक अध्यक्ष रहेका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले बिहानकै बैठकमा अध्यादेशबाट पुनर्निर्माण प्राधिकरण बनाउने प्रस्ताव राखेका थिए।बिहान उनको प्रस्ताव पारित नभएपनि अपरान्ह पारित भएको छ।

दाता सम्मेलनभन्दा अघि पुनर्निर्माण प्राधिकरण गठन गर्ने बारेमा दलहरु सैद्धान्तिक रुपमा सहमत भए पनि यसको संरचना तथा अधिकार क्षेत्रका बारेमा दलहरुबीच कुरा मिल्न सकेको छैन । कांग्रेसले प्रधानमन्त्रीकै अध्यक्षतामा प्राधिकरण गठन गर्ने र त्यसमा कुनै एक वरिष्ठ मन्त्रीलाई उपाध्यक्ष र कार्यकारी भूमिकामा एकजना विज्ञलाई सदस्य राख्ने प्रस्ताव राखेको छ।
तर एमाओवादी र एमालेले भने यस्तो औपचारिक संरचना झारा टार्ने काम मात्रै हुने भएकोले कार्यकारी भूमिकाको अध्यक्ष वा उपाध्यक्षसहितको अधिकारसम्पन्न संरचना बनाउनुपर्ने प्रस्ताव राखेको छ ।
दाता सम्मेलन अघि नै प्राधिकरण बनाउन दाता समुदायले अप्रत्यक्ष रुपमा दबाब दिएपछि दलहरु निर्णायक छलफलमा जुटेका हुन् ।दाता सम्मेलन सरकारले असार १० गते आयोजना गरेको छ। नियमित प्रक्रियाबाट तत्काल कानुन बनाउन संभव नहुने भएकोले अध्यादेशबाट ऐन ल्याएर भए पनि पुनर्निर्माण प्राधिकरण बनाउने तयारीमा सरकार छ।