कार्बन उत्सर्जन घटाउन नेपाललाई विश्व बैंकबाट २ अर्ब

0 3

प्रस्ताव तयार गर्न विश्व बैंकले तत्काल साढे २ करोड रुपैयाँ दिनेछ । प्रस्ताव पारित भएपछि २ वर्षभित्र नेपालले २ अर्ब रुपैयाँ पाउनेछ । नेपालले कार्बन सञ्चिति बढाउन विश्व बैंकलाई अनुदानको प्रस्ताव पठाएको थियो । प्रतिष्पर्धाबाट नेपाल छनोट भएको हो । विभिन्न ३६ देशलाई उछिन्दै नेपालसँगै कंगो, युगाण्डालगायत ६ मुलुक छनोटमा परेका हुन् ।

वन तथा भूसंरक्षण मन्त्रालयका वैदेशिक अनुदान महाशाखा प्रमुख विश्वनाथ ओलीले वनजंगलको कार्बन सञ्चिति बढाउन विश्व बैंक सकारात्मक देखिएको बताए । ‘अनुदान लिन कार्यक्रमको प्रस्ताव पेश गर्छौं, यो स्वीकृति भएपछि अनुदान रकम आउँछ,’ उनले भने, ‘अहिले प्रस्ताव तयार गर्न नेपालले साढे २ करोड रुपैयाँ पाउनेछ ।’

ओलीका अनुसार नेपालले आगामी ५ वर्षमा रौतहटदेखि कञ्चनपुरसम्मका १२ तराई जिल्लामा एक करोड ४० लाख टन कार्बन सञ्चित गर्ने प्रतिबद्धता जनाइसकेको छ । प्रतिवद्धताअनुसार कार्बन सञ्चिति बढाए ६ अर्ब रुपैयाँ अनुदान पाइने उनले बताए । कार्बन सञ्चितिको क्षमता बढाउन खाली भूभागका वृक्षारोपण, दिगो वन ब्यवस्थापन, हरितगृह ग्यास उत्सर्जन कटौतीलगायतका गतिविधि सञ्चालन गर्नुपर्नेछ ।