खुलामञ्चको त्रिपालमुनि छिरेर बलात्कार गरेपछि…

0 6

खुलामञ्चको त्रिपालमा बस्दै आएकी एक महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । भूकम्पका कारण खुलामञ्चको त्रिपालमा बस्दै आएकी एक महिलालाई बलात्कार गरेको आरोपमा काभ्रेका लीलानाथ तिमल्सिनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

२३ जेठमा खुलामञ्चको त्रिपालमुनि आफूमाथि बलात्कार भएको भन्दै महिलाले उजुरी दिएको प्रहरीले जनाएको छ । महिलाले एक सातापछि मात्र प्रहरीमा उजुरी दिएकी थिइन् । युवकले भने बलात्कारको आरोप अस्वीकार गरेका छन् ।

हालै विदेशबाट फर्केका तिमल्सिनाले रत्नपार्कमा चिनजानको एक चियापसलमा चिया पिउन जाँदा महिलासँग परिचय भएको बताएका छन् । कुरा गर्नेबाहेक आफूले महिलालाई केही नगरेको उनले बताएका छन् । तर, महिलाले भने बलात्कार गरेको बताएपछि प्रहरीले जाहेरी दर्ता गरेर जवरजस्ती करणी मुद्दामा कारबाही अघि बढाएको छ । ३१ जेठमा रत्नपार्कमा युवकलाई भेटेपछि उही भएको भन्दै महिलाले प्रहरीलाई खबर गरेकी थिइन् । महानगरीय प्रहरी वृत्त जनसेवाले तिमिल्सनामाथि कारबाही अघि बढाएको छ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।