सात घन्टासम्म यसरी थुनियो बागमती (फोटो फिचर)

0 5
फोटो :बागमतीमा आएको बाढीले काठमाडौंको तीनकुनेमा बनाइएको डाइभर्सन। तस्बिर : दिनेशविक्रम शाह
साँघुरो डाइभर्सनका कारण डुबान
काठमाडौं: बिहीबार राति मुहानक्षेत्रेमा आएको अबिरल वर्षातपछि बागमती नदीमा ठूलो बाढी आयो । डाइभर्सनमा रोकिएपछि राति १ बजेबाट थुनिएको बागमती प्रहरी र सडक विभागको डोजरले बिहान ८ बजेमात्र खोलियो ।
अरु बेला फोहरको डंगुर बोकेर बग्ने बागमतीमा राति १ बजेबाट अचानक बाढी उर्लियो । मुहान रहेको सुन्दरीजल, बागद्वारक्षेत्रमा भीषण वर्षात भएपछि आएको बाढीले काठमाडौंको सिनामंगलस्थित सुकुम्बासी बस्तीदेखि तीनकुनेको पुलसमम्को क्षेत्र डुबानमै पर्यो ।
तीनकुनेको पुलभन्दा केही मिटर माथितिर बनाइएको ह्यूम पाइपसहितको डाइभर्सनले छेकेपछि बाढी बस्तीमा पस्यो । प्रहरीका अनुसार राति १ बजेदेखि आएको बाढीलार्इ डार्इभर्सनले छेकेपछि सो क्षेत्र जलमग्न भएको हो । सात घन्टासम्म थुनिएको बागमतीले जलनमग्न भएपछि शान्तिनगर र तीनकुने क्षेत्रका बासिन्दा त्रसित भएका थिए ।तीनकुने क्षेत्रदेखि सिनामंगलको सुकुम्बासी बस्तीसम्मको क्षेत्रमा बाढी पसेको थियो । बाढीले शान्तिनगरतर्फको सामुदायिक पार्क, तरकारी बजार, केही निजी घर र एउटा चर्च डुबानमा परेका थिए ।

बाढी बस्तीमा पसेपछि सिनामंगल, शान्तिनगर, गैरी गाउँ र तीनकुनेक्षेत्रका बासिन्‍दा त्रसित बन्दै घरसमेत छाड्न बाध्य भए । शान्तिनगर तरकारी बजारका होटल व्यवसायी इश्‍वरीप्रसाद पाण्डेले बाढीले तरकारी बजार, गाडीको ग्यारेज र चर्चसमेत डुबानमा पारेको बताए ।

शान्तिनगरका स्थानीयबासीले तीनकुनेको पुलभन्दा माथिल्लोतर्फ बनाइएको इाडभर्सनले पानी रोकेपछि डुबान भएको जनाएका छन् ।बागमती सफाइ अभियानले नदीमा फ्याकिने फोहर रोक्नका लागि त्यहाँ डाइभर्सन बनाएको थियो । करिब १० वटा ह्यूम पाइप लगाएर बनाइएको डाइभर्सनबाट बाढीले एकैपटक निकास नपाउँदा डुबान भएको हो ।

सरकारले बागमती र धोबी खोला सफाइ अभियानमा यस्ता डाइभर्सन बनाइरहेको छ । तर सानो आकारका ह्यूम पाइप राखिएका कारण पानीले निकास नपाउँदा चैते खडेरीमा सुक्ने अवस्थामा पुग्ने बागमती डुबानको कारण बनेको हो ।


तस्बिर :  इश्‍वरीप्रसाद पाण्डे
बर्षाले बागमती नदीमा बाढी आएको छ। बागमतिमा आएको बाढीले तीनकुनेमा रहेको पुल डाइभर्सन थुनिएपछि शान्तिनगर क्षेत्र डुबानमा परेको छ।

– Source: Annapurna Post