विदेशी दाताले विवरण लुकाउँछन्

0 4

३ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघका विभिन्न निकायलगायत विश्वका ९५ अन्तर्राष्ट्रिय संघसंस्थाले नेपालका भूकम्प पीडितलाई पठाएको राहत सामग्री बुझ्ने र बाँड्ने जिम्मेवारी सम्हालेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले के कति सामग्री बुझ्यो र वितरण गर्यो भन्नेमा सरकार बेखबर छ। सरकारले सरोकारवाला सरकारी निकायले यी संस्थामार्फत आउने सामग्रीको न रेकर्ड राख्नै सकेका छन् न संस्थामाथि नियन्त्रण।

भूकम्प पीडितलाई एकद्वार प्रणालीअनुरूप राहत वितरण गर्ने नीति लिएको भए पनि यी संस्थाहरुले के कस्ता र कति परिमाणमा राहत सामग्री नेपाल पठाए/ल्याए र ती सामग्री कहाँ वितरण गरे भन्ने जानकारी सरोकारवाला निकायसँगै छैन। विदेशबाट आउने राहत सामग्रीको तथ्यांक राख्ने र वितरणमा समन्वय गर्ने जिम्मेवारी पाएको गृह, परराष्ट्र, अर्थ र वाणिज्य तथा आपूर्ति मन्त्रालय कसैसँग पनि उनीहरुले ल्याएको राहत सामग्री र वितरण गरेको कार्यको विवरण नै नभएको नागरिक दैनिकमा खबर छ ।

‘विदेशी संघसंस्था हामीअर्न्तगत रहेर काम गर्न गाह्रो मान्छन्। कति राहत सामग्री ल्याए, कति खर्च भयो, प्रशासनिक खर्च कति गरे हामीलाई बताउँदैनन्,’ गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने, ‘डब्लुएफपी लगायत अन्य विदेशी संघसंस्थाले के कति राहत सामग्री नेपाल ल्याए, त्यो विवरण हामीलाई दिएका छैनन्।’

नेपालस्थित डब्लुएफपीकी सञ्चार अधिकृत इयोलान्डा ज्याकमेन्टका अनुसार वैशाख १२ गते ७.६ म्याग्निच्युड स्केलको भूकम्प गएपछि राष्ट्रसंघका विभिन्न निकायलगायत विश्वका ९५ अन्तर्राष्ट्रिय संघसंस्थामार्फत डब्लुएफपीले ५ हजार ६ सय ४२ मेटि्रक टन (५६ लाख ४२ हजार केजी) खाद्य राहत सामग्री प्राप्त गरेको छ। यसबाहेक ६ हजार ६ सय ५३ मेटि्रक टन (६६ लाख ५३ हजार केजी) खाद्य सामग्री डब्लुएफपी आफैंले खरिद गरी वितरण गरेको छ।