‘म बाँचे मेरो परिवार बाँच्छ’

0 11

भक्तपुर, असार ४ –  नुनथला- ९, खोटाङ्गका २६ वर्षीय यामवीर तामाङ परिवारको एक्लो साहारा थिए । उनका वृद्धा आमाबुबा, श्रीमती सहित दुई लालाबाला छन् । उनको शिक्षण पेशाले परिवार धानी रहेका थिए । उनी एक्कासी बिरामी परेर थल्लिएपछि परिवारको साहारा टुटेको छ । डेढ वर्ष देखि उनी अस्पतालको शैयामा पल्टिरहेका छन् । ‘एक्कासी दायाँ खुट्टा दुख्ने, सुन्निने भयो’, उनले भने,‘विभिन्न अस्पताल धाएं तर, कुनै अस्पतालले पनि खुट्टामा के भएको हो पत्ता लगाउन सकेन ।’ ‘खोटाङ्गबाट पाटन अस्पताल गएँ,खुट्टा काट्नुपर्छ भन्यो’, उनले गुनासो गरे । ‘कुन रोग हो पत्ता नलागी खुट्टा काट्नुपर्छ भनेपछि डिस्चार्ज लिएर भक्तपुर क्यान्सर अस्पताल आएपछि डेढ वर्ष देखि उपचाररत भएको उनले बताए । क्यान्सर अस्पताल आएपछि थाहा भयो उनलाई बोन क्यान्सर भएको रहेछ ।

डेढ वर्ष देखि क्यान्सर अस्पतालमा उपचार गराउँदा उनले जीवनभर कमाएको सबै सक्यो । उनी हाल खुट्टाको अप्रेसनको पर्खाइमा छन् । तर, अप्रेसन खर्च नभएर उनको खुट्टाको अप्रेसन हुन सकेको छैन । आम्दानीको कुनै स्रोत नहुँदा उनको परिवारमा निरासा छाएको छ । ‘गाउँमा हुँदा शिक्षण पेशामा थिएं’,उनले भने,‘बिरामी भएपछि पेशापनि टुट्यो, आम्दानीको कुनै स्रोत छैन ।’ हाल उनको खुट्टामा अप्रेसन गरेर बोन सिमेन्ट राखेको छ । अप्रेसन अघि र पछि पटक-पटक किमोथेरापी गराउनुपर्ने चिकित्सकले जनाएको छ । एक पल्ट किमोथेरापी गर्न कम्तीमा ४० हजार खर्च गर्नुपर्ने अस्पतालले जनाएको छ । ‘तत्काल अप्रेसन गरेर नक्कली खुट्टा राख्नुपर्छ’, अस्पतालका हाडजोर्नी क्यान्सर विशेषज्ञ डा.जनिथ सिंहले भने,‘बोन क्यान्सरको छिट्टै उपचार गर्न सके निको हुन्छ ।’

डेढ वर्षको अवधिमा करिब ९ लाख खर्च भईसकेको उनले बताए । चिकित्सकको सल्लाह अनुसार अप्रेसन गर्न थप ४ लाखको आवश्यक पर्ने अस्पतालले जनाएको छ । ‘अप्रेशन गर्ने सामान किन्नलाई मात्र २ लाख ६० हजार लाग्छ’,चिकित्सक डा.सिंहले भने,‘सबै अप्रेसन खर्च जोडा ४ लाख भन्दा बढी लाग्छ ।’ आम्दानीको कुनै स्रोत नभएकाले अप्रेसन खर्च जुटाईदिन उनले सहयोगको अपिल गरेका छन् । ‘मेरो खुट्टाको अप्रेसन गर्न सहयोग गरिदिनुहोला’, उनले भने, ‘म बाँचे मेरो लालाबाला र वृद्ध आमाबुबा बाँच्नुहुन्छ ।’ परिवारको साहरा भनेकै आफैं भएकाले परिवारको निम्ती भएपनि बाँच्ने इच्छा भएको उनले बताए । उनको घुँडामा बोन क्यान्सर भएको र अप्रेसन गरेर कृत्रिम जोड्नुपर्ने अस्पतालले जनाएको छ । अप्रेसन गरेपछि उनले सामान्य जीवन जीउन सक्ने डा.सिंहले बताए ।