भूकम्पपछि सहरमा कुकुरको बिगबिगी बढ्यो

0 12

काठमाडौँ, ५ असार – भूकम्पपछि मानिस मात्र होइन, अग्ला घरमा बस्न कुकुर पनि डराउने गरेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो समय आएका केसले भूकम्पले मनोवैज्ञानिक त्रास मानिसमा मात्रै नभई कुकुरमा पनि भएको देखाएको छ। सँधै घरका माथिल्ला तलामा बस्ने घरपालुवा कुकुर भूकम्पपछि घरमालिकसँगै खुला चौरमा झरेका थिए। तर, स्थिति सहज हुन थालेपछि मालिक घर छिरे, तर चौरमा निस्केका कुकुर घर छिर्न मानेनन्। जबर्जस्ती लैजान खोज्दा घरमालिकलाई नै टोक्न थालेको नयाँ पत्रिकामा खबर छ।

शुक्रराज अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले भूकम्पपछिका दुई महिनामा कुकुरले टोकेका केस २५-३० प्रतिशतले बढेको भन्दै त्यसका अधिकांश केस घरपालुवा कुकुरले मालिकलाई टोकेको आएको बताए। भूकम्पपछि कुकुरले टोक्ने क्रम बढेको भन्दै स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले यस्तो बेला रेबिजविरुद्धको सुई रेबिपुर वितरण गर्ने बताए।