माइक्रोको अधिकतम भाडा १३ रुपैयाँ, असुल्छन् २० रुपैयाँसम्म बढी भाडा लिने माइक्रोलाई कारबाही गर्न उपभोक्ता मञ्चको माग

0 10

३ असार, काठमाडौं । राजधानीमा चल्ने छोटो दुरीका सार्वजनिक सवारी साधनमा बढी भाडा असुलेर यात्रु लुट्ने गरेको भेटिएको छ । राष्ट्रिय उपभोक्ता मञ्चले गरेको अध्ययनमा सरकारले कायम गरेको भाडादर कतै पनि लागू नभएको भेटिएको हो ।

राजधानीमा छोटो दुरीका लागि अधिकतम भाडादर प्रतियात्रु १३ रुपैयाँ तोकिएकोमा  २० रुपैयाँसम्म असुल्ने गरेको भेटिएको छ । यात्रु गाडीमा चढ्ने वित्तिकै १५ रुपैयाँ लिइन्छ ।

माइक्रोले सिट संख्याभन्दा धेरै यात्रु बोकेर असुरक्षित यात्रा गराउने गरेको मञ्चको जिकिर छ । अवैध रुपमा बढी भाडा असुलेर यात्रु ठग्ने माइक्रोलाई कारबाही गरी पाउँ भन्दै मञ्चले सरकारसमक्ष निवेदन हालेको छ ।

‘सरकारबाट तोकिएको भाडादर, सिट संख्या तथा आरक्षणको बेवास्ता गर्दै यात्रुलाई अमानवीय व्यवहार गरेको पाइएको हुँदा निरिक्षण तथा अनुगमन गरी गलत काम गर्ने सवारी चालक तथा व्यवसायीलाई कारवाही गरी तोकिएको भाडादरमा सुरक्षित यात्रा गर्ने वातावरण मिलाइयोस् ।’ निवेदनमा उल्लेख छ ।

यसरी हुन्छ ठगी

शंखमुल देखि नेपाल एयरलाइन्स हुँदै रत्नपार्कसम्म, लगाखेल देखि नेपाल एयरलाइन्ससम्म, लाजिम्पाटदेखि जमलसम्म, बालाजु चोकदेखि लैनचौरसम्म, कलंकीदेखि त्रिपुरेश्वरसम्मको भाडादर १३ रुपैयाँ कायम भएकोमा १५ देखि २० रुपैयाँसम्म लिने गरिएको छ ।

महिला, अपाङ्ग, वृद्धलाई आरक्षण नदिएको, वृद्ध-वृद्धालाई भाडामा ५० प्रतिशत छुट दिनुपर्नेमा नदिएको पनि मञ्चले भेटाएको छ ।

जमल, शहिदगेट, नेपाल एइरलाइन्स माइक्रो पार्क र रत्नपार्कको बिसौनाी तथा पुरानो बसपार्कमा बसेका ट्राफिक प्रहरीहरु सिट क्षमताभन्दा बढी यात्रु चढाएको देेख्दा देख्दै पनि नदेखेजस्तै गरेको, गुनासो आउँदा उल्टै ड्राइभरको पक्षमा बोल्ने गरेको भेटिएको छ ।

सडक विभागले बिसौनीका लागि तोकेका ठाउँमा सवारी नरोकी ट्राफिक जाम नै हुने गरी चौबाटोमा सवारी रोकी यात्रु उतार्ने तथा चढाउने गरेका छन् । गलत काम गर्नेलाई कारबाही गर्नुपर्ने दायित्व बोकेका ट्राफिक प्रहरीहरुले कर्तव्य निर्वाह नगरेको देखिएको हुँदा कर्तव्यबोध गराउनुपर्ने आवश्यकता देखिएको मञ्चले सरकारलाई जानकारी गराएको छ ।

source:onlinekhabar