बालबालिका ओसारपसार रोक्न गृहको निर्देशन

0 9

काठमाडौ, असार ५ – गृह मन्त्रालयले भूकम्पपछि विपत्तिमा परेका बालबालिकाको ओसारपसार अझै नरोकिएको जनाएको छ । गृहले ७५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै पूर्ण रूपमा बालबालिकाको ओसारपसार रोक्न सक्रिय हुन निर्देशन दिएको हो । सचिवस्तरको बैठकले बालबालिकाको ओसारपसार रोक्न निर्देशन दिएको हो ।

बैठकले भूकम्प प्रभावित जिल्लाका बालबालिकालाई संरक्षणका लागि पठाइएको संस्था र बालबालिकाको संख्या उपलब्ध गराउन भनेको छ । यस्तै भूकम्प प्रभावित जिल्लालगायत ७५ वटै जिल्ला प्रवेश गर्ने नाकामा बालबालिका ओसारपसार हुन नदिन निर्देशन दिएको छ । गृहले बालबालिका संरक्षण ऐन २०४८ को व्यवस्थाअनुसार बेवारिसे, बाबुआमा वा अन्य अभिभावकनजिकका नातेदार नभई अलपत्र परेका बालबालिकालाई मात्र बालगृहको जिम्मा लगाउनुपर्ने उल्लेख छ ।

आमाबाबु वा अरू कुनै आफन्त भएका बालबालिकालाई बालगृहको जिम्मा नलगाउन भनेको छ । यस्तै सिफारिस गरेर पठाउने बालबालिकाको हकमा जिल्ला बालकल्याण समितिको सहमतिमा मात्र सिफारिस गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । बालबालिकाको अवैध ओसारपसार भइरहेको थाहा पाए तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाउन परिपत्र गरिएको छ ।