एसएलसीको नतिजा सार्वजनिक, गत वर्षभन्दा ३.५१ प्रतिशत धेरै पास

0 4

४ असार, काठमाडौं । गत चैतमा सम्पन्न एसएलसी परीक्षामा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले शुक्रबार सार्बजनिक गरेको नतिजा अनुसार नियमिततर्फ १ लाख ९२ हजार २ सय ६७ विद्यार्थी उत्तीर्ण भएका छन् ।

कूल उत्तीर्ण विद्यार्थीमध्ये १ लाख ९ हजार ४३ जना छात्र छन् भने ८३ हजार २ सय २४ छात्रा छन् ।

गत बर्षको तुलनामा ३ दशमलव ५१ प्रतिशत बढी परीक्षार्थी यस पटक सफल भएका छन् । गत बर्षको एसएलसी परीक्षामा ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । तर, एसएलसी परीक्षाको नतिजाप्रति शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित असन्तुष्ट छन् ।

यसपटक नियमिततर्फ परीक्षा दिएकामध्ये एसिड आक्रमणमा परेका किशोरीद्वय सीमा बस्नेत र संगीता मगर तथा नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यकी श्रीमती सुष्माको सिम्बोल नम्बर भने परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराएको नतिजामा छैन । (यो पनि पढ्नुस् – सीमा बस्नेतको कलेज जाने धोको अधुरै भयो)

सामुदायिकतर्फ ५ प्रतिशत बढी उत्तीर्ण

गत चैत ५ देखि १६ गतेसम्म एसएलसी परीक्षा भएको थियो । परीक्षामा ४ लाख ५ हजार ३ सय ३८ विद्यार्थी सहभागी थिए ।

तीमध्ये विशिष्ट श्रेणीमा २१ हजार २ सय ४७ जना उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणीमा छात्रतर्फ १२ हजार ४२६ छन् भने छात्रातर्फ ८ हजार ८ सय २१ छन् ।

पहिलो श्रेणीमा ९० हजार १ सय ७६, दोस्रो श्रेणीमा ७६ हजार ४ सय ८२ र तेस्रो श्रेणीमा ४ हजार ३ सय ६२ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

सामुदायिक विद्यालयतर्फ ३ लाख २ हजार ३ सय ९९ विद्यार्थी परीक्षामा सहभागी भएकामा १ लाख ३ सय ४२ जना उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयतर्फ ३३ दशमलव १८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

अघिल्लो बर्षको तुलनामा सामुदायिकतर्फ ५ प्रतिशत बढी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

संस्थागततर्फ कूल १ लाख २ हजार ९ सय ३९ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ९१ हजार ९ सय २५ जना उत्तीर्ण भएका छन् । संस्थागत तर्फ ८९ दशमलव ३० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो नतिजा अघिल्लो बर्षको एसएलसी परीक्षाको तुलनामा १ प्रतिशत कम हो ।

यस्तै एक्जाम्टेडतर्फ १३ दशमलव ८० प्रतिशत अर्थात १८ हजार ७ सय ७८ जना विद्यार्थी उत्तीर्ण भएका छन् । तीमध्ये छात्रभन्दा छात्राहरु धेरै उत्तीर्ण भएका छन् । उत्तीर्ण भएका छात्रहरुको संख्या ५४ हजार ७ सय ८५ छ भने छात्राको संख्या ८१ हजार २ सय ६६ छ ।

‘ग्रेस मार्क्स’ दिएर १८ हजार बढी उत्तीर्ण

परीक्षामा सहभागी परीक्षार्थीमध्ये नियमिततर्फ ६ सय १२ जनाको परीक्षा रद्द गरिएको छ । ८३ जनालाई परीक्षाबाट निस्कासित गरिएको र १ हजार १ सय ९९ जना ‘विथहेल्ड’मा रहेको कार्यालयले जनाएको छ ।यसपटक १८ हजार २ सय ६० जनालाई ‘ग्रेस मार्क्स’ दिएर उत्तीर्ण गराइएको छ ।

पूरक परीक्षा साउन २० देखि

अनुत्तीर्ण भएकाहरुको पूरक परीक्षा साउन २० गतेदेखि हुनेछ । दुई विषयमा अनुत्तीर्ण भएकाहरु पूरक परीक्षामा सहभागी हुन पाउनेछन् । एसएलसी परीक्षामा २ विषयमा अनुत्तीर्ण भएकाहरुलाई एकपटक मौका दिन ०५४ सालदेखि पूरक परीक्षाको व्यवस्था गरिएको थियो ।

प्राविधिक विषयको नतिजा एक हप्ता ढीलो हुने

यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढीलो हुने र श्रेणीकरण पद्धतिबाट हुने परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए ।

यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६ सय ८५, पुनः परीक्षातर्फ एक लाख ४५ हजार एक सय ८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् ।

गत वर्ष जेठ ३० गते नै नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति पुगेकाले केही दिन ढीलो भएको हो ।