उनी गइन्, डिस्टिङ्सन आयो

0 10
ठूली मान्छे बनाउने आमाको सपना अधुरै
गोरखा : मसेल–२ रन्याबारीकी इन्दिरा बगाले ८२.६२ प्रतिशत अंकसहित एसएलसी पास गरी विद्यालयको इतिहासमै रेकर्ड कायम गरिन् । यो खबर उनको विद्यालय विन्द्रावती उच्च माविमा पुग्यो, त्यसपछि गाउँभरी फैलियो । इन्दिराले उत्कृष्ट अंकसहित एसएलसी गरेको खबर घरमा पुग्नेवित्तिके रुवाबासी सुरु भयो ।

‘उनले डिस्टिङ्सन ल्याएको खबरले आमा मुच्र्छा परेर रोइन्’ इन्दिराका कान्छाबा कृष्णप्रसादले भने ‘आमा र अर्की छोरी नै बेहोस भए । बिहानसम्म काम छाडेर रोइरहेका छन् । विदेशमा रहेको दाजु पनि रोएर काम गर्न सकेको छैन ।’

यसअघि वैशाख १२ गते पनि उनको घरमा यसरी नै रुवाबासी भयो । एसएलसी दिएर ब्रिजकोर्श गर्न काठमाडौं गएकी इन्दिराले बसन्तपुर दरबारमा घुम्न जाँदा भूकम्पमा परी ज्यान गुमाइन् । दाजु दिदीसँग वसन्तपुर दरबार घुम्दै गर्दा आएको भूकम्पले दरबारसँगै उनी, दाजु नवीन बगाले र सरस्वती बगालेको एकै चिहान बनायो ।

‘नौ दिनपछि मात्र उनीहरुको शव भेटिएको थियो’ उनका छिमेकी विश्व भट्टले भने ‘त्यो घाउ मेटिन नपाउँदै अहिले फेरि एसएलसीको रिजल्टले फेरि खाटो उप्कायो । परिवारमा रुवाबासी चलेको छ ।’

अघिल्लो वर्ष त्यही स्कुलबाट प्रेम बयलकोटीले ८१ प्रतिशत ल्याएका थिए । इन्दिराले त्यो रेडर्क तोडेको प्रधानाध्यापक उत्तरकुमार श्रेष्ठले बताए । उनका अनुसार इन्दिरा पढाइमा निकै तेज थिइन् ।

‘यहाँ कक्षा ६ देखि पढेकी हुन् । निकै अनुशासित, थोरै बोल्ने, र मिहिनेती थिइन्’ उनले भने ‘कक्षा ८ मा दोस्रो र नौ मा पहिलो हुँदै गएकी थिइन् ।’

इन्दिरा बगाले (बायातर्फ सेतो टिसर्टमा) आमा र बहिनीसँग
गरिबीका बाबजुद पनि उनी सानैदेखि मायालु वातावरणमा हुर्केकी उनले बताए । उनले सातकक्षा पढ्दादेखि नै डायरी लेख्न थालेकी श्रेष्ठले बताए । ‘गतवर्ष विशिष्ट श्रेणी ल्याउनेलाई विद्यालयमा सम्मान गरिएको थियो । यसपटक गर्न पाइएन हामी शोकमा डुबेका छौं’ उनले भने, ‘विद्यालयमा उनको फोटो राखिएको छ । त्यसैमा फूलमाला चढाएर सम्मान गर्‍यौं ।’

छोरीलाई ठूलो मान्छे बनाउन दश नङ्ग्रा खियाएको व्यर्थै भयो भन्दै आमा सीताले दुःख ब्यक्त गरिन् । ‘ठूलो मान्छे बनाउने सपना देखेकी थिएँ । पुरा गर्न पाइएन, दैवले लग्यो’ सीताले भनिन् ‘छोरीको भविष्य कस्तो न बनाउला भनेर खाइ नखाई दुःख गरियो । तर, दैवले चुँडेर लग्यो । छोरी नरहे पनि उनको नाम चलोस् । त्यही चाहन्छु ।’