हुँदै नभएको कार्यक्रममा भिसा सिफारिस

0 4
काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विश्वभाषा क्याम्पसले हुँदै नभएको तयारी कक्षा सञ्चालन गर्ने भन्दै २१ जना विदेशीलाई नेपाल बस्ने अनुमति (भिसा) दिन अध्यागमन विभागलाई सिफारिस गरेको खुलेको छ।
तयारी कक्षा सञ्चालन गर्ने प्रावधान नै नभएकाले विश्वभाषा क्याम्पसले गरेको सिफारिसको नियतमाथि शंका गर्दै विभागले ती विदेशीलाई भिसा नदिने निर्णय गरेको छ।
शिक्षा मन्त्रालयले समेत सिफारिसप्रति विस्तृत अध्ययन नै नगरी हचुवाका भरमा जेठ १७ गते ती २१ जना विदेशीलाई तयारी कक्षाका लागि भन्दै भिसा दिन अध्यामगन विभागलाई पत्र लेखेको थियो।
क्याम्पसलाई शैक्षिक सत्र सुरु हुनुअगावै तयारी कक्षा सञ्चालन गर्ने कुनै अधिकार छैन।

विश्वभाषा क्याम्पसले विभिन्न भाषा अध्ययनका लागि २१ जना विदेशीबाट प्रतिव्यक्ति ६ सय ५० अमेरिकी डलरका दरले शुल्क लिइसकेको छ। क्याम्पसले असार ३१ (जुलाई १६) देखिमात्र विभिन्न भाषाका कक्षा सञ्चालन गर्दैछ।

क्याम्पसले भिसाको म्याद सकिन लागेका ती विदेशीलाई वैधानिक रूप दिन ४५ दिनको तयारी कक्षाका लागि भन्दै भिसा दिन आग्रह गरेको थियो।
भिसा नपाएपछि केही विदेशी फर्किएका छन् भने अधिकांश बिनाभिसा नै नेपालमा छन्। उनीहरू अधिकांशको भिसा अवधि जेठ १६ (मे ३०) गते नै सकिएको थियो।
अध्यागमन विभागका एक अधिकृतले भने, ‘उनीहरू ओभर स्टे भएका हुन् भने अध्यागमन कानुनअनुसार सजाय भोग्नुपर्छ।’
शिक्षा मन्त्रालयको पत्र लिएर २१ विदेशीको भिसा लिन अध्यागमन विभाग पुगेका विश्वभाषा क्याम्पसका प्रमुख वामदेव अधिकारी खाली हात फर्किएका थिए।
विभागका महानिर्देशक केदार न्यौपानेले तयारी कक्षाका लागि कुनै पनि विदेशीलाई भिसा दिन नमिल्ने बताए। महानिर्देशक न्यौपानेले भने, ‘तयारी कक्षा प्रयोजनका लागि उनीहरूलाई अध्ययन भिसा दिन मिल्दैन।’
अध्यागमन दिग्दर्शन, २०६५ मा तयारी कक्षा, वस्तुस्थिति अध्ययन तथा प्रारम्भिक सर्वेक्षण प्रयोजनका लागि अध्ययन भिसाको सिफारिस प्राप्त भएमा भिसा जारी नगर्ने उल्लेख छ।
शिक्षा मन्त्रालयले कोरियाका तीन, क्यानडाका एक, जापानका दुई, बेलायतका एक, अस्ट्रेलियाका दुई, बेल्जियमका दुई, अमेरिकाका सात, नर्वेका एक, न्युजिल्यान्डका एक र आयरल्यान्डका एकजनालाई भिसा दिन पत्र लेखेको थियो।
क्याम्पस प्रमुख अधिकारीले तयारी कक्षाका लागि भिसा नपाएपछि ती विदेशीलाई भिसा दिलाइदिन आग्रह गर्दै शिक्षा मन्त्रालयलाई अर्को पत्र पठाएको बताए। ‘अर्को पत्रको जबाफ कुरिरहेको छु, सुरुमा हामीबाट केही गल्ती भएको हो’, उनले भने।
मन्त्रालयका प्रवक्ता हरि लम्सालले विस्तृत अध्ययनपछि मात्र निर्णय लिन निर्देशन दिएको बताए। ‘मैलै यिनीहरूको भिसा सिफारिस नगर्नु भनेको थिएँ। केही दिन फाइल पनि रोकें’, उनले भने, ‘के भएको रहेछ, म बुझ्छु।’
मन्त्रालयको अन्तर्राष्ट्रिय स्वयंसेवा परिचालन तथा भिसा सिफारिस शाखाले जेठ १७ को निर्णयअनुसार ती विदेशीलाई तयारी कक्षाका लागि ४५ दिनको भिसा दिन विभागलाई पत्र लेखेको थियो।
उक्त शाखाका उपसचिव खगेन्द्र प्रसाईंले क्याम्पसलाई जथाभावी भिसा सिफारिस नगर्न भने पनि अटेर गरेको बताए।
 क्याम्पसले सिफारिस गरे पनि मन्त्रालयले किन सदर गर्‍यो भन्नेबारे प्रसाईंले कुनै जबाफ दिएनन्।