योगको आधुनिक यात्रा

0 43
योग अब कुनै जाति, धर्म र समुदाय विशेषको रहेन। अझ संयुक्त राष्ट्रसंघले गत डिसेम्बरमा विश्व योग दिवस मनाउने निर्णय गरेपछि योगले विश्वव्यापी चर्चा बटुलिसकेको छ। जुन २१ तारिख अर्थात् असार ६ गतेलाई विश्व योग दिवसका रूपमा मनाउन थालिएको छ।
पहिलादेखि नै जनस्तरमा योग लोकप्रिय छ। विश्वका कयौं विश्वविद्यालयमा यसको अध्ययन अध्यापन हुँदै आएको थियो।
स्वास्थ्य, उदात्त भावना र मानवीयपन विकासका लागि योगको भूमिका महत्त्वपूर्ण बताउँदै संयुक्त राष्ट्रसंघले यसलाई जोड दिएपछि यसको लोकप्रियता अन्तर्राष्ट्रियस्तरमै बढेको छ।
राष्ट्रसंघको महासभामा योगलाई मान्यता दिनुपर्छ भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए। उनको प्रस्ताव तीन महिनाभित्रै पास भएको थियो। यसलाई एक सय ७७ देशले अनुमोदन गरेका थिए।
अमेरिकी राष्ट्रपति बाराक ओबाले भारत भ्रमणमा रहेका बेला मोदीको काम गर्ने शैली देखेर आफू पनि योगप्रति आकर्षित भएको बताएका थिए। त्यसलगत्तै बाराक ओबामाले योग गर्न थालेका तस्बिर सार्वजनिक भएका थिए।
यसबाट झन् पश्चिमा जगत्मा यसले निकै चर्चा पायो। म्याडोना, एस्टन कुचेर, डेमी मुरे, लेडी गागा, जेनी म्याकार्थी, जेनिफर एनिस्टन, जर्ज क्लुनी, डेभिड बेकह्याम जस्ता व्यक्तिले पनि पश्चिममा योगको अभ्यास र प्रचार गर्न थालिसकेका थिए।
योग भनेको योगाभ्यास मात्र होइन, यो त जीवन पद्धति हो। एउटा बाँच्ने कला पनि हो। महर्षि पतञ्जलिका अनुसार योग भनेको चित्तवृत्तिको निरोध हो।
 मानिसको कल्याण, मानसिक र आत्मिक सुखका लागि आठवटा चिजलाई जोड दिइएको छ। यसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि पर्छन्। यी आठवटै चिजको समष्टि रूप नै योग हो।
यसले मानवभित्र भएका सम्पूर्ण भावनालाई उजागर गरी मानव चेतनालाई विकसित गर्न तयार गर्ने ज्ञानविज्ञान हो।
आज विश्वका विकसित ज्ञान-विज्ञानलाई हेर्दा प्रेम, शान्ति, करुणा र विश्व बन्धुत्वको समाज निर्माण गर्न निर्विकल्प शिक्षाका रूपमा योगलाई लिन सकिन्छ। योगले एउटा मान्छेलाई पूर्ण रूपमा विकसित गराई समुन्नत मानव बनाउन सक्छ।
विश्वभर बढ्दो हिंसा, युद्ध, आतंकवाद, भ्रष्टाचार जस्ता मानवसभ्यताका कलंक मेटाउन सक्ने क्षमता योगभित्र छ। त्यसैले योगको आवश्यकता झनै बढ्दो छ।
योग दिवसको अवसर पारेर विश्वभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। भारतले त योगबाट प्रचुर मात्रामा लाभ लिन तयारी गरेको छ। उसले योगलाई कूटनीति र पर्यटनका लागि पनि प्रयोग गर्ने संकेत देखाएको छ।
उसले विदेशस्थित आफ्ना एक सय ९१ कूटनीतिक नियोग र निकायमार्फत योगको प्रचार प्रसारका कार्यक्रम राखेको छ।
चीन
चीनको युनान प्रान्तस्थित युनान मिन्जु विश्वविद्यालयमा योग दिवस भव्य रूपमा मनाउने तयारी गरिएको छ। भारतको सहयोगमा योगको अध्यापन पनि सुरु गर्ने भएको छ। यो चीनमा योग विषय पढाइ गर्ने पहिलो विश्वविद्यालय हो।
यसमा भारतीय योग प्रशिक्षकले अध्यापन गराउने भएका छन्। यसलाई ताई-ची भनेर चिनियाँ पद्धतिसँग जोडिने अधिकारीले जानकारी दिएका छन्। यसैगरी हङकङ, बेइजिङ, चेङदु, सांघाई, हाङजोउ, सियामेनमा योगका शिविर गरिने भएको छ।
भारत
भारतले योग दिवसलाई निकै महत्त्व दिएको छ। राज्यस्तरमै उसले मनाउन थालेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३५ हजार व्यक्तिसँगै दिल्लीमा योगाभ्यास गर्नेछन्।
उनलाई योगगुरु रामदेवले साथ दिने जानकारी दिइएको छ। स्थानीय समयअनुसार बिहान ७:०० बजेदेखि ७:३५ सम्म राजपथमा योग गरिने छ।
भारतमा त सरकारी कर्मचारीलाई योगका लागि प्रोत्साहन गरिएको छ। भारतले आफूलाई योगमार्फत विश्वमै चिनाउने चाहना राखेको छ। आफ्नो देशमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थी र कूटनीतिज्ञलाई उसले प्रोत्साहन गरेको छ।
भारतीय खेलकुद अधिकारीले पनि आफ्नो देशमा रहेका विदेशी खेल प्रशिक्षकहरू कार्यक्रममा उपस्थित हुने बताएको छ। भारतका विभिन्न राज्यले यो दिवस भव्यतापूर्वक मनाउने भएका छन्।
भारतले योग दिवसका लागि अमिताभ बच्चन, अक्षय कुमार, शिल्पा सेट्टी, क्रिकेटर विराट कोहली र रेस्लर सुशील कुमारलाई ब्रान्ड एम्बेसडर तोकेको छ।
पाकिस्तान
पाकिस्तानमा पनि योगलाई योगगुरु सामसद हैदर अलीले इस्लामाबाद, लाहोर जस्ता सहरमा विश्व योग दिवसका कार्यक्रम राखेको जानकारी दिएका छन्।
नेपालमा विश्व योग दिवस मनाउन थालेको विक्रम संवत् २०३६ साल माघ १ गतेदेखि हो। यसको श्रेय मानसाग्नि (डा. हरिप्रसाद पोखरेल) लाई जान्छ। यो कुरा हामीले अन्तर्राष्ट्रियस्तरमा उठाउन नसक्दा विश्व योग दिवस ३६ वर्षपछि सरेको छ। 
उनले योग समस्त मानवका लागि हितकर भएकाले यसलाई हिन्दु धर्मसँग मात्र जोडेर विरोध गर्न नहुने बताए।
उनले आफ्ना शिष्यहरूलाई ॐ को साटो अल्लाहलाई सम्झनु बुद्धिमानी हुने बताए।
सूर्य नमस्कारको विरोध गरिनुको कुनै तुक नभएको हैदरले स्पष्ट पारे। उनले आफूले भारत, नेपाल र तिब्बत गएर योग सिकेको बताए।
श्रीलंका
श्रीलंकाले पनि योग दिवस भव्य रूपमा मनाउने भएको छ। नायिका संगीता वीरत्ने, क्रिकेटर मुत्थैया मुरलीधरणलाई श्रीलंकाले आफ्ना योग सम्बेसडर घोषणा गरेको छ।
कोलम्बोस्थित गाले फेस ग्रिनमा स्थानीय समय बिहान ६:३० देखि दुई घन्टासम्म योगाभ्यास गरिने सरकारले जानकारी दिएको छ। जाफ्ना, हम्बानटोटामा पनि योग दिवस मनाइनेछ।
अमेरिका
अमेरिकामा पनि योग दिवस धुमधाम साथ मनाइने बताइएको छ। न्युयोर्कस्थित टाइम्स स्क्वायरमा तीस हजारभन्दा बढी मानिस उपस्थित हुनेछन्।
संयुक्त राष्ट्रसंघले आयोजना गरेको हुनाले राष्ट्रसंघमा कार्यरत कूटनीतिज्ञ र कर्मचारीको ठूलो उपस्थिति रहनेछ।
कार्यक्रमलाई संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले सम्बोधन गर्नेछन्।
भारतीय विदेशमन्त्री सुषमा स्वराजले योग दिवसमा संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्नेछिन्। उनीसँगै आर्ट अफ लिभिङका संस्थापक श्रीश्री रविशंकरले पनि सम्बोधन गर्ने बताइएको छ।
डब्लुएचओको फोटो प्रदर्शनी
योग दिवसको अवसरमा योग फोटो पनि प्रदर्शनी गरिने भएको छ। बेनोइ के बेजलले खिचेका योगाभ्यासका तस्बिर प्रदर्शनीमा राखिनेछन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. मार्गरेट चानले योगले मानिसलाई स्वस्थ राख्न सहयोग गर्ने भएकाले योगाभ्यास गर्दै गरेका फोटो प्रदर्शनी गरेर स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन खोजेको बताइन्।
चानले आफूले नियमित रूपमा योगाभ्यास गर्ने गरेको खुलासा गरिन्।
बेइजिङ, सांघाई, जेनेभा, रियुनियन आइल्यान्ड, साओ पाउलो, एथेन्स, बिस्केक, राबट, पोर्ट अफ स्पेन, प्राग, कोपेनहेगन, ब्रिमिंघम, जन्जिबार, अम्मान, सिचेल्स, नोम पेन्ह, कोलम्बो, द हेग, आर्मेनिया, जर्जियामा उक्त प्रदर्शनी गरिँदै छ।
 यसअघि जेनेभामा ६८औं स्वास्थ्य महासभामा जेठ ५ गते ‘सबैका लागि योग, सबैका लागि स्वास्थ्य’ विषयमा पनि फोटो प्रदर्शनी गरिएको थियो।
‘हाइप्रोफाइल’ छवि बनाउँदै योग
संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले योगले समस्त मानवलाई मित्र ठान्छ र पृथ्वीलाई सम्मान गर्ने धारणा अभिव्यक्त गरे। उनले योगले सबै मानवलाई मित्रको रूपमा हेर्ने दृष्टिकोणको प्रशंसा गरेका छन्।
गत सोमबार संयुक्त राष्ट्रसंघका महासचिव बान की-मुनले योगले सबैको साझा सम्पत्ति भएको र सन्तुष्टिको स्रोत भएको बताएका थिए।
मुनले पहिलोपटक योगासन गर्दा अपार आनन्द मिलेको खुलासा गरेका थिए। २१ जुनमा मनाइने प्रथम विश्व योग दिवसका लागि सन्देश दिने क्रममा उनले यस्तो धारणा अभिव्यक्त गरेका थिए।
राष्ट्रसंघका महासचिव मुनले आफ्नो सन्देशमा भनेका थिए, ‘योगले भेदभाव गर्दैन। आफूले सहज हुने गरी सबैले यसको अभ्यास गर्नु राम्रो हो। यसलाई उमेर, योग्यता जस्ता कुराले प्रभावित गर्दैन।’
उनले आफूले सुरुमा योगाभ्यासका क्रममा वृक्षासन गरेको स्मरण पनि गरेका थिए। शरीरलाई सन्तुलन मिलाउन केही समय लागे पनि यसबाट आफूमा सन्तुष्टि र शान्ति मिलेको बताएका थिए। उनले योगबाट आफूलाई आत्मिक आनन्द मिलेको खुलासा गरेका थिए।
सुरुमा योगाभ्यास आफ्नै वरिष्ठ सल्लाहकारसँग सिकेको मुनको भनाइ छ। म्यान्मारका लागि राष्ट्रसंघका अधिकारी विजय नाम्बियारसँग आफूले योगाभ्यास सिकेको पनि उनले जानकारी दिएका थिए।
नाम्बियारसँग आफूले सुरुमा गरेको योगासन अभ्यास गरेको तस्बिर पनि ट्विट गरेका छन्। उक्त तस्बिरमा जुत्ता फुकालेर एउटा खुट्टाले उभिएका छन्। उनका हात शिरभन्दा माथि उठेका छन्। नाम्बियार पनि सोही आसनमा देखिन्छन्।
बानले भने, ‘योग एक प्राचीन विधा हो। यसको अभ्यास कुनै पनि क्षेत्रका व्यक्तिद्वारा गर्न सकिन्छ।’ उनले योग शारीरिक एवं आत्मिक र तन्दुरुस्तीका लागि सरल र सुलभ भएको बताए।
नेपाल
नेपालमा विश्व योग दिवस मनाउन थालेको विक्रम संवत् २०३६ साल माघ १ गतेदेखि हो। यसको श्रेय मानसाग्नि (डा. हरिप्रसाद पोखरेल) लाई जान्छ। यो कुरा हामीले अन्तर्राष्ट्रियस्तरमा उठाउन नसक्दा विश्व योग दिवस ३६ वर्षपछि सरेको छ।
शिव संस्कृति, बुद्ध संस्कृति र जनक संस्कृतिलाई आत्मसात गरेको नेपालमा प्राचीन कालदेखि योग लोकप्रिय छ। आज पनि साधु, सन्त, आनी, रिम्पोचे र लामाहरूले आ-आफनो स्तरबाट योग अभ्यास गरिरहेका छन्।
नेपालले भने राज्य स्तरमा विश्व योग दिवससम्बन्धी कुनै कार्यक्रम आयोजना गरेको छैन। विश्व स्वास्थ्य संगठनले यसलाई स्वास्थ्यका जनचेतना जगाउने कार्यक्रम गर्दैगर्दा स्वास्थ्य मन्त्रालयले आइतबार एउटा सामान्य कार्यक्रम राखेको छ।
मुख्यसचिव लीलामणि पौडेलले स्वास्थ्य मन्त्रालयमा योग सिकाउने जानकारी दिइएको छ। यसैगरी नेपाल प्रहरी एकेडेमीले पनि योगसम्बन्धी कार्यक्रम राखेको छ।