मर्मत नगरी रातुपुलमा गाडी गुडाइयो

0 5
बिहीबारको वर्षातले दुईवटा पिलर पुनः भासिए
जनकपुरधाम : महोत्तरी र धनुषाको सीमामा रहेको रातुनदीको पुल मर्मत पूरा नहुँदै सञ्चालनमा ल्याइएको छ ।

गत वर्ष वर्षायाममा रातु नदीमा आएको बाढीेले जीर्ण २ सय ८ मिटर लामो पुलका १४ पिलरमध्ये दुईवटा भासिएपछि सवारीसाधन गुडाउन प्रतिबन्ध लगाइएको थियो ।

पुलको मर्मत गर्ने क्रममा नदीबाटै डाइभर्सन बनाएर सवारी आवतजावत गराइएको थियो । तर, विहीबार राति नदीमा बाढी आउँदा २ बजेदेखि सवारी आवागमन ठप्प भइ पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।

शुक्रबार विहान ९ बजेसम्म राजमार्ग अवरुद्ध हुँदा सयौंको संख्यमा सवारी साधान रोकिएपछि पुल मर्मत नगरी एकतर्फी गाडी ल्याउन अनुमति दिइएको हो ।

सयौं सवारी साधन अलपत्र परेपछि यात्रुको दबाबका कारण पुल आयोजनाले भार परीक्षण नगरी गाडी गुडाउने अनुमति  दिन बाध्य भएको सडक विभाग अन्तर्गतको पुल आयोजना पूर्वी सेक्टर नम्बर १ का प्रमुख इन्जिनियर अर्जुन अर्यालले जानकारी गराए ।

पुलको मर्मत सकिएपनि ढलान सुक्न र भार परीक्षण गर्न बाँकी रहेको अर्याल बताए । अहिले यात्रु बसलाई यात्रु ओरालेर पुलबाट गुड्न दिइएको छ । पुलनजिक पुगेपछि गाडीबाट ओर्लिएर यात्रु पैदल हिँडेर पुल तर्ने गरेका छन् ।

यात्रु ओरालेर खाली बसलाई मात्र पुलबाट वारपार गर्न दिइएको छ । खाली ट्रकलाई पुलबाट गुड्न दिइए पनि मालबाहक ट्रकलाई पुलबाट गुड्न नदिइने अर्यालले बताए ।

गत बर्ष पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग डेढ महिनासम्म अबरुद्ध भएको थियो । भासिएका दुईवटा पिल्लर मर्मतको लागि तीन करोड ५५ लाख रुपैयाँ खर्च भइसकेको पुल आयोजना प्रमुख अर्यालले जानकारी गराए । पुलमुनि ड्राइभर्सन बनाउन सडक डिभिजन कार्यालय धनुषाले झण्डै एक करोड रुपैयाँ खर्च गरिसकेको छ ।

रातुपुलमा गत वर्ष असोजदेखि पुससम्म बेलिब्रिज राखेर यातायात सञ्चालन गरिएको थियो । बेलिब्रिज हटाएपछि पुसदेखि पुलको भासिएको पिल्लर मर्मत गर्न थालिएको हो । पुलमा आवतजावत रोकिएपछि मालवाहक सवारी साधन बर्दिबास–गौशला सडक प्रयोग गरी धनुषा आउन थालेका हुन् ।