उपत्‍यकामा आउँका बिरामी बढे

0 4
काठमाडौं : विनाशकारी भूकम्पपछि काठमाडौं उपत्यकामा आउँका बिरामी ह्वात्तै बढेका छन्। दुई सातायता पेट कटक्क खाने र ज्वरो आउने समस्या लिएर अस्पताल पुगेका अधिकांश बिरामीमा आउँ देखा परेको चिकित्सकले बताए।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बेमौसममा आउँका बिरामी बढ्नु राम्रो संकेत नभएको बताए।
‘भूकम्पपछि कुनै पनि रोगले महामारीको रूप नलियोस् भनेर निरन्तर सरुवा रोगका बिरामी पनि जाँचिरहेका छौं,’ पुनले बिहीबार अन्नपूर्णसँग भने, ‘यो अवधिमा आउँका बिरामी अत्यधिक बढेको पाइयो।’
भूकम्म्पपछि अव्यवस्थित बसोबास, उपयुक्त शौचालयको अभाव, व्यक्तिगत सरसफाइको कमी, अस्वस्थकर खानेकुरा र राम्ररी नपखालेका तरकारी तथा फलफूल खानाले यस्ता बिरामी अत्यधिक बढेको चिकित्सकको भनाइ छ।
 उक्त अस्पतालमा मात्रै पेट दुख्ने समस्या लिएर पुगेकामध्ये दैनिक १० देखि १५ जना बिरामी आउँका भेटिन थालेका डा. पुनले बताए।
‘जाँच गर्न आउने धेरैजसो भूकम्पबाट पीडित बिरामी पाइएका छन्,’ डा. पुनले भने, ‘अधिकांशले स्वच्छ पानी प्रयोग गर्न नपाएको र शौचालय पनि अव्यवस्थित हुँदा समस्या परेको बताउने गरेका छन्।’ उनले आउँका बिरामी जाँचका लागि अन्य निजी अस्पतालमा पनि पुग्ने गरेका छन्।
पाटन र वीर अस्पतालमा पनि आउँका बिरामी भेटिएको चिकित्सकले बताए। वीर अस्पतालका डा. भूपेन्द्र बस्नेतले खाना र पानीको उपयुक्त तालमेल नमिल्दा यस्तो समस्या देखिन थालेको बताए।
सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले अत्यधिक गर्मी हुँदा खाना नपच्ने भएकाले आउँको पनि समस्या देखिन थालेको बताए।
‘व्यक्तिगत सरसफाइमा धेरै ध्यान दिनुपर्छ, त्यसमा पनि मौसम परिवर्तन हुने बेला त झनै ध्यान दिनुपर्छ।
सहरमा पानीको अभावले तरकारी र फलफूल राम्ररी नपखाली खाने गरिन्छ, त्यो राम्रो हैन,’ पाण्डेले भने, ‘शौचालय गएपछि राम्ररी साबुनपानीले हात धुनेसमेत चलन छैन, भूकम्प प्रभावित क्षेत्रका शौचालय दुर्घन्धित छन्, जसले आउँजस्ता रोग बढाउन थालेको छ।’
चिकित्सकका अनुसार आउँ प्रोटोजोवाबाट ठूलो आन्द्रामा लाग्ने रोग हो। रोग देखा परेपछि सुरु मा दिसा पातलो र फिँजसहित आउने गर्छ।
बिस्तारै रगतसहितको दिसा आउने, पेट कटक्क खाने, शौचालय गए पनि लामो समय दिसा नआउने, पेट दुखाइले ज्वरो आउने समस्या देखा पर्छ।
 आउँ बेसलरी र एमोबिक दुई प्रकारका हुन्छ। एमोबिकभन्दा बेसलरी आउँलाई चिकित्सकले खतरा मान्ने गर्छन्।
पेट धेरै दुख्नु, एकै दिनमा धेरैपटक दिसा लाग्नु, दिसामा रगत वा फिँज देखिनु, हेपाटाइटिसको समेत लक्षण देखा पर्नु, ज्वरो आउनुजस्ता लक्षण आउँका हुन्।
व्यक्तिगत सरसफाइ नै आउँबाट बच्ने प्रभावकारी उपाय भएको डा. पाण्डेले बताए।