भूकम्पपछि सहरमा कुकुरको बिगबिगी, पालेका कुकुरले मालिकलाई नै टोक्न थाले

0 13

५ असार, काठमाडौं । भूकम्पपछि मानिस मात्र होइन, अग्ला घरमा बस्न कुकुर पनि डराउने गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो समय आएका केसले भूकम्पले मनोवैज्ञानिक त्रास मानिसमा मात्रै नभई कुकुरमा पनि भएको देखाएको छ ।

सँधै घरका माथिल्ला तलामा बस्ने घरपालुवा कुकुर भूकम्पपछि घरमालिकसँगै खुला चौरमा झरेका थिए । तर, स्थिति सहज हुन थालेपछि मालिक घर छिरे, तर चौरमा निस्केका कुकुर घर छिर्न मानेनन् । जबर्जस्ती लैजान खोज्दा घरमालिकलाई नै टोक्न थालेको नयाँ पत्रिकामा खबर छ ।

शुक्रराज अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले भूकम्पपछिका दुई महिनामा कुकुरले टोकेका केस २५-३० प्रतिशतले बढेको भन्दै त्यसका अधिकांश केस घरपालुवा कुकुरले मालिकलाई टोकेको आएको बताए ।

भूकम्पपछि कुकुरले टोक्ने क्रम बढेको भन्दै स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले यस्तो बेला रेबिजविरुद्धको सुई रेबिपुर वितरण गर्ने बताए ।